थाइरोइडको क्यान्सर एक महत्वपूर्ण तथा निको हुने क्यान्सर हो। जुनसुकै उमेरमा यो क्यान्सर भए पनि पुरुषको तुलनामा महिलामा बढी देखिन्छ।
थाइरोइड ग्रन्थी घाँटी अगाडिको भागमा लगभग २० ग्रामको दुई वटा भाग भएको ग्रन्थी अवस्थित हुन्छ। दुई वटा भागलाई इस्थमसले जोडेको हुन्छ। थाइरोइड ग्रन्थी विभिन्न कोषहरुले बनेको हुन्छ। कोषहरु अनियन्त्रित तरिकाले बढदै गयो भने क्यान्सर हुनसक्छ।
अन्य क्यान्सरको तुलनामा थाइरोइडको क्यान्सर पूर्ण निको हुने क्यान्सरमा पर्छ। यो क्यान्सर जुनसुकै उमेरमा हुने भए पनि हामीकहाँ २० देखि ५० वर्षमा बढी देखिन्छ।
लक्षणहरु
सुरुको अवस्थामा यस क्यान्सरको कुनै पनि लक्षण देखा पर्दैन। जब क्यान्सर बढी हुँदै जान्छ तब लक्षण देखिन्छ।
-घाँटीमा असहज हुनु वा दुख्नु,
-गलगाँड हुनु अथवा एकातिर मात्रै गाँठो हुनु।
-निल्न गाह्रो हुनु,
-आवाजमा परिवर्तन हुनु,
-खोकी लाग्नु, श्वास फेर्न कठिन हुनु।
कारणहरु
-आयोडिन कमी एउटा प्रमुख कारण मानिन्छ। खासगरी धेरै गलगाँड हुने ठाँउमा क्यान्सर बढी हुन्छ।
-विकिरणको कारणले गर्दा पनि थाइरोइडको क्यान्सर हुनसक्छ।
-केही क्यान्सर वंशाणुगत पनि हुनसक्छ।
निदान
-रगतको परीक्षण: क्यान्सरले गर्दा थाइरोइड ग्रन्थीबाट निस्कने टीथ्री, टीफो, टीएसएच सामान्य, कम अथवा बढी छ भन्ने पत्ता लगाइन्छ।
-घाँटीको भिडियो एक्सरे: यो परीक्षणबाट खासगरी गाँठो ठोस अथवा पानीको फोका के हो भनेर पत्ता लगाइन्छ। घाँटीमा लिम्फ ग्रन्थी सुन्निएको छ भने पनि थाहा हुन्छ। प्राय: शंकास्पद तन्तुबाट भिडियो एक्स-रेमा हेर्दै जाँचको लागि कोष तथा तन्तु झिकिन्छ।
-रेडियोआइसोटोप स्क्यान: हर्मोनको मात्रा बढी भएको खण्डमा रेडियोएक्टिभ तत्व जस्तै- आयोडिन नशाबाट दिएर कति थाइरोइड ग्रन्थीमा गयो भनेर नापिन्छ। यसैको आधारमा थाइरोइडको गाँठोलाई वर्गीकरण गरिन्छ। कोल्ड नोल्डयुलमा क्यान्सर हुने सम्भावना बढी हुन्छ।
-अन्य: क्यान्सर कहाँसम्म फैलिएको छ भनेर विशेष एक्सरेहरु सीटी, एमआरआई तथा पेट स्क्यान पनि गर्नुपर्ने हुनसक्छ। क्यान्सरको उपचारपछि रगतको परीक्षणहरु नियमित गरिन्छ।
थाइरोइड क्यान्सरका किसिम
थाइरोइड ग्रन्थीको कुन कोषहरुबाट क्यान्सर सुरु भएको हो भनेर क्यान्सरको किसिम छुट्याइन्छ।
-पैपिलरी क्यान्सर लगभग ८० प्रतिशत क्यान्सर हुन्छ। हुन त यो क्यान्सर लिम्फ ग्रन्थीमा सर्ने भए पनि उपचार गरे निको हुने क्यान्सरमा पर्छ।
-फोलिकुलर क्यान्सर लगभग १५ प्रतिशतमा हुन्छ। सुरुको अवस्थामा पत्ता लगाउन सके निको पार्न सकिन्छ। यस्तो क्यान्सर रगतको माध्यमबाट सर्ने भएकोले अन्य अंगमा सरिसकेपछि निको पार्न कठिन हुन्छ।
पैपिलरी, फोलिकुलर र हरथल सेल क्यान्सरलाई क्यान्स कोषहरु छुट्टिनेमा पर्छ। यी क्यान्सरहरु निको हुने सम्भावना धेरै रहन्छ।
-एनाप्लास्टिक क्यान्सर लगभग दुई प्रतिशतमा देखिए पनि निको हुने सम्भावना एकदमै कम हुन्छ। कोषहरु नछुट्टिने भएको हुनाले यस क्यान्सरलाई एनाप्लास्टिक अथवा अनडिफरेन्सिएटेड क्यान्सर भनिन्छ।
क्यान्सरका अवस्थाहरु
-क्यान्सरका उपचार पछि निको हुने सम्भावना रोगको अवस्थामा भर पर्छ। अन्य क्यान्सरमा जस्तै थाइरोइडको क्यान्सरको अवस्था टयुमरको नाप, ग्रन्थीमा सरेको तथा अन्य अंगमा सरको अवस्थामा भर पर्छ। हुन त क्यान्सरको किसिम तथा बिरामीको उमेर पनि यसका लागि महत्वपूर्ण मानिन्छ।
पहिलो स्टेज: टयुमर दुई सेन्टीभन्दा सानो र लिम्फ ग्रन्थीमा नसरेको।
दोस्रो स्टेज: टयुमर ४ सेन्टीको तर लिम्फ ग्रन्थीमा नसरेको।
तेस्रो स्टेज: टयुमर ठूलो र लिम्फ ग्रन्थीमा सरेको।
चौथो स्टेज: क्यान्सर अन्य अंगमा सरेको।
उपचार
थाइरोइड क्यान्सरको उपचार विधि क्यान्सरको किसिम, अवस्था र बिरामीको उमेरमा भर पर्छ। यस क्यान्सरको लागि निम्न उपचार विधिहरु प्रचलनमा छ:
शल्यक्रिया: यस क्यान्सरमा शल्यक्रियालाई प्रमुख उपचार विधिका रुपमा लिइन्छ। यस क्रममा क्यान्सर भएको भागलाई आवश्यकता अनुसार निकाल्ने गरिन्छ। जसमा सम्पूर्ण निकाल्ने र लिम्फ ग्रन्थीमा सरेको छ भने घाँटीका ग्रन्थीहरु निकाल्ने गरिन्छ। धेरै बिरामीहरुलाई शल्यक्रियाविना नै निको हुन्छ। यद्यपि, हर्मोन उत्पादन नगर्ने ग्रन्थी नहुने भएकोले हर्मोन भने दिइराख्नुपर्ने हुन्छ।
रेडियोथेरापी वा रेडियोएक्टिभ थेरापी: उपचार यस विधिले बाँकी रहेका क्यान्सर कोषहरुलाई नष्ट गरिदिन्छ।
केमोथेरापी: प्राय: एनाप्लास्टिक क्यान्सरमा टयुमर निकाल्न नसके पनि बिरामीको समस्याहरु कम गर्न रेडियोथेरापी र केमोथेरापी दिने गरिन्छ।
रोकथाम
अन्य क्यान्सहरुलाई जस्तै थाइरोइड क्यान्सरलाई पनि रोकथाम गर्न सकिन्छ। यसको प्रमुख कारक तत्वहरु जस्तै: विकिरण प्रदूषणबाट बच्ने तथा एकदमै न्यून गर्नुपर्छ। आयोडिनको कमी हुन दिनु हुँदैन।
थाइरोइड क्यान्सर हुने जोखिम समूहका मानिसहरुले नियमित रुपमा परीक्षण गराएर सुरुमा नै यसको उपचार गर्नु रोकथाम हो।
(डा सिंह क्यान्सर रोग विशेषज्ञ हुन्।)