काठमाडौं- चिन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री ओलीले आज राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनकांग्रेसका अध्यक्षसँग भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग सुरुमा भेटवार्ता गर्ने छन् । त्यसपछि चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजी र अन्तिममा राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुने कार्यक्रम छ।
‘ग्रेट हल अफ पिपल’मा हुने भेटवार्तापछि द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ। चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न सहयोगका विषयमा हस्ताक्षर गर्ने छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि भ्रमणका क्रममा दुई वटा विषय प्रस्ताव गरेको छ। उक्त विषय प्रधानमन्त्रीको भ्रमणको एजेन्डामा परिसकेको परराष्ट्र मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
परराष्ट्र स्रोतले दिएको जानकारी अनुसार स्वास्थ्य मन्त्रालयले गरेको पहिलो र महत्वपूर्ण प्रस्ताव भनेको काठमाडौंमा सुपरस्पेसियालिटी सेवा सहितको न्यूरो अस्पताल निर्माणको विषय रहेको छ। चीनले न्यूरो अस्पताल निर्माणमा सहयोग गर्न इच्छा देखाइसकेको छ। चीन सरकारबाट यसका लागि डिपिआर समेत माग भएको छ।
दोस्रो विषय भनेको चितवनमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र काठमाडौंमा रहेको निजामती अस्पतालको सेवा सुविधा विस्तार गर्ने विषय रहेको छ। यी दुवै अस्पतालहरु चीन सरकारकै सहयोगमा निर्माण भएका हुन्।