काठमाडौं- सामान्यतया संगीत 'पागलोन्मुख' मन बहलाउन सुन्न गरिन्छ। कहिलेकाहिँ मनलाई रञ्जन चाहिएको बेला त्यसको उपभोग गरिन्छ। केही दिनअघि मात्रै एउटा गीत सार्वजनिक भएको छ, जुन गीतले सद्दे मन हल्लाउँछ।
समय, परिस्थिति अवस्था र विशेष कारणले मन चर्किएकाहरुको मनोभाव उनिएको गीत 'म पागल हैन' को पहिलो लाइनले नै मन उद्धेलित बनाउँछ। जहाँ गीतकार मनोचिकित्सक अनन्त अधिकारी डाक्टरको कुर्ची छाडेर बिरामीको 'टुल'मा बसेको महशुस गराउँछ।
उनी एउटा मनोरोगीको मन छामेर लेख्छन् :
मान्छे नै हूँ तिमी जस्तै सपनाहरू उस्तै
चर्किएँ म भत्किएँ म शीशा टुटे जस्तै
अर्थ हिन लडाइँ आफैंसँग लडिरैछु
हरेक दिन हरेक रात गलीरैछु सडिरैछु
कोही कसैले आफूलाई समाजले तोकेको दायरा नाघ्न खोजिएको अवस्थामा सचेत गराउँदै भनिन्छ- पागल नबन् है! कसैले काम बिगारेमा भनिन्छ- पागल।
यो शब्द नै त्यस्तो भइसक्यो, जसले खराबी मात्रै इंगित गर्छ। परिवारको सहयोग, चिकित्सकको उपचारबाट निको हुने मनोरोगीको पर्यायबाची भन्दा तीतो सुनिन थालेको छ। यही अवस्थालाई महशुस गरेर डा अधिकारी गीत उनेको देखिन्छ। परिस्थितिले पुर्यानएको चोटबाट उम्किन नसकेर अ'सामान्य' बनेको एउटा मान्छेको इन्कारी बयानलाई गीतमा प्रस्तुत गर्न खोजिभएको आभाष हुन्छ।
गीतमा उनीकहाँ हरदिन आउने बिरामीले महशुस गर्ने अवस्थालाई उनले सटिक रुपमा चित्रण गरेका छन्। कवि हृदयका चिकित्सकको काव्यात्मक शैलीको निरन्तरता यहाँनेर यसरी प्रस्तुत हुन्छ :
खुल्ला आकासले थिच्छ मलाई
सुनसानले पनि लखेट्छ मलाई
मसान मसँग हाँस्ने गर्छ
डरैडर यी आँखामा टाँस्ने गर्छ
सुरेश अधिकारीले सुरिलो सुरमा ढालेर शरद हुमागाईंले कर्णप्रिय आवाज भरेका छन्। कविताकै रुपमा पाठ गर्दा समेत मन ढक्क बनाउन सक्ने शक्ति शब्दमा छ, संगीत र आवाज मिसिएपछिको अवस्थाले संगीत पारखीलाई अर्कै महशुसीकरणमा पुर्याछउँछ।
जो आफैं यो परिस्थितिबाट गुज्रिएको छ, ऊ त गीत भक्कानिने नै भयो। उनीहरुका आफन्तहरुले गीतले आफ्नै निकटस्थको भावनाका रुपमा महशुस गर्नेछन्।
संगीतका तरङजस्तै भावनाको उतारचढाव पनि गीतमा पाइन्छ। इन्कारबाट सुरु भएको गीतको बीच भागमा उल्लेख छ:
थाहै नपाइ भाग्दै छु म खै कहाँ पो भाग्छु
जस्तो तिमी भन्छौ मलाई सायद त्यस्तै म लाग्छु
हरेक दिन दर्जनौं व्यक्ति मनको बिराम लिएर उनीकहाँ पुग्छन्, पुर्याइन्छन्। जो यही समाजका हिस्सा हुन्। यही समाजका कारण पनि त्यो परिस्थितिमा पुगेका हुन्। तरपनि उनीहरु समाजबाट प्रताडित छन्। अपहेलित छन्। त्यो कुरा समेत गीतमा गजबले उनिएको छ।
चिकित्सकको उपचार, समाजको सद्भाव, परिवारको सहारा र सवैको प्रेमले मात्रै च्यातिएको मन सिलाउन सकिन्छ। बिग्रिएको मनको उपचार गर्न सकिन्छ। उक्त सन्देशसहित गीतलाई बिट मारिएको छ।
म घिन हूँ न लाज हुँ, तिमीले नसुनेको आवाज हुँ
अरू भन्दा तिमी बेग्लै हौ भने
मान्छे भनी मलाई तिमी चिन्छौ भने
आऊ न आऊ मसंग नि ती हात मिलाउन
च्यातिएको मनमा जीवन जोड्न सिलाउन
गीतमा अभी सुनार र सुस्मिता केसीले न्यायोचित अभिनय गरेका छन्। सुनिल पाण्डेको निर्देशन, मुकेश हुमागाईंको सिनेमाटोग्राफी रहेको छ। अमुल कार्की ढलीको संगीत संयोजन छ।