काठमाडौं– परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले आगामी मंसिर १६ गतेदेखि कुपन्डोलस्थित नयाँ भवनबाट गाइनोकोलोजी सेवा दिने भएको छ।
अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले हाल थापाथलीको पुरानो भवनबाट प्रदान गरिदैं आएको गाइनोकोलोजी सेवा कुपन्डोलस्थित नयाँ भवनबाट दिन लागिएको जानकारी दिएका हुन्।
अस्पतालले कुपन्डोलको भवनबाट नर्सिङ कलेज,आइभीएफ सेवा परिवार नियोजन सेवा, गर्भपतन सेवा तथा निसन्तान ओपिडी सेवा सञ्चालन गर्दै आएको छ। ‘यी सबै सेवाहरुलाई निरन्तरता दिँदै उक्त भवनबाट यसै महिनाभित्र गाइनोकोलोजी सेवा दिने भएका छौं। ‘यसले ललिपुर क्षेत्रका बिरामीहरु विशेष रुपमा लाभान्वित हुने छन्,’ उनले भने।
अस्पतालमा दैनिक रुपमा ८ सय देखि १ हजारको संख्यामा बिरामी आउने भएकोले प्रसूती सेवा लिन आउने बिरामीको चाप अत्याधिक बढेकाले गाइनो सेवालाई कुपन्डोलस्थित नयाँ भवनमा सार्न लागिएको उनले बताए।
'हाललाई आंशिक रुपमा सेवा सञ्चालनको तयारी भएपनि केही समयपछि भने गाइनोकोलोजी सेवा सम्पूर्ण रुपमा नै उक्त भवनबाट दिने तयारी अस्पतालको छ । योसँगै ललिपुरका बिरामीहरुलाई गाइनोकोलोजी सेवा लिनका लागि थापाथली आउनुपर्ने अवस्थाको अन्त्य भएको छ,' डा अधिकारीले थपे ।सेवा सुरु भएको जानकारी अस्पतालले अस्पतालकै वेभसाइट तथा सञ्चार माध्यममा दिने उनले बताए ।
तत्कालका लागि थापाथली तथा कुपन्डोलबाट उक्त सेवा दिइए पनि केही समयपछि भने गाइनोकोलोजी सेवालाई सम्पूर्ण रुपमा कुपन्डोल लैजाने योजना अस्पतालको रहेको छ । क्यान्सर,यूरोगाइनोकोलोजी तथा निसन्तान सेवालाई केही समयपश्चात् कुपन्डोल तथा गर्भवती सेवालाई मात्रै थापाथलीबाट प्रदान गरिँदा सेवाग्राहीहरुलाई पर्न नगएको असहज अवस्थाको अन्त्य तथा भिड समेत कम हुने डा अधिकारी बताउँछन् ।
हाल अस्पतालको भिड व्यवस्थापन हुन नसक्दा सेवा काउन्टर संख्या तथा ओपिडी सेवालाई विस्तार गर्न समस्या हुँदै आएको छ। पार्किङ समस्या बेहोर्दे आएका सेवाग्राहीले कुपन्डोल भवनबाट उक्त समस्या झेल्न नपर्ने उनी बताउँछन्। कुपन्डोल भवनमा गाइनोकोलोजी सेवा सारेपछि थापाथलीमा दैनिक २ देखी ३ सयको संख्यामा बिरामीको चाप कम हुन सक्ने डा अधिकारी बताउँछन् ।
साँघुरो संरचना, वार्ड तथा बेडको समस्या, पार्किङको समस्या लगायतका पक्षहरुलाई मध्यनजर गरी अस्पतालले यस्तो निर्णय गरेको हो।