जनकपुर- मधेस प्रदेश अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाका लागि करारमा कर्मचारी नियुक्त गर्ने भन्दै गत वर्ष आवेदन माग गर्दै परीक्षा समेत लिइएको थियो।
तर गत वर्षको पुसमा लिइएको परीक्षाको नतिजा भने आजसम्म पनि प्रकाशित भएको छैन। मधेस स्वास्थ्य निर्देशनालयले मातहतका संस्थाका लागि भन्दै ४३२ जना स्वास्थ्यकर्मी नियुक्त गर्न भन्दै विभिन्न पदका लागि आवेदन माग गरेको थियो।
सोही अनुसार उनीहरुको केहीको लिखित र केहीको मौखिक परीक्षा पनि सम्पन्न भएको थियो। तर उक्त परीक्षाको नतिजा भने अझैसम्म पनि प्रकाशित भएको छैन। परीक्षा लिएर नतिजा कुरेर बसेका स्वास्थ्यकर्मीहरुले पटक पटक उक्त विषयमा निर्देशनालय र स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण पनि गराएका छन्। तर उनीहरुले उचित जवाफ भने पाउन सकेका छैन।
परीक्षाका लागि १० हजार भन्दा बढीले आवेदन दिएका थिए। सो क्रममा विभिन्न तहका लागि औसतमा एक हजारका दरले शुल्क समेत उठाइएको थियो। निर्देशनालयले गत वर्षको पुस ५ र १५ गते आवेदन माग गरेको थियो।
निर्देशनालयका निर्देशक डा राजिव झाका अनुसार गत वर्ष मन्त्रिपरिषदबाट करारमा कर्मचारी नियुक्तिका लागि अस्थायी दरबन्दी स्वीकृत भएर त्यही अनुसार आवेदन निकालिएको थियो। तर असार मसान्तमा मन्त्रालयबाट उक्त प्रक्रिया अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्नु भन्ने जानकारी आएपछि रोकिएको हो।
'परीक्षाको काम मन्त्रालयबाट नै हुने हो। हामीलाई मन्त्रालयबाट नै असारमा उक्त प्रक्रिया रोक्नु भनेपछि रोकिएको हो,' उनले भने, 'असार मसान्तपछि गत वर्षको स्वीकृत भएको उक्त अस्थायी दरबन्दी फेरि नयाँ आर्थिक वर्षमा पास गर्नुपर्ने हुँदा अहिलेसम्म रोकिएको हो।' उनले चालु वर्षका लागि अस्थायी दरबन्दी स्वीकृत भए उक्त प्रक्रिया फेरि अगाडि बढ्ने जानकारी दिए।
मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा सञ्जय ठाकुरले अघिल्लो वर्षको आर्थिक वर्ष सकिएलगत्तै उक्त प्रक्रिया रोकिएको हुँदा यो वर्ष अस्थायी दरबन्दी आइतबार मात्र पास भएकाले अब छिट्टै उक्ति प्रक्रिया टुंगोमा पुग्ने जानकारी दिए।
'यो वर्षको अस्थायी दरबन्दी मन्त्रिपरिषदबाट स्वीकृत भएको थिएन। आइतबार बल्ल स्वीकृत भएको छ,' उनले भने, 'त्यसकारण अब छिट्टै हामी प्रक्रिया अगाडि बढाउँछौं।'