काठमाडौं- करुणा अस्पतालमा जुम्ल्याहा बच्चा मृत्यु हुनुमा अस्पतालको दोष नभएको नेपाल मेडिकल काउन्सिलले निर्णय गरेको छ। नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले जुम्ल्याहा बच्चा मृत्यु प्रकरणबारे बूढानीलकण्ठ नगरपालिका चुनिखेलस्थित करुणा अस्पतालको पक्षमा निर्णय गरेको हो।
गत असारमा चितवनकी देवकी भट्ट र प्रदीप भट्टले अस्पतालका चिकित्सको लापरबाहीका कारणले जुम्ल्याहा बच्चाको मृत्युको आरोप लगाउँदै एनएमसीमा उजुरी दर्ता गरेका थिए।
एनएमसीले करिब साढे तीन महिना लगाएर गरेको छानबिनले पहिलो बच्चालाई मेथिसिलिन–सेन्सेटिभ स्टैफिलोकोकस आँरियस (एमएसएसए) संक्रमण देखिएको उल्लेख गरेको छ।
सोही संक्रमण दोस्रो बच्चालाई पनि जोखिम भएको एनएमसीले जनाएको छ। निरन्तर उपचार हुँदा हुँदै पनि सेप्सिसको कारणले भएको जटिलताका कारणले संक्रमण फैलिँदा जुम्ल्याहा बच्चा मृत्यु भएको एनएमसी रजिष्ट्रार डा सतिस कुमार देवद्वारा जारी निर्णयपत्रमा उल्लेख छ।
साथै उपचारका क्रममा अपनाउनुपर्ने सम्पूर्ण सावधानी अपनाइएको उल्लेख छ।
'नवजात शिशुहरुको जन्मदा नै अवस्था जटिल रहेको र पूर्ण रुपमा विकसित नभई जन्मिएको। सोही पूर्ण रुपमा विकसित नभई जन्मिनाले गर्दा विकसित भएका समस्याहरु र उत्पन्न हुँदै गएका क्रमिक जटिलताका कारण मृत्यु भएको देखिएको र सो जटिलताहरुको व्यवस्थापन गर्ने क्रममा अस्पतालले गरेका प्रक्रियाहरु उपयुक्त प्रचिलत वैज्ञानिक पद्धति अनुरुप नै देखिएको हुँदा यस उजुरी उपर थप किसिमको कारवाही नगर्नु पर्ने विषय विज्ञको राय आएको हुँदा विरामी पक्षको माग बमोजिम दावी नपुग्ने देखिन्छ।' काउन्सिलको निर्णयमा भनिएको छ।