तिहार नेपालमा मनाइने प्रमुख पर्वमध्ये एक हो, जुन विशेषगरी बालबालिकाका लागि अत्यन्तै रमाइलो हुन्छ। यस पर्वले उज्यालो, रंग र मिठासको अनुभव गराउँछ। तिहारमा बालबालिकाले रमाइलो गर्नुका साथै संस्कृति र परम्पराबारे नयाँ कुरा सिक्छन्। जसले उनीहरुको मानसिक स्वास्थ्य समेत बलियो बनाउँछ। तिहारको पाँच दिनलाई रमाइलो र अर्थपूर्ण बनाउनका बालबालिकाले रमाइलो गर्ने बारे चर्चा गरिएको छन् !
घर सजाउने र दीप बाल्ने
तिहारमा घर सफा गरी फूल, माला, र दीपले सजाउने परम्परा छ। बालबालिकाले आमा-बाबुसँग मिलेर घर सफा गर्न र आँगनमा फूलमाला राख्न सक्छन्। दीप बाल्ने परम्परामा बालबालिकाको विशेष रुचि हुन्छ। उनीहरूले रंगीन दियोहरू बाली घरभरि राख्न र उज्यालोले भर्न सक्छन्। यसले बालबालिकाले पर्वको महत्त्व बुझ्न पनि मद्दत गर्छ।
रङ्गोली बनाउन सिकाउने
तिहारमा रङ्गोली बनाउने चलन छ, जुन बालबालिकाको लागि एकदमै रमाइलो हुन्छ। उनीहरूलाई विभिन्न रङहरूको प्रयोग गरेर रङ्गोली बनाउन सिकाउन सकिन्छ। यो उनीहरूको सिर्जनशीलता विकास गर्न मद्दत पुर्याउँछ। बालबालिकाले आफ्नै रङ्गोली बनाउन पाउँदा थप रमाइलो महसुस गर्छन्।
देउसी-भैलो खेल्न जानु
देउसी-भैलो तिहारको एक महत्वपूर्ण परम्परा हो। बालबालिकाले आफ्ना साथीहरूसँग मिलेर गाउँभरि देउसी-भैलो खेल्न जान सक्छन्। देउसीको गीत गाएर, नाचेर र हासखेल गर्दै उनीहरू रमाइलो मात्र गर्दैनन्, संस्कार पनि सिक्छन्। यस क्रममा आर्जित मिठाइ र पैसा उनीहरूको रमाइलो अझ बढाउँछ।
मिठाई र परिकार बनाउने
तिहारमा बनाइने विशेष परिकारहरू जस्तै सेलरोटी, अनरसा, लड्डु आदिलाई बालबालिकाले अत्यन्तै मन पराउँछन्। आमा-बाबुसँगै मिलेर परिकार बनाउन उनीहरूको चासो हुन्छ। उनीहरूलाई परिकार बनाउन सघाउँदा रमाइलो त हुन्छ नै, साथसाथै खाना बनाउने सीप पनि सिक्न सक्छन्।
भाइटीकामा सहभागिता
तिहारको भाइटीकाको दिन विशेष महत्व राख्छ। बालबालिकाहरूलाई आफ्ना भाइबहिनीलाई टीका लगाउने, माला लगाइदिने, र आशीर्वाद दिने संस्कार सिक्न दिइन्छ। यो दिनले उनीहरूलाई पारिवारिक सम्बन्धको महत्त्व बुझ्न मद्दत गर्छ। टीका लगाउने र मिठाइ खाने क्षण बालबालिकाको लागि विशेष रमाइलो हुन्छ।
विभिन्न खेल खेल्ने
तिहारको समयमा बालबालिकाले साथीहरू र परिवारसँग पिङ खेल्ने, फुटबल खेल्ने, कबड्डी जस्ता खेल खेल्दै रमाइलो गर्न सक्छन्। यसले उनीहरूको सामाजिकता र शारीरिक सक्रियता बढाउँछ।
पशुपक्षीलाई माया र आदर गर्न सिकाउने :
तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्परा छ। बालबालिकालाई पशुपक्षीप्रति माया र आदर गर्न सिकाउन यो अवसर उत्तम हो। उनीहरूले तिहारको समयमा पशुपक्षीलाई खाना खुवाउने र पूजा गर्ने प्रक्रियाबाट पनि संस्कार सिक्न सक्छन्।
तिहार बालबालिकाको लागि रमाइलो मात्र होइन, परम्परा, संस्कृति, र पारिवारिक सम्बन्ध बुझ्ने अवसर पनि हो। घर सजाउने, देउसी-भैलो खेल्ने, र भाइटीकामा सहभागी हुने जस्ता कार्यहरूले उनीहरूको पर्वको अनुभवलाई अझै विशेष बनाउँछ। यसैले बालबालिकालाई तिहारको महत्त्व सिकाउँदै उनीहरूको चाड मनाउने तरिकालाई अझै रमाइलो बनाउन परिवारले पनि ध्यान दिनु आवश्यक छ।
(बालरोग विशेषज्ञ डा सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसिएट प्रोफेसर हुन्। उनले बालबालिकाको डाक्टर साथी पुस्तक लेखेका छन्)