काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत हुने सरुवामा प्रणाली बनाउन लागिपरेको बताएका छन्।
धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस२०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।
मन्त्रालय तथा विभागमा धेरै वर्षसम्म प्रमुखको जिम्मेवारी पाएकालाई प्रक्रिया मिलाएर मात्रै पठाएको बताउँदै उनले भने, ‘आम मानिसलाई दुःखपिडा पर्दा मल्हम लगाउने मन्त्रालयका रुपमा स्वास्थ्य मन्त्रालयलाई बुझौं।’
कसैको दबाब र प्रभावमा परेर सरुवा/बढुवा नगरेको उनको दाबी थियो । त्यसअघि बोलेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सरुवा/बढुवामा हुने चलखेलले सिंहदरबार वैद्यखाना ध्वस्त भएको बताएका थिए। उनले त्यहाँ ५० हजार रुपैयाँ हाकिम बदलिने गरेको आफूले अनुभव गरेको उल्लेख गरेका थिए।
मन्त्री पौडेलले आफूले गरेको पेशाप्रति आममानिसहरुको दृष्टिकोण बदल्नका लागि आफैंले योगदान गर्नुपर्ने कर्मचारीहरुलाई बताए। एक व्यक्तिको प्रयासले मात्रै कुनैपनि संस्था नबन्ने भएकोले स्वास्थ्य मन्त्रालयलाई अझै प्रभावकारी रुपमा काम गर्न सक्ने बनाउन सबै लाग्न समेत उनले आग्रह गरे।
सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष तथा आयुर्वेद क्षेत्रको बारेमाज्ञान भएका व्यक्तिहरु कार्यरत भएपनि त्यसको महसुस भने देशले गर्न नसकेको उनको भनाइ थियो। वैद्यखानालाई बनाएर आफूभित्र रहेको ज्ञान तथा सीपलाई उजागर गर्न कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए।
वैद्यखानाको औषधिको विश्वसनीयतामा भने अझैपनि कमी नआएको मन्त्री पौडेलले बताए । उत्पादन बढाउन सकेमा औषधि नबिक्ने स्थिति नरहेको उनको दाबी थियो।
सरकारले स्वतन्त्र छोडेको सिंहदरबार वैद्यखानाले औषधि उत्पादन गर्न नसक्दा यसको कार्यक्षमता माथि नै प्रश्न उठेको स्वास्थ्य मन्त्रालय सचिव रोशन पोखरेलले बताए। उनले भने, ‘यो क्षेत्रकाहरुमै एकता नरहेको आजका कार्यक्रमहरुले दर्शाउँछ। धेरैको गुनासो सुनिन्छ। हामीले एलोप्याथी र आयुर्वेद भनेर छुट्याएका छैनौं।’
यसैगरी अर्थ समितिका संयोजक सन्तोष चालिसेले मन्त्री पौडेलले स्वास्थ्यको समग्र सुधारमा ध्यान दिएको भन्दै आफूले सकेको ठाउँमा सघाउने उल्लेख गरे। वैद्याखानाका लागि बजेट विनियोजन गर्न आफ्नो सक्रियता रहने प्रतिबद्धता व्यक्त गरे।
आफ्नो पिताले समेत त्यहाँका उत्पादन मन पराउने उल्लेख गर्दै यसको विकासमा लाग्न कर्मचारीहरुलाई सुझाए।
कार्यक्रममा बोल्दै पूर्वराज्यमन्त्री दीपकप्रसाद बाँस्कोटाले सिंहदरबार वैद्यखानाको विकासमा सरकारले वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।