काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देश डुब्नुको कारण हेर्न सिंहदरबार वैद्यखाना हेर्नुपर्ने बताए। धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
औषधि बनाएर बेच्नुपर्ने संस्था निरन्तर घाटामा जानु त्यहाँ अव्यवस्था प्रमुख कारण रहेकोतर्फ संकेत गरे। उनले भने, 'यो देश कसरी डुबेको छ भन्ने हेर्न यहाँ आउनुपर्छ। अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ। औषधि बनाएर बेच्नुपर्ने संस्था कर्मचारीकै तलब दिन नसक्ने अवस्थामा कसरी पुग्छ?'
उनले ९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइने आरोप लगाए।
आफ्ना पिता त्यहाँ काम गर्दा आफूले त्यही अस्पतालको सरकारी निवासमा ५–७ वर्ष बिताएको समेत स्मरण गरे। त्यतिबेला आफूले धेरै नै औषधि बन्ने गरेको देखेको बताए।
'त्योबेला थोरै भवन थिए । बजेट पनि थोरै थियो तर औषधि धेरै बन्थे। अहिले भवनले खाली जग्गा नै बाँकी रहनेछ तर औषधि बनेको देखिदैन,' उनले भने।
वैद्यखानमा ५० हजार रुपैयाँमा समेत हाकिम परिवर्तन हुने गरेको आरोप लगाए। त्यही प्रवृत्ति नै संस्था धरासायी हुनुको कारण रहेको औंल्याए। नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले संस्थाको उन्नतिका लागि काम गर्नेमा आफू विश्वस्तर रहेको बताउँदै चुनौती दिए, 'यहाँ मन्त्री (प्रदीप पौडेल)ज्यू हुनुहुन्छ। अर्थ समितिका सभापति (सन्तोष चालिसे)ज्यू हुनुहुन्छ। उहाँहरुले राम्रोसँग चलाउनुहुनेछ। यदि सकिदैन भने महानगरलाई हस्तान्तरण गरियोस्, हामी चलाएर देखाइदिन्छौं।'