स्वास्थ्य सेवा, संरचना र तयारी
नेपालको जनस्वास्थ्य ऐनले स्वास्थ्य सेवालाई आधुनिक उपचार (एलोपेथी), आयुर्वेद, होमियोप्याथी, यूनानी, प्राकृतिक उपचार, एक्युपन्चर, सोवारिग्पा (आम्ची) उपचार प्रणालीका आधारमा प्रदान गरिने प्रतिशोधात्मक, प्रवर्द्धक, निदानात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र उपशामक सेवाको रूपमा परिभाषित गरेको छ।
स्वास्थ्य सेवा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रादेशिक स्वास्थ्य तथा जनसंख्या वा सामाजिक विकास मन्त्रालय वा स्थानीय सरकारको स्वास्थ्य विभागको प्रशासनिक मातहतमा हुन्छन्। स्वास्थ्य सेवा प्रदान गर्नका लागि, सरकारको विभिन्न तहगरी कुल मा ४९ संघीय स्वास्थ्य संस्थाहरू, १४९ प्रादेशिक स्वास्थ्य संस्थाहरू, र ७८५५ स्थानीय स्वास्थ्य संस्थाहरू स्थापना गरिएका छन्।
माध्यमिक र टर्सरी स्वास्थ्य सेवा (विशेषज्ञ उपचार र उन्नत उपचार) संघीय र प्रादेशिक स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिन्छ। यद्यपि, प्रायजसो प्राथमिक स्वास्थ्य सेवा (आधारभूत स्वास्थ्य सेवा र आपतकालीन स्वास्थ्य सेवा) स्थानीय स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिन्छ। कुनै पनि स्वास्थ्य संस्थामा आपतकालीन स्वास्थ्य सेवा उपलब्ध नभएमा, त्यस्ता संस्थाहरूले थप उपचारका लागि आवश्यक उपचार दिएर रिफर गर्नुपर्छ।
राष्ट्रिय स्वास्थ्य नीति २०१९ को उद्देश्य अनुसार, प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र र प्रत्येक नगरपालिकामा प्राथमिक अस्पताल स्थापना गरी जनतालाई आधारभूत र आपतकालीन सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। यी स्थानीय स्वास्थ्य संस्थाहरू नेपालका ग्रामीण र अर्ध-शहरी क्षेत्रहरूमा रहेका जनताको नजिक रहेका स्वास्थ्य संस्थाहरू हुन्।
नेपालमा सार्वजनिक बिदाको प्रावधान
नेपाल सरकारले वार्षिक रूपमा सार्वजनिक बिदाको सूची प्रकाशित गर्दछ जसमा एक वर्षका सबै सार्वजनिक बिदाहरू समावेश छन्। यस बाहेक, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो क्षेत्रीय चाडपर्व र अवसरहरूको आधारमा सार्वजनिक बिदा घोषणा गर्छन्। २०७९ सालमा करिब ९९ दिन सार्वजनिक बिदा थियो जसमा ५२ शनिबार, ३३ राष्ट्रिय बिदा, र १४ विशेष समूह र भूगोलका लागि छुट्टै बिदा थियो। यसैगरी २०८० सालमा करिब १०१ दिन सार्वजनिक बिदा थियो थियो जसमा ५२ शनिबार, ३५ राष्ट्रिय बिदा, र १४ विशेष समूह र भूगोलका लागि छुट्टै बिदा समावेश छन्। २०८० को जस्तो २०८१ सालमापनि बिदाको कुल दिन १०० पुग्ने छ । यी कुल सार्वजनिक बिदाहरूमा प्रदेश र स्थानीय सरकारले घोषणा गरेका बिदाहरू र त्यो अवधिमा भएका असामान्य परिस्थितिहरूका कारणाले हुने सक्ने बिदा समावेश गरिएको छैन। यसरी धेरै दिन बिदा हुँदा स्वास्थ्य सेवामा कस्तो प्रभाव पर्छ त, हामी यसबारे चर्चा गर्नेछौं।
सामान्यतया, दशैं र तिहारका बेला लामो बिदा हुन्छ। यस अवधिमा धेरै नेपालीहरू, देशभित्रै र देशबाहिरबाट आफ्नो परिवार र साथीहरूसँग चाडपर्व मनाउन घर फर्कन्छन्। सार्वजनिक कार्यालयहरू र संस्थाहरू, जसमा समुदाय स्तरका स्वास्थ्य संस्थाहरू (आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू र स्वास्थ्य चौकीहरू) पनि समावेश छन्, एक हप्ताभन्दा बढीको लागि बन्द रहन्छन्। त्यहाँ, शिफ्टमा काम गर्नको लागि कुनै जनशक्तिको व्यवस्था छैन, जसले गर्दा समुदाय स्तरका स्वास्थ्य संस्थाहरूमा कोही पनि उपस्थित हुँदैनन्।
नेपाल सरकारले बिदा सम्बन्धी राजपत्रको प्रकरण १० को उपप्रकरण १०.१ को खण्ड (न) अनुसार स्वास्थ्य सेवा प्रवाह गर्ने सबै अस्पतालहरुले विभिन्न सार्वजनिक बिदाका दिनहरुमा नियमित रुपमा स्वास्थ्य सेवा (बाहिरंग सेवा समेत) अनिवार्य रुपमा संचालन गर्नुपर्ने व्यवस्था गरेको छ।साथै हालै, सोही अनुरुप सेवा प्रवाह गर्न र आवश्यक अनुगमन गर्न गराउन पत्राचार गरेको छ।तर सोका लागि चाहिने आवश्यक थप श्रोत र साधनहरुको व्यवस्थापन गर्नका लागि कुनै ठोस कदम उठाएको देखिदैन।
आर्को पाटोमा हेर्दा ग्रामीण तथा अर्ध-शहरी क्षेत्रका स्थानीय मानिसहरुको पहुँचमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य उपचार केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुको बारेमा स्पष्ट उल्लेख गरिएको छैन तर भैपरि आउन सक्ने आपतकालिन अवस्थामा परिचाल हुने द्रुत प्रतिकार्य टोलीमा स्थानीय स्वास्थ्य संस्थाको पनि भूमिका उल्लेख गरिएको छ।
बिदाको प्रभावहरू
चाडपर्वको समयमा देशभर मानिसहरूको आवागमनमा ठूलो वृद्धि हुन्छ। यस मागलाई पूरा गर्न, सार्वजनिक यातायातका साधनहरूले लगातार धेरै पटक यात्रा गर्छन्। यी सवारीहरू न्यूनतम मर्मत सम्भारमा सञ्चालन भएका हुन्छन् । हालको सडक पूर्वाधारलाई हेर्दा, कतिपय राष्ट्रिय राजमार्गहरू निर्माणाधीन छन्। भएका राजमार्गहरू बाढी पहिरोले बिग्रेका छन्। अर्को तर्फ नेपालको भौगोलिक कठिनताले पनि सवारी साधन दुर्घटनाको जोखिम बढाउँछ।
अघिल्लो वर्षहरूको दुर्घटनाका घटनाहरूलाई हेर्दा, चाडपर्वको अवधिमा धेरै दुर्घटनाहरू भएका छन् जसले ठूलो जनधनको क्षति पुर्याएको छ। त्यस्तैगरी, चाडपर्वको समयमा परिवार र साथीहरूसँग विभिन्न परिकार, मासु, र मदिरा सेवन गर्ने प्रचलन पनि छ जसले खानपान विषाक्तता, हैजा, र अन्य खानपानीजन्य रोगहरू निम्त्याउन सक्छ। साथै मदिरा सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम समेत बढ्छ । यी सम्भावनाहरू बाहेक, बाहिरबाट आएका बिरामीहरू र उनीहरूबाट समुदायमा रोग सर्ने सम्भावना पनि हुन्छ। यी सबै अवस्थाहरूले मानिसहरूलाई आफ्ना समुदायका नजिकका स्वास्थ्य संस्थाहरूबाट आधारभूत वा आपतकालीन स्वास्थ्य सेवाको आवश्यकता हुन सक्छ।
तर, सेवा प्रावधानलाई हेर्दा, गाउँमा रहेका स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू बिदाका बेला बन्द हुन्छन्। अस्पतालहरूले प्रदान गर्ने सेवाहरू पनि सीमित हुन्छन् किनकि सो समयमा थोरै मात्र स्वास्थ्यकर्मीहरू काममा उपस्थित हुन्छन्। केवल आपतकालीन र प्रसूति सेवा मात्र सञ्चालन हुन्छन्। गाउँमा बस्ने मानिसहरू प्रायः आधारभूत स्वास्थ्य सेवा र उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा निर्भर रहन्छन् र तर बिदाको समयमा सेवाको अभावले स्वास्थ्य सेवामा उनीहरूको पहुँच पुग्दैन।आपत नपर्दासम्म रोग पालेर बस्नुपर्ने अवस्था हुन्छ ।
चाडपर्वको समयमा मात्र होइन, यस्तो अवस्था राष्ट्रिय घटनाहरू, जस्तै राष्ट्रिय स्तरको चुनाव र स्थानीय स्तरको चुनावका बेला पनि सम्बन्धित हुन सक्छ, जहाँ स्वास्थ्यकर्मीहरूलाई चुनाव केन्द्र र मतगणनाका लागि परिचालन गरिन्छ।
नियमित स्वास्थ्य प्रवाह होस् वा कुनै पनि समय आउने विपद्लाई कुनै अवरोध बिना सम्हाल्नका लागि होस्, हाम्रो स्वाथ्य प्रणाली उत्थानशील हुन आवश्यक छ। बिदाको समयमा स्वास्थ्य संस्थाहरू बन्द हुनु र जनता स्वास्थ्य सेवाबाट बञ्चित हुने अवस्था विद्यमान स्वास्थ्य प्रणालीलाई उत्थानशील मान्न सकिँदैन।
यदि समुदायमा स्वास्थ्यकर्मीहरूको अनुपस्थितिमा अचानक दुर्घटना, घाइते, वा रोगको प्रकोप भएमा, स्वास्थ्य संस्थाले तुरून्त प्रतिकार्य गर्न सक्दैन । मानिलिउँ, यात्रा गर्ने क्रममा बिदाको समयमा सवारी दुर्घटना भएर एकैपटक धेरै यात्रु घाइते भए भने उनीहरूलाइ कहाँ उपाचार गर्ने, कसले उपचार गर्ने? यो गम्भीर प्रश्न हो। हामीलाइ थाहा भएसम्म सरकारसँग यस्तो परिस्थितीलाई सामना गर्ने कुनै निश्चित योजना छैन।सार्वजनिक स्वास्थ्य संस्थाहरूबाट स्वास्थ्य सेवाहरूको अनुपस्थितिले केवल सेवामा पहुँचलाई सीमित बनाउने मात्र होइन, यसले जनतालाई निजी अस्पताल, क्लिनिक, फार्मेसीतर्फ जान बाध्य पार्छ, जसले स्वास्थ्य सेवामा जनताको खर्च बढ्छ। यसले सार्वजनिक स्वास्थ्य संस्थाहरूमा सेवा छैन भन्ने भान जनमानसमा बढाउन सक्छ।
निरन्तर स्वास्थ्य सेवाका लागि के गर्न सकिन्छ?
सबै कर्मचारीहरूका लागि वार्षिक बिदाहरूको निश्चित संख्या निर्धारण गर्दा, पर्व र छुट्टिहरूलाइ कर्मचारीको इच्छाअनुसार बिदाका दिनहरू प्रयोग गर्ने नीति बनाउन सकिन्छ। उदाहरणका लागि, दशैंमा छुट्टी चाहने कर्मचारीले सार्वजनिक बिदा सो समयमा प्रयोग गर्न सक्छन् भने, क्रिसमस र नयाँ वर्ष मनाउनेहरूले पनि आफ्नो सांस्कृतिक र धार्मिक पर्वको आधारमा पर्व विदा लिन सक्छन्।
अर्को सम्भावित उपाय भनेको छोटो अवधिका तालिम प्राप्त स्वास्थ्यकर्मीहरूलाई करारका लागि सूची आब्हान गरी उनीहरूलाई लामो बिदा र पर्वको समयमा परिचालन गर्न सकिन्छ।जस्तै चुनावका बेला सुरक्षा व्यवस्थाका लागि म्यादी प्रहरी परिचालन गरिन्छ, यसैगरी स्वास्थ्य सेवामा पनि निश्चित अवधिका लागि करारमा लिन सकिन्छ।
यसबाहेक, पर्वको समयमा काम गर्न इच्छुक स्वास्थ्यकर्मीहरूलाई पछि बिदा दिने गरी तलबसहितको बिदा प्रणाली लागू गर्न सकिन्छ। स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा ड्युटी रोस्टर र सिफ्ट प्रणालीको सुरु गर्ने व्यवस्था गर्न सकिन्छ, जसले वर्षभरी कर्मचारीहरूको अनुपस्थितिलाई न्यून बनाउन मद्दत गर्दछ। यी प्रस्तावित उपायहरू जवाफदेही स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रभावकारी समाधानको रूपमा काम गर्न सक्छन्। संघीय सरकार वा स्थानीय सरकारले वर्षभरि स्वास्थ्य संस्थाहरूको तयारी सुधार्नका लागि ठोस उपाय अपनाउन जरूरी छ।