काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा डक्टर फर नेपाल नामक संस्थाको सहकार्यमा ४ जनालाई विशेषज्ञ चिकित्सक बन्नका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ।
आज काठमाडौंको सेतोपुलमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयमा एक कार्यक्रम गरी उक्त जानकारी गराइएको हो।
दुर्गममा सेवा दिने विशेषज्ञ चिकित्सकको अभावको समस्यालाई केही हदसम्म भए पनि हटाउनका लागि यस्तो गरिएको प्रतिष्ठानले जनाएको छ। यो कार्यक्रमका लागि आधा रकम डक्टर फर नेपाल संस्थाले दिने र आधा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्तरिक स्रोतबाट दिने बताइएको छ।
उक्त छात्रवृत्ति कोटामा विशेषज्ञ चिकित्सक भइसकेपछि तोकेको स्थानमा कम्तिमा पनि तीन वर्ष काम गर्नुपर्ने सर्तमा यस्तो कार्यक्रम ल्याइएको हो।
प्रतिष्ठान र डक्टर फर नेपालले विभिन्न निजी मेडिकल कलेजमा अध्ययन गरिरहेका चार जना चिकित्सकहरुसँग आइतबार त्रिपक्षीय सम्झौता गरेको हो।
त्रिपक्षीय सम्झौतामा प्रतिष्ठानका तर्फबाट प्रशासकीय अधिकृत अमृत भण्डारी, डक्टर फर नेपालबाट नाइजेल लयर्स र अध्ययन गर्ने चिकित्सकहरुले हस्ताक्षर गरेका छन्।
प्रतिष्ठानले कर्णाली प्रदेशका मात्रै ४ चिकित्सकलाई उक्त छात्रवृत्ति कार्यक्रममा समावेश गर्न लागेको हो। जसअनुसार उनीहरुले करिब चौंबीस लाख बराबरको छात्रवृत्ति पाउने छन्। जसमा होस्टेल सहितको सम्पुर्ण खर्च शैक्षिक संस्थालाई दिइने पनि बताइएको छ।