काठमाडौं- ज्योति समूहका दाजुभाइ पद्म ज्योति र डा रुप ज्योतिबीच आन्तरिक विवाद छ। उनीहरुको विवाद सार्वजनिक मञ्च हुँदै अदालती लडाईंसम्मै पुगेको छ। दुई दाजुभाईको विवादका कारण कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालमा समेत असर परेको छ। पद्म ज्योतिले आफ्नो भवनमा रहेको अस्पताल हटाउन बारम्बार ताकेता गरिरहेका छन्।
केही दिन अघि डा रुप ज्योतिले अस्पताल सार्न केही समय लाग्ने भन्दै सार्वजनिक रुपमा नै समय माग गरेका छन्।
तर पद्म ज्योति समूहले भने सात वर्षदेखि नै अस्पताललाई सार्न भन्दा पनि नसारेको बताएको छ।
पद्म ज्योति समूहले एक विज्ञप्ति सार्वजनिक गर्दै अस्पताललाई सात दिन भित्र खाली गर्न भनेर नभनी विगत सात वर्षदेखि नै भन्दै आइरहेको प्रष्ट पारेको छ। समूहले सात वर्षअघि नै काठमाडौं महानगरपालिकाबाट न्यायीक निरुपण भइसकेकाले सोही अनुसार घर खाली गर्न पटक पटक भनिएको जानकारी दिएको छ।
'अस्पताल ७ (सात) दिन भित्र खाली गराउन खोजिएको होइन, विगत ७ (वर्ष) देखि खाली गरिदिनुहोस् भनी दशौं पटक पत्राचार गर्दा अटेर गरेर बस्ने र अहिले काठमाडौं महानगरपालिकाले अदालतको फैसला कार्यान्वयन गर्न खोज्दा झुट्ठा गलत तथ्यहरु प्रस्तुत गरी आम सर्वसाधारणलाई भ्रमित पार्न खोजिएको हो,' पद्म ज्योति समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
पद्म ज्योति समूहले सात वर्षदेखि आफूहरुले आफ्नो घर/फ्ल्याट आफैंले प्रयोग गर्न नपाको र करोडौं रुपैयाँ भाडा समेत नपाएको गुनासो गरेको छ। 'विगत ७ (सात) वर्ष देखि आफ्नो घर / फ्ल्याट आफैले प्रयोग गर्न नपाउनु, करोडौं रुपैया भाडा नपाउनुको छुट्टै पिडा रहेको छ,' विज्ञप्तिमा भनिएको छ।
समूले ग्रण्डी सिटी क्लिनिक अस्पतालले अस्पताल खाली गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै धमाधम बिरामीहरु भर्ना लिने र उनै बिरामीहरुको आडमा अरुको घर/फल्याट अनन्त कालसम्म गैरकानूनी ढंगले कब्जा गर्न खोजिएको आरोप पनि लगाएको छ।
'अस्पताल खाली गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै धमाधम बिरामीहरु भर्ना लिने र उनै बिरामीहरुको आडमा अरुको घर/ फल्याट अनन्त काल सम्म गैरकानूनी ढंगले कब्जा गर्न खोजिएको छ। यो तथ्यलाई अनदेखा गरिएको छ। अदालतको फैसलालाई सम्मान गर्नु र पालना गर्नु सबै नागरिकहरुको कर्तव्य हुन आउँछ । ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रालिले अदालतको फैसलालाई सम्मान गर्दै आफै उक्त घर / फल्याट खाली गर्नुपर्नेमा सो नगरी उल्टै तथ्यलाई बंग्याई कुप्रचार गरिरहनु अदालतको फैसलाको अपमान गर्नु हो,' विज्ञप्तिमा भनिएको छ।
दुई दाजुभाइबीच भएको अंश भागबन्डामा ज्योति भवन आधा-आधा हुँदा दुवैतिर फैलिएको अस्पतालमध्ये आइपीडी सेवा, आइसीयु, एचसीयु र एनआइसियु अप्रेसन थिएटर र इएनटीको उपचार सेवा पद्म ज्योतिको भागमा परेको भवनमा रहेका छन्। अस्पताल डा रुप ज्योतिले सञ्चालन गरेको हुँदा ती विभाग त्यहाँबाट हटाउन उनका दाइ पद्म ज्योतिले कानुनी लडाइँ नै लडेका हुन्।
डा रुप ज्योतिले भने अस्पताल 'ज्योति समूह'कै रहेको बताउँदै पद्म ज्योतिलाई त्यसको भाडा तिर्ने बताउँदै आएका छन्। अत्याधुनिक उपकरणसहित अन्तराष्ट्रिय मापदण्ड अनुसार ती विभागहरु बनाइएकाले सार्न सहज नहुने भन्दै भाडामा दिन आग्रह गरेका हुन्।
पद्म ज्योतिले भने भाइ डा रुप ज्योतिको उक्त आग्रह अस्वीकार गर्दै अस्पतालका ती विभाग रहेको घर/फ्ल्याट खाली गरी बहाल रकम दिलाई-भराई पाउँ भन्दै काठमाडौं महानगरपालिका न्यायिक समिति मुद्दा हालेका थिए। जसले उनीहरुबीचको विवाद अझ बल्झिएको थियो। महानगरपालिकाको निर्णयविरुद्ध उच्च हुँदै मुद्दा सर्वोच्च पुगेको थियो।
अस्पतालले ओगटेको जग्गाको भाडा दिने आफू राजी भएको भन्दै दाइ पद्मसँग पटक-पटक आग्रह गरेको रुप ज्योति बताउँछन्। केही आन्तरिक विवादले कानुनी रुप लिएपनि दाइ पद्मले भाडा लिएर अस्पताललाई दिने विश्वास आजसम्म रहेको रुप ज्योतिको भनाइ छ।
उनले भने, 'अस्पताल ज्योति समूहकै हो। यसबाट फाइदा छैन। सेवाका लागि खोलेको हो। त्यसैले हाम्रो विवादमा अस्पताललाई हानी हुने काम नहोस् भन्ने चाहना हो।'
कानुनअनुसार कात्तिक ७ गते नै अस्पताल खाली नभए महानगरको डोरले खाली गराउने पत्र अस्पतालको गेटमा टाँसिएको थियो। सोही अनुसार महानगरबाट ७ गते टोली पुगेको पनि थियो।
डा ज्योति भने आइसीयु र एनआइसीयु बिरामी रहेकाले अर्को व्यवस्था नगरी सार्न नसकिने बताउँछन्। उनी भन्छन्, 'हामीले त्यसका लागि तालिकासहित समय मागेका छौं। हामीलाई नै भाडामा नदिने भए ती विभाग सार्न लाग्ने समय दिन अनुरोध गरिएको छ।' त्यसका लागि आफूले तालिका समेत पठाएको बताउँछन्।
कहिले पर्यो मुद्दा, के भयो फैसला?
दुई दाजु भाईबीच २०३९ सालमै अशंबण्डा भएको थियो। जस अनुसार पद्म ज्योतिको नाममा वडा नम्बर २७ को कित्ता नम्बर २३९० जग्गामा बनेको घर छ। उक्त घरको पहिलो तल्लामा ५२२५.६८ वर्गफुट र दोस्रो तल्लाको ६९३४ वर्गफुट गरी दुई तल्लामा अस्पताल चलेको छ। पद्म ज्योति समूहका अनुसार उक्त दुई फ्ल्याट प्रयोग गरेबापत मासिक एक लाख असी हजार भाडा दिने मौखिक सहमति अनुसार डा रुप ज्योती सञ्चालक रहेको ग्राण्डी सिटी अस्पतालले २०७१ सालदेखि प्रयोग गरेका हुन्।
पद्म ज्योति समूहले २०७६ सालमा उक्त भवन आफूलाई आवश्यक रहेको भन्दै भाई रुप ज्योतिलाई घर खाली गर्न आग्रह गरे। उनीहरुले लिखित र मौखिक रुपमा नै खाली गर्न आग्रह गरेको बताएका छन्। दुई वटा फ्ल्याट खाली गराउन भन्दै निवेदन दर्ता गथर्दा सम्म १ करोड ५४ लाख ३२ हजार रुपैयाँ भाड लिन बाँकी रहेको दाबी पद्म ज्योति समूहले गरेको छ।
पद्म ज्योति समूहले काठमाडौं महानगरपालिकको न्यायिक समितिमा निवेदन दिएपछि न्यायिक समितिले २०७८ असोज २४ गते फैसाल गरेको थियो। 'रुप ज्योति समूहको घरजग्गा सम्पतिमा हक नै नभएको र उनीहरु भाडा नतिरी बसीरहन मिलेन। यसर्थ बाहाल रकम वार्षिक २५ लाख भित्रकै भएको देखिँदा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४७ उपदफा (१) को देहाय (ज) बमोजिम प्रतिवादीले वादीलाई तिर्न बुझाउन पर्ने देखिएको बाल रु १,५४,३२,०००/- (अक्षरेपी एक करोड चौवन्न लाख बत्तिस हजार रुपैया) प्रतिवादीबाट भराई उल्लेखित घर फ्ल्याट खाली गरिदिने ठहर्छ' भनी फैसला भएको थियो।
यसका साथै उक्त फैसलाको पुनरावेदन नपरेमा वादीलाई बुझाउनु पर्ने बाहाल रकम एक करोड चौवन्न लाख बत्तिस हजार रुपैयाँ बुझाई प्रतिवादीलाई घर फ्ल्याट खाली गर्नु भनी जनाउ दिनु पनि भनिएको थियो। म्याद भित्र खाली नगरे यसै कार्यालयबाट डोर खटी आवश्यक परे नेपाल प्रहरीको समेत सहयोग लिई खाली गर्नु भनी फैसलामा उल्लेख गरिएको छ।
उक्त फैसला बिरुद्ध ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रालिले काठमाडौं जिल्ला अदालतमा पुनरावेदन गरेको थियो। काठमाडौं जिल्ला अदालतबाट २०७९ फागुन २९ गते काठमाडौं महानगरपालिका न्यायिक समितिले गरेको फैसला सदर गर्योे। त्यसपछि पद्म ज्योति समूहले फैसला अनुसार घर फ्ल्याट खाली गराई निवेदन दर्ता गर्दाको मितिसम्म विपक्षीबाट पाउनु पर्ने बहाल रकम एक करोड सन्तानब्बे लाख बाउन्न हजार रुपैयाँ र घर खाली गर्दासम्म हुन आउने थप बहाल रकम समेत दिलाई उक्त फैसला कार्यान्वयन गरी पाउँ भनी काठमाडौं महानगरपालिकामा पुन: निवेदन दिएको थियो।
महानगरपालिकाले २०८० फागुन २४ गते पत्राचार गर्दै दश दिनको म्याद दिएको विषय पद्म ज्योति समूहले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। विवरण अनुसार उक्त दश दिनको म्यादको पत्र रुप ज्यति आफैंले बुझेका थिए। त्यसपछि उक्त पत्रको विरुद्धमा ग्राण्डी सिटी अस्पतालले पुनः अन्तरिम आदेश सहित निषेधाज्ञाको आदेश जारी गरी पाउँ भनी उच्च अदालत पाटनमा निवेदन दिएको थियो। उच्च अदालतको एकल इजलासबाट २०८० चैत ६ गते अस्पतालको पक्षमा अन्तरिम आदेश जारी भयो। त्यसपछि पद्म ज्योति समूह सर्वोच्च पुगे। सर्वोच्चले चैत २४ गते उच्च अदालतको आदेश बदर गर्दै पद्म ज्योति समूहकै पक्षमा आदेश दियो। त्यसपछि २०८१ असार १९ गते उच्च अदालत पाटनबाट निषेधाज्ञाको मुद्दा खारेज गर्ने गरी फैसला भएको पद्म ज्योति समूहको विवरणमा लेखिएको छ।
उक्त फैसलापछि पद्म ज्योति समूहले घर खाली गर्न महानगरसँग अनुरोध गर्योप। महानगरले दुई महिना अगाडि उक्त घर/फ्ल्याट खाली गराउने क्रममा स्थलगत निरीक्षण गरी दुबै पक्षलाई राखी छलफल गराएको थियो। खाली गराउने सम्बन्धमा ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रालि सँग दुबै पक्षलाई मन्जुर हुने गरी घर/फ्ल्याट खाली गराउन उचित समयसिमा सहितको कार्ययोजना माग गरिएको थियो। सो क्रममा अस्पतालले दुई वर्षको समय माग गरेको छ।
अस्पतालले दुई वर्षको समय मागेपछि पद्म ज्योति समूहले त्यषसलाई नमान्दै अदालतको फैसला अनुसार घर खाली गराउने प्रक्रिया अगाडि बढायो। माहानगरपालिकाले असोज १३ गते कार्तिक ६ सम्म खाली गर्न र नगरेमा ७ गते डोर पठाउने पत्राचार गर्योर। सोही बमोजिम कार्तिक ७ गते काठमाडौं महानगरपालिकाको तर्फबाट सबन्धित नगरप्रहरीहरु गई सो घर/फ्ल्याट खाली गराउन भनेको छ।
रुप ज्योति समूहले भने अस्पताल सार्ने विषय अन्य पसल सारे जस्तो नहुने भन्दै थप समय माग गरिरहेका छन्।
यो पनि : ज्योति समूहका दाजुभाइको विवादको असर ग्रान्डी सिटी अस्पतालमा, ७ गतेभित्र सीसीयु/आइसीयु सार्न दबाब
हेरौं पद्म ज्योति समूहको विज्ञप्ति