धरान- विभेद र कलंकविरुद्ध २ महिनासम्म विविध कार्यक्रम गरेर सन् २०२४ को बायो–इथिक्स दिवस मनाइएको छ।
बायो–इथिक्स नेपाल इकाइको आयोजनामा भएका विविध कार्यक्रममा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट विद्यार्थीहरु सहभागी थिए। विभिन्न चेतनामुलक कार्यक्रम सहित शुक्रबार धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिवसको समापन भएको हो।
मानव जीवन, समाज र चिकित्सा सेवा, शिक्षा, शोध लगायतका क्षेत्रमा ब्याप्त भेदभाव र कलंक बारे सजग र सचेत भएर यस्ता असंगत कुराहरु कम गर्न र हटाउन सकिन्छ भन्ने आशा सहित् यो वर्षको बायोइथिक्स दिवस मनाइएको नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्राडा धनरत्न शाक्यले बताए।
संयोजक प्राडा शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले बायोइथिक्सको सिद्धान्त र यसवर्षको विभेद र कलंक विरुद्धको नाराले हाम्रो जस्तो विभेद र असमान व्यवहार व्याप्त समाजमा विशेष अर्थ राख्ने बताए। उनले यो कार्यक्रम समाज र राज्यस्तरमै नितिगत र ब्यावहारिक परिवर्तनका लागि आधार हुने धारणा राखे।
नेपाल एकाईका सदस्य डा अशोक ऐरले विविध नीतिगत सिद्धान्त सहित यस वर्षको नाराबारे प्रस्तुति दिए भने विद्यार्थी संकायकी अक्षता वस्तीले यस वर्षको नाराबारे सेमिनार प्रस्तुत गरिन्। कार्यक्रममा निर्णायक मण्डलबाट प्रा.डा. रिता खड्का तथा विद्यार्थी संकायका प्रमुख प्रशान्त सापकोटाको पनि मन्तब्य व्यक्त गरे।
यस वर्ष सम्पन्न वैज्ञानिक लेखमा प्रतिष्ठानकी रिचा कोइराला, फोटोग्राफी प्रतियोगितामा पाटन एकेडेमीकी काजल यादव, कवितामा जानकी मेडिकल कलेजकी उजमा हुसेन, आर्ट पोस्टरमा पुपिल डेन्टल कलेजकी सची पोखरेल र छोटो फिल्ममा बिराट मेडिकल कलेजकी लक्ष्मी रौनियारको समूहलाई राष्ट्रिय छनौटबाट यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाइएको छ। कार्यक्रम विद्यार्थी संकायका सदस्यद्वय मानश्वी आचार्य र रजनी नेउपानेले सञ्चालन गरेका थिए।
प्रतिष्ठानको मानसिकरोग विभाग प्रमुख समेत रहेका संयोजक प्राडा शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मननका यस्ता अवसर र कार्यक्रमहरु नियमित र बिस्तारित हुँदै जानुपर्ने धारणा राखे। उनले यस वर्षको नाराले समाज र हाम्रो ब्यवहारमा ब्याप्त विभेद, हेय र कलंक सजगतापुर्वक हटाउँदै मर्यादा र मानव मूल्यको प्रवद्र्धन गर्नको लागि आवश्यक मनन्, चिन्तन, मन्थन गर्न र अभ्यासहरु अबलम्बन गर्न घच्घच्याएको बताए।
विश्वभरी नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो। सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ।
युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीतिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ।