काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नीति बनाउन सघाउने खालका अनुसन्धानका काम अगाडि बढाउन आग्रह गरेका छन्।
बिहीबार परिषदको वार्षिक प्रतिवेदन र दशौं स्वास्थ्य तथा जनसंख्या सम्मेलनको रिपोर्ट सार्वजनिक कार्यक्रममा मन्त्री पौडेलले सरकारलाई नीति तथा कार्यक्रमहरु बनाउन सहयोग हुने खालका नीतिगत अनुसन्धानहरुमा जोड दिन आग्रह गरेका हुन्।
'नेपालको आवश्यकता अनुसारका अनुसन्धानहरु हुनुपर्छ। यी अनुसन्धानले सरकार तथा स्वास्थ्य मन्त्रालयलाई बाटो देखाउन सक्ने हुनुपर्छ। नीति बनाउन सघाउ पुग्ने खालका अनुसन्धानहरु गर्नुहोस्,' मन्त्री पौडेलले भने, 'उपचारका क्षेत्रमा नयाँ नयाँ प्रविधिहरु आइरहेका छन्। त्यसका विषयमा होस् वा नेपालको हावापानी, माटो, जनसंख्या, खानपान, रहनसहन लगायतका कारण स्वास्थ्यमा परेका असरका विषयमा नै किन नहोस् स्वास्थ्य मन्त्रालयलाई नीति बनाउन सघाउने खालका अनुसन्धानहरु हुनुपर्छ।'
कार्यक्रममा मन्त्री पौडेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई पहिले आफ्नै अनुसन्धान गरेर समस्या पहिचान गरी अघि बढ्न पनि सुझाएका छन्। 'पहिले आफ्नै अनुसन्धान गरेर के गर्नुपर्छ ल्याउनुहोस्। के गर्ने हो भन्ने कुरा परिषद् बाटै गर्नुपर्छ। त्यसको कार्यान्वयन मन्त्रालयले गर्छ,' कार्यक्रममा मन्त्री पौडेलले भने।
स्वास्थ्य सचिव डा रोशन पोखरेलले सरकारले चलाइरहेका परम्परागत कार्यक्रमहरुको प्रभावकारिता तथा नयाँ ल्याउन सकिने कार्यक्रमहरुका विषयमा पनि परिषदले अनुसन्धानका लागि प्रोत्साहन गर्नुपर्ने बताए। उनले परिषद आफैंले अनुसन्धान नगरी अन्यलाई दिनुपर्ने र परिषदले त्यसको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए।
परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले परिषद्ले गरेका र गरिरहेका कामका बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा परिषद्का अनुसन्धान अधिकृत मेघनाथ धिमालले परिषदको परिचय तथा काम कारबाहीका विषयमा जानकारी दिएका थिए।