तीन दशकभन्दा लामो समय त्रिवि शिक्षण अस्पतालमा क्यान्सर बिरामीको सेवामा बिताएका प्राध्यापक डा.योगेन्द्र प्रसाद सिंह अझै पनि क्यान्सरको रोकथाम तथा उपचारमा तल्लीन छन् । उनको क्यान्सर सर्जरीमा दख्खल भएका उनी हाल नेपाल क्यान्सर एजुकेशन फाउन्डेशनको अध्यक्षका रुपमा क्यान्सर सचेतनामा समेत काम गरिरहेका छन्।
क्यान्सर शिक्षामा ध्यान दिन सकेमा क्यान्सर हेरचाहमा पनि सहयोग पुग्नेमा आशावादी रहेका उनै प्राडा सिंहसँग स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंले गरेको कुराकानी :
क्यान्सरलाई सामान्य भाषामा कसरी बुझ्ने ?
क्यान्सर नसर्ने रोगहरु मध्येको एक प्रमुख रोग हो। यसको प्रकोप विश्वभर नै धेरै रहेको छ। संसारभर हुने मृत्युमा मुटु रोग भन्दा दोस्रो कारकका रुपमा क्यान्सरलाई लिइन्छ।
क्यान्सर सरुवा रोग कदापि होइन। सरुवा रोग नभएपनि यसका कारकहरु बढ्दै जाँदा दिनहुँ यसको प्रकोप बढ्दै गइरहेको छ। क्यान्सर शरीरको जुनसुकै अंगमा पनि हुनसक्छ। मानव शरीरमा विभिन्न कोषहरुले टिस्यू तथा तन्तु बनाउँछ। विभिन्न टिस्यू मिलेर कुनै अंग र अंगहरु मिलेर शारीरिक प्रक्रिया निर्माण हुन्छ। यसरी शारीरिक प्रक्रिया निर्माण भएपछि मानव शरीर बन्छ।
शरीरको जुनसुकै भागमा अनियन्त्रित किसिमले कोषहरु बन्दै जाँदा ट्युमर तथा क्यान्सरको स्थिति देखा पर्छ। सामान्यतया क्यान्सर सय भन्दा बढी प्रकारको हुने गर्छ।
क्यान्सर रोग लागेपछि निको नै हुँदैन भन्ने अझै पनि धेरैको बुझाइ छ। यद्यपि क्यान्सर समयमा उपचार हुन सके निको हुने रोग हो । रोग लागेर निको बनाउनुभन्दा यसलाई रोकथाम गर्नु महत्वपूर्ण र बुद्धिमानी हो।
क्यान्सर लाग्नुमा खानपानको भूमिका कस्तो हुन्छ ?
खानपानले क्यान्सर लाग्नुमा मात्रै नभइ उपचार पछि पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ। कतिपय खानेकुराले क्यान्सर हुनबाट समेत जोगाउँछ।
त्यसैले खानपान तथा जीवनशैली क्यान्सरको रोकथाम तथा उपचारमा महत्पूर्ण मानिन्छ।
क्यान्सर उपचारमा पोषणको प्रभावबारे केही बताइदिनुहोस् न ?
क्यान्सर उपचारका लागि मुख्यतया तीन विधिहरु बढी प्रयोगमा छन्। जसमा शल्यक्रिया, किमोथेरापी तथा रेडियोथेरापी पर्छन्।
किमोथेरापी तथा रेडियोथेरापीको असरले सामान्य शरीरलाई नै मार्ने गर्छ। उपचारका क्रममा यसले क्यान्सर सेलमा मात्र नभइ अन्य सेलहरुलाई समेत नष्ट गर्छ। त्यसकारण क्यान्सर उपचारका क्रममा पोषणयुक्त खानपानको महत्वपूर्ण भूमिका रहन्छ।
त्यसैले किमोथेरापी तथा रेडियोथेरापी लिने बिरामीले उच्च प्रोटिन तथा क्यालोरीयुक्त खानेकुराको खानुपर्छ। जसले रोगको नकारात्मक प्रभावका विरुद्ध गर्न सहयोग गर्छ।
क्यान्सर उपचारले शरीरमा पर्ने असरहरु के–के हुन सक्छन् ?
क्यान्सर उपचारका मुख्य तीन विधिहरुमध्ये शल्यक्रिया अंग विशेष हुने गर्छ । जुन अंगमा क्यान्सर भएको हो, त्यो अंगलाई राखेर ट्युमर मात्रै फाल्ने पनि गरिन्छ।
अर्काे शल्यक्रिया विधिमा उक्त अंगलाई पनि निकाल्ने र वरिपरिका तन्तुलाई समेत निकाल्ने गरिन्छ। हाल क्यान्सर ल्याप्रोस्कोपी विधिले पनि निको बनाउन सकिन्छ। त्यसैले क्यान्सर शल्यक्रियाको असर उपचार विधिमा निर्भर हुन्छ।
उपचारको असर अंगअनुसार पर्ने गर्छ। यदि स्तन क्यान्सरको उपचार गरिएको छ भने त्यसले खानेकुरामा असर गर्दैन।
क्यान्सर उपचारको क्रममा रेडियोथेरापी तथा किमोथेरापीको असर भने वाकवाकी हुने, पखाला हुने, मुखमा घाउ हुने, ज्वरो आउने जस्ता हुन सक्छन्।
यसले बोनम्यारो तथा रक्तकोषहरु बन्ने प्रक्रियालाई समेत असर गर्छ। त्यस्तै शरीरमा छिटो–छिटो बन्ने कोषहरुलाई समेत किमोथेरापी तथा रेडियोथेरापीले मार्छ। जसकारण उपचारका क्रममा बिरामीमा रगतको कमी हुने, संक्रमणसँग लड्ने कोषको कमी हुने, रगत बगिरहने जस्ता समस्या भइरहन्छन्।
क्यान्सर बिरामीहरुले पोषण परामर्श लिनु कत्तिको आवश्यक छ ?
नेपालमा क्यान्सर लागेको अवस्थामा पोषण परामर्श लिनेहरुको संख्या एकदमै कम मात्रै छ। अझै क्यान्सर लागिपसकेपछि पोषणविद्सँग नै परामर्श लिनेहरुको संख्या नेपालमा निकै नै कम छ। यद्यपि यसको भिन्नै महत्व छ।
नेपालमा यस्तो परामर्श पोषणविद्ले मात्रै नभई जोसुकैले पनि दिने गरेको पाइन्छ । धेरै बिरामीहरुले शल्यक्रिया पश्चात् मलाई डाक्टरसाप कस्तो खानेकुरा खाँदा घाउ पाक्दैन भन्ने जिज्ञासा राख्नुहुन्छ।
म सर्जन भएपनि यसबारे जानकारी बिरामीलाई दिने गर्छु । अझै पनि शल्यक्रिया पश्चात् आलु, लसुन, पिरो चिल्लो तथा मसालादार खानेकुराको सेवन गर्दाे घाउ पाक्छ भन्ने आम विश्वास छ । त्यो गलत हो। शल्यक्रिया गर्दैमा पहिलाको खानपान शैलीलाई बदल्नुपर्छ भन्ने होइन।
नेपालमा क्यान्सर बिरामी र पोषणको अवस्थाबारे केही बताइदिनुहोस् न ?
पछिल्लो समय आधुनिकताको नाममा खानपान तथा जीवनशैलीमा व्यापक फेरबदल आएको छ।
पछिल्लो दश वर्ष युवापुस्तामा फास्टफुडको प्रचलन बढ्दो छ। काठमाडौंलगायत नेपालका जुनुसुकै सहरमा पनि यस्तो फास्टफुड बनाउने रेस्टुरेन्ट छन्।
यस्ता स्थानबाट खानेबितिकै चाँडै नै इनर्जी आउने गर्छ। बढी मात्रामा खराब प्रकृतिका चिल्लो पदार्थको प्रयोग हुने भएकोले यस्ता खानेकुरा खानेबितिकै इनर्जी आउनु स्वभाविक पनि हो।
तर यस्ता खानेकुराको बढी प्रयोगले मोटोपना बढ्दै जाने तथा विभिन्न प्रकारका क्यान्सरको जोखिम बढ्दै जान्छ।
कतिपयले भने क्यान्सरको उपचार पश्चात् खानपानमा व्यापक फेरबदल गर्ने नाममा आवश्यक खानेकुरा पनि नखाएको पनि पाइन्छ।
जसले शरीरमा पोषणको मात्रा नपुग्ने समस्या समेत आउन सक्छ। त्यसकारण पोषणयुक्त र स्वस्थ खानेकुराको सेवन जतिबेला पनि आवश्यक हुन्छ।