काठमाडौं- ज्योति समूहका दाजुभाइ पद्म ज्योति र डा रुप ज्योतिको आन्तरिक विवादको असर कान्तिपथस्थित ग्रान्डी सिटी अस्पताललाई परेको छ। दुई दाजुभाइबीच भएको अंश भागबन्डामा ज्योति भवन आधा-आधा हुँदा दुवैतिर फैलिएको अस्पताललाई असर परेको हो।
अस्पतालको आइपीडी सेवा, आइसीयु, एचसीयु र एनआइसियु अप्रेसन थिएटर र इएनटीको उपचार सेवा डा रुप ज्योतिका दाइ पद्म ज्योतिको भागमा परेको भवनमा रहेका छन्। अस्पताल डा रुप ज्योतिले सञ्चालन गरेको हुँदा ती विभाग त्यहाँबाट हटाउन उनका दाइ पद्म ज्योतिले कानुनी लडाइँ नै लडेका छन्।
डा रुप ज्योतिले भने अस्पताल 'ज्योति समूह'कै रहेको बताउँदै पद्म ज्योतिलाई त्यसको भाडा तिर्ने बताउँदै आएका छन्। अत्याधुनिक उपकरणसहित अन्तराष्ट्रिय मापदण्ड अनुसार ती विभागहरु बनाइएकाले सार्न सहज नहुने भन्दै भाडामा दिन आग्रह गरेका हुन्।
पद्म ज्योतिले भने भाइ डा रुप ज्योतिको उक्त आग्रह अस्वीकार गर्दै अस्पतालका ती विभाग रहेको घर/फ्ल्याट खाली गरी बहाल रकम दिलाई-भराई पाउँ भन्दै काठमाडौं महानगरपालिका न्यायिक समिति मुद्दा हालेका थिए। जसले उनीहरुबीचको विवाद अझ बल्झिएको थियो। महानगरपालिकाको निर्णयबिरुद्ध उच्च हुँदै मुद्दा सर्वोच्च पुगेको थियो।
अस्पतालले ओगटेको जग्गाको भाडा दिने आफू राजी भएको भन्दै दाइ पद्मसँग पटक-पटक आग्रह गरेको उनी बताउँछन्। केही आन्तरिक विवादले कानुनी रुप लिएपनि दाइ पद्मले भाडा लिएर अस्पताललाई दिने विश्वास आजसम्म रहेको उनको भनाइ छ।
उनले भने, 'अस्पताल ज्योति समूहकै हो। यसबाट फाइदा छैन। सेवाका लागि खोलेको हो। त्यसैले हाम्रो विवादमा अस्पताललाई हानी हुने काम नहोस् भन्ने चाहना हो।'
कानुनअनुसार कात्तिक ७ गते नै अस्पताल खाली नभएको महानगरको डोरले खाली गराउने पत्र अस्पतालको गेटमा टाँसिएको छ। डा ज्योति भने आइसीयु र एनआइसीयु बिरामी रहेकाले अर्को व्यवस्था नगरी सार्न नसकिने बताउँछन् । उनी भन्छन्, 'हामीले त्यसका लागि तालिकासहित समय मागेका छौं। हामीलाई नै भाडामा नदिने भए ती विभाग सार्न लाग्ने समय दिन अनुरोध गरिएको छ।' त्यसका लागि आफूले तालिका समेत पठाएको बताउँछन्।
यस्तो छ डा रुप ज्योतिको भनाइ (भिडियो)
डा रुप ज्योतिको सार्वजनिक अपिल