राष्ट्रिय एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आईएचएमआईएस) ले देशभरका सम्पूर्ण स्वास्थ्य कार्यक्रमहरूको तथ्यांक व्यवस्थापनका लागि डीएचआईएस– २ प्रणाली अपनाएको छ । हाल डीएचआईएस– २ मुख्य रूपमा सेवा प्रदायक बिन्दुहरू (एसडीएस) बाट मासिक रुपमा संकलित तथ्यांकलाई केन्द्रीय निकायमा रिपोर्ट गर्नका लागि प्रयोग भइरहेको छ।
नेपालमा एचआईभी प्रतिकार्यलाई सुदृढ गर्न र वास्तविक समयमा (रियल टाइम) रणनीतिक सूचना प्रदान गर्न राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) ले एचआईभी केयर एन्ड एआरटी ट्र्याकिङ (डीएचआईएस–२ ट्र्याकर, बायोमेट्रिक एन्ड एमहेल्थ) प्रणालीको विकास गरेको छ।
यो प्रणाली सेवाग्राहीहरूको व्यक्तिगत जानकारीलाई सुदृढ बनाई एचआईभी उपचार व्यवस्थापनलाई सहयोग पुर्याउन डिजाइन गरिएको हो। एचआईभी केयर एन्ड एआरटी ट्र्याकिङ प्रणालीमा बायोमेट्रिक प्रविधि र विशेष एसएमएस प्रणाली एकीकृत गरिएको छ।
एचआईभी केयर एन्ड एआरटी ट्र्याकिङ प्रणालीमा एकीकृत बायोमेट्रिक प्रणालीले सेवाग्राहीहरूको औंठाछाप स्क्यान गरेर उनीहरू नयाँ हुन वा पहिले नै दर्ता भएका हुन् भन्ने पत्ता लगाउँछ। यस सुविधाले प्रत्येक सेवाग्राहीको जानकारी तुरुन्तै प्राप्त गर्न र थप्न सक्षम बनाउँछ साथै सेवाग्राहीहरूको दोहोरो गणनालाई रोक्छ। मेडिकल रेकर्डहरू पनि बायोमेट्रिक (औंठाछाप) डाटासँग जडान गरिन्छ, जसले उपचार प्रक्रियालाई सरलीकृत बनाउँछ।
एचआईभी संक्रमित व्यक्तिहरूको उपचारमा निरन्तरता सुधार गर्न डीएचआईएस–२ मा एसएमएस प्रणाली (एमहेल्थ एप्लिकेसन) एकीकृत गरिएको छ। यस प्रणालीले औषधि लिन अपोइन्टमेन्ट, सीडी–४ र भाइरल लोड परीक्षण, शिशुको प्रारम्भिक निदान परीक्षण, स्वास्थ्य जाँच, पार्टनर परीक्षण, अधेरेन्टस (औषधि खाने नियमितता) र परिवार नियोजन विधिहरू सहितका महत्वपूर्ण घटनाहरूको लागि नेपालीमा एसएमएसबाट सूचनाहरू पठाउँछ।
डीएचआईएस–२ ट्र्याकरमा सेवाग्राहीहरुको रेफरल सेवा पनि समावेश गरेको छ। यसले एचआईभी रोकथाम र परीक्षण केन्द्रहरूबाट एचआईभी उपचार केन्द्रहरूमा पुष्टि परीक्षण वा उपचारका लागि र एक एचआईभी उपचार केन्द्रबाट अर्काे उपचार केन्द्रमा निरन्तर उपचारका लागि सेवाग्रहीहरुको प्रभावकारी रेफरलको लागि सहयोग पुर्याउँछ।
एचआईभी केयर एन्ड एआरटी ट्र्याकिङ (डीएचआईएस२ ट्र्याकर, बायोमेट्रिय एन्ड एमहेल्थ) प्रणालीलाई एचआईभी सम्बन्धी सेवा प्राप्त गर्ने सेवाग्राहीहरूको सम्पूर्ण जानकारी रेकर्ड गर्नको लागि विकास गरिएको छ। यो प्रणालीमा एचआईभी परीक्षण र परामर्श सेवाहरू, रोकथाम, हेरचाह, र सहयोग सेवाहरूका लागि आउने सेवाग्राहीहरूको व्यक्तिगत जानकारीको रेकर्ड राखिन्छ, जुन एचआईभी कार्यक्रमको प्रवेशद्वार हो।
एचआईभी परीक्षण र परामर्श सेवाहरूबाट एचआईभी पोजिटिभ भएका सेवाग्राहीलाई मेडिकल हिस्ट्री, एचआईभी हेरचाह, एन्टिरेट्रोभाइरल थेरापी (एआरटी), आमा–शिशुमा संक्रमण रोकथाम (पीएमटीसीटी) र शिशुको प्रारम्भिक निदान (ईआईडी) जस्ता सेवासँग सम्बन्धित सम्पूर्ण जानकारी सहित प्रणालीमा दर्ता गरिन्छ।
यसका साथै एक पटक सेवाग्राही प्रणालीमा दर्ता भएपछि उपचार प्रक्रियाको क्रममा भएका सबै सम्बन्धित जानकारी प्रणालीमा प्रविष्ट गरिन्छ र यो जानकारी जुनसुकै समयमा प्रणालीबाट प्राप्त गर्न सकिन्छ। यस प्रणालीको मुख्य उद्देश्य सेवाग्राहीहरूको सबै जानकारी वास्तविक समयमै रेकर्ड गर्नु हो, ताकि उनीहरूको उपचारको लागि र एचआईभी सम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्दा जानकारीको पहुँच होस्।
यस प्रणालीले स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा (आईएचआईएमएस) को सिफारिस गरिएको ढाँचामा नियमित मासिक एचआईभी उपचार रिपोर्टहरूको सिर्जना र प्रतिवेदन गर्न पनि सजिलो बनाउँछ। साथै, यसले आवश्यकता पर्दा स्वास्थ्यकर्मीहरुले कुनै पनि सेवाग्राहीको जानकारी हेरी उपचार र अन्य सुधार कार्यक्रम बनाउन सहयोग गर्छ।
यस सूचना प्रणालीको अर्को फाइदा भनेको यसले सरकार र दाताहरूको स्रोत र प्रयासलाई मिलाएर एचआईभी कार्यक्रमको लागि धेरै दाता–विशिष्ट प्रणालीहरूको सट्टा एक मात्र सूचना प्रणाली बनाएको छ, जसले राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा एचआईभी कार्यक्रमका स्वास्थ्य केन्द्रहरुबाट नै मासिक प्रतिवेदन बुझाउनमा सहयोग पुर्याउँछ।
यस सूचना प्रणालीको प्रभाव र फाइदाहरूलाई नर्वेको ओस्लो विश्वविद्यालय (जसले डीएचआईएस–२ सफ्टवेयर विकास गरेको हो)ले पनि पहिचान गरेको छ। नेपाली सूचना प्रणालीका राम्रा प्रभावहरु अन्य निम्न र मध्यम आय भएका देशहरूलाई पनि काम लाग्न सक्ने समेत उल्लेख गरेको छ।
(पाण्डेय राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हुन्।)