मानव शरीरका अंगहरुमध्ये फोक्सोको प्रत्यक्ष सम्पर्क वातावरणमा रहेका धुलो, धुँवा लगायतका विभिन्न केमिकलहरुसँग हुने गर्छ। कतिपय मानिसलाई लामो समयसम्म वातावरणमा रहेका ती केमिकलहरुको असर फोक्सोमा पार्नुका साथै क्यान्सर समेत हुनसक्छ।
शरीरका कोषहरु अनियन्त्रित तरिकाले बढ्दै जानुलाई पनि क्यान्सर भनिन्छ। यस्तो अवस्थामा बिरामीको ज्यानलाई समेत खतरा हुनसक्छ।
अन्य क्यान्सरको तुलनामा फोक्सोको क्यान्सरका कारण धेरै बिरामीको मृत्यु हुने गरेको पाइएको छ। आन्द्रा कोलोन क्यान्सर, स्तनको क्यान्सर तथा प्रोस्टेट क्यान्सरका कारण वर्षमा जति मानिसको मृत्यु हुन्छ, त्यो भन्दा बढीको मृत्यु फोक्सोको क्यान्सरले हुने गर्छ।
फोक्सोको क्यान्सर हुनुका कारणहरु
फोक्सोको क्यान्सर वंशाणुगत तथा वातावरणीय गरी दुई कारणले हुनसक्छ। धूमपान, मदिरापान, लगायतका सेवनका कारण पनि मानिसमा फोक्सोको क्यान्सर हुन्छ। त्यस्तै वंशाणुगत कारण, वायु प्रदूषण, कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण पनि फोक्सोको क्यान्सर हुने गर्छ।
फोक्सोको क्यान्सरको उपचारमा प्रयोग हुने प्रविधिहरु
नेपालमा फोक्सोको क्यान्सरको पहिचान सुरुवाती चरणमा एकदमै कम मात्रै हुने गर्छ। विकसित मुलकहरुमा समेत जम्मा ३० प्रतिशत मानिसमा मात्र फोक्सोको क्यान्सर भएको समयमै पत्ता लाग्ने गरेको पाइएको छ।
नेपालमा भने जम्मा २ देखि ५ प्रतिशत बिरामीमा मात्र यो रोग समयमै (पहिलो वा दोस्रो चरणमा) पत्ता लाग्ने गरेको छ। करिब ५ प्रतिशत बिरामीहरु क्यान्सर भएको तेस्रो वा चौथो चरणमा मात्रै उपचारका लागि अस्पताल आइपुग्ने गर्छन्।
आर्थिक रुपले सबल तथा उच्च वर्गका मानिसहरु समेत क्यान्सर भएको तेस्रो वा चौथो चरणमा मात्रै अस्पताल आइपुग्ने गर्छन्। समयमा क्यान्सरको पहिचान गराउनु अहिलेको चुनौतीको रुपमा नै देखा परेको छ।
फोक्सोको क्यान्सर प्रारम्भिक चरणमा भएमा शल्यक्रियाद्वारा सजिलै निकाल्न सकिन्छ। कुनैकुनै क्यान्सर तेस्रो स्टेजमा छ भने पनि शल्यक्रियाद्वारा हटाउन सकिन्छ।
क्यान्सर सतप्रतिशत निको हुने रोग होइन। यद्यपि, पहिलो र दोस्रो चरणमा पत्ता लगाएमा ५ वा त्यो भन्दा वर्षसम्म पनि बाँच्न सकिन्छ।
नेपालमा फोक्सोको शल्यक्रिया गर्ने चिकित्सक धेरै कम छन्। पोखरा, भक्तपुर र काठमाडौँका धेरैजसो मेडिकल कलेजहरुमा फोक्सोको शल्यक्रिया गर्ने चिकित्सक छैनन्। तैपनि नेपालमा दक्ष कार्डियोथोरासिक सर्जनहरु छन्। नेपालीले फोक्सोको क्यान्सर रोगको उपचार गर्नकै लागि विदेश जानु पर्दैन।
फोक्सोको क्यान्सर हुँदा देखिने लक्षणहरु
–खोकी लाग्नु या खोकीमा रगत देखिनु
–तौल घट्नु
–थकान महसुस हुनु
–स्याँ–स्याँ हुनु
फोक्सोको क्यान्सर भएको कसरी थाहा पाउने?
सुरुवातमा अस्पताल नजाने परिपाटीका कारण पत्ता लाग्दासम्म तेस्रो वा चौथो चरणमा पुगिसकेको हुन्छ। छाती सम्बन्धी कुनै पनि समस्या आउनासाथ छातीको एक्सरे गराउनुपर्ने हुन्छ। छातीको एक्सरेमा दाग देखियो भने सिटी स्क्यान गर्नुपर्छ र दागको मासु निकालेर जाँच गर्नुपर्छ। यस्तो मासु निकाल्न सक्ने र जाँच गर्न सक्ने चिकित्सकहरु नेपालमा नै छन्।
फोक्सोको क्यान्सर आफैँमा जटिल भएकाले यो रोग सजिलै पत्ता लगाउन सकिँदैन। ५५ वर्ष नाघिसकेका धेरै वर्ष धूमपान गरेका व्यक्तिहरुले लो डोज अर्थात् विना इन्जेक्सनको प्रयोगद्वारा सिटी स्क्यान गरेर पनि यो रोग भए÷नभएको पत्ता लगाउन सकिन्छ। सिटी स्क्यानमा बाहेक अरु प्रविधिहरु जस्तै, पेटस्क्यान पनि नेपालमा उपलब्ध छ।
रोकथाम कसरी गर्ने?
विदेशमा जस्तो प्रत्येक नागरिकलाई डाक्टर राख्न सक्ने क्षमता राष्ट्रको नभएको हुनाले नेपालमा आफ्नो स्वास्थ्यका लागि नागरिक आफैं चलाख हुनुपर्ने अवस्था छ। त्यसैले यदि कसैलाई खोकी लाग्ने, स्याँ–स्याँ हुने, तौल घट्ने जस्ता समस्या देखिएमा तुरुन्तै चिकित्सकलाई देखाउनुपर्ने हुन्छ। छातीको एक्सरेमा कुनै प्रकारको दाग देखिएमा त्यसको तुरुन्तै उपचार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।
(डा तुलाधर क्यान्सर रोग विशेषज्ञ हुन्।)