मायोपिया एक प्रकारको दृष्टिदोषको समस्या हो। दृष्टिदोषको समस्या चस्मा लगाउनुपर्ने अवस्था हो। विभिन्न प्रकारका दृष्टिदोषमध्ये मायोपिया एक प्रकारको समस्या हो। यस्तो समस्यामा नजिकैको वस्तुलाई राम्रोसँग सहजै देख्न सकिन्छ भने टाढाको वस्तु हेर्न कठिन हुन्छ।
कारणहरु
फिजियोलोजिकल कारण
मायोपियाका धेरै कारणमध्ये फिजियोलोजिकल कारण बढी महत्वपूर्ण हुन्छ। उमेर बढ्दै जाँदा बालबालिकामा शरीरका अन्य अंगहरुसँगै आँखाको आकार पनि बढ्दै जान्छ। जसले आँखाको माइनस पावरलाई पनि बढाउँदै जान्छ। यो प्रकारको मायोपियालाई स्कुल मायोपिया वा फिजियोलोजिकल मायोपिया पनि भन्ने गरिन्छ।
कतिपय बच्चाहरुलाई जन्मजात रुपमा नै मायोपिया हुने गर्छ। त्यस्ता बच्चाहरु जन्मँदा नै आँखाको दृष्टि माइनस पावर हुन्छ। सामान्यतया बच्चा जन्मँदा प्लस तथा नर्मल पावर हुने गर्छ। यद्यपि, मायोपियाको समस्या भएका बच्चाहरुमा जन्मँदै माइनस पावर हुन्छ।
कतिपय केटाकेटीहरुको जन्मँदै आँखाको दृष्टि एकदमै कम हुन्छ। बा–आमा अथवा परिवारका कुनै सदस्यलाई मायोपिया भएको छ भने बालबालिकामा पनि देखिन सक्छ। जसलाई कन्जन्नाइटल मायोपिया भनिन्छ। यो एकदमै दुर्लभ हुन्छ।
आँखाको रोगका कारण हुने मायोपिया
कतिपयमा आँखामा लागेको रोग तथा आँखाको लेन्स सर्दा पनि मायोपियाको समस्या हुने गर्छ। यो थोरैमा मात्रै हुन्छ। आजकाल स्कुले बालबालिकाहरुमा हुने मायोपियाको समस्या प्राथमिकतामा पर्ने गरेको छ। अन्य प्रकारका मायोपियामा शल्यक्रिया गर्नुपर्ने हुन्छ। कुनै प्रकारमा लेजर विधिले पनि मायोपियाको उपचार गरिन्छ।
लक्षणहरु
–बोर्डमा लेखिएका अक्षरहरू पढ्न र सार्न नसक्ने,
–टाउको दुख्ने,
–आँखा झिम्म–झिम्म गर्ने,
–आँखा सानो बनाएर हेर्ने,
–समस्या बढ्दै जाँदा आँखा टेढो हुने,
–आँखाको नानी हल्लिने,
–आँखा चिलाउने, आँसु आउने,
उपचार विधि
संसारभर नै यो साझा समस्याका रुपमा पनि देखा परेको छ। मायोपियाको उपचार विधि एकदमै सजिलो र सस्तो छ। सुरुवातको समयमा बालबालिकालाई चस्मा लगाइदिन सके दृष्टिदोषको समस्या हल हुँदै जान्छ। कतिपय बच्चालाई १६ वर्ष पूरा भइसकेपछि चिकित्सकको परामर्शमा कन्ट्याक लेन्स राख्नुपर्ने हुन्छ।
कन्ट्याक लेन्स दिनहुँ फेर्नुपर्ने हुन्छ। दिउँसोभरि लगाएर राति भने फुकालेर राख्न सकिन्छ। यसबाट मायोपियालाई हटाउने नभई दृष्टिदोषको समस्यालाई कम गर्न सकिन्छ।
मायोपियाको उपयुक्त उपचार विधि भनेको लेजर सर्जरी हो। बालबालिकाहरु १६ वर्ष पूरा भइसकेपछि तथा आँखाको दृष्टि स्थिर भएको अवस्थामा मात्रै लेजर सर्जरी गर्न सकिन्छ। लेजर सर्जरीपश्चात् भने दृष्टिदोषको समस्या पूर्ण रुपमा हटाउन सक्छ।
रोकथाम कसरी गर्ने?
पछिल्लो समय बालबालिकाहरुले मोबाइल फोनको प्रयोग अत्यधिक गर्न थालेसँगै मायोपियाको समस्या पनि बढ्दै गएको पाइएको छ। यो एकदमै बढ्दै जाने समस्या हो। यस्तो समस्या बढ्दै आँखाको आकार घट्दै जाने तथा पर्दा पातलो हुँदै जाने गर्छ। जसका कारण पर्दा च्यातिँदै तथा दृष्टि कमजोर हुँदै जाने हुन्छ। त्यसैले यसको रोकथाम बेलैमा हुनु आवश्यक छ।
उज्यालोमा बस्ने–खेल्ने बालबालिकामा मायोपिया कम भएको विभिन्न अध्ययनले देखाएका छन्। त्यस कारण बालबालिकालाई सधैँभरि कोठामा राख्नुभन्दा हरेक दिन छोटो समय भए पनि बाहिर लगेर घुमाउने, कुदाउने, खेलाउने गर्नुपर्छ।
त्यसबाहेक बालबालिकाको आँखा सामान्यभन्दा भिन्न देखियो, रातो भयो, चिलायो, हेर्दा झिमझिम भइरह्यो, आँखा चिम्सो पारेर हेर्नुपर्यो, आँखामा टेडोपन देखियो अथवा आँखामा कुनै पनि किसिमको समस्या देखा प¥यो भने तुरुन्तै नजिकैको आँखा अस्पतालमा गएर देखाउने र समयमै उपचारमा गराउनुपर्छ।
–दृष्टि समस्या आउनासाथ झोल औषधि (ड्रप)को प्रयोग गर्ने।
–माइनस पावरलाई बढ्न नदिन चिकित्सकको सल्लाहमा चस्माको प्रयोग गर्ने।
–कन्ट्याक लेन्सको प्रयोग गर्ने।
–मोबाइल तथा ल्यापटपको प्रयोग कम गर्ने।
–बच्चालाई कम्तीमा दैनिक २ घन्टा घरबाहिर खेल्न दिने।
नेपालका ५० प्रतिशत बालबालिकामा हुनसक्छ मायोपिया
संसारमा सन् २९५० सम्ममा ८० प्रतिशत जनसंख्यामा मायोपियाको समस्या हुने आकलन गरिएको छ। त्यस्तै कोरोना महामारीश्चात् मायोपियाको समस्यामा अझै बढेको अनुसन्धानहरुले देखाएका छन्।
कोरोना महामारीका समयमा बालबालिकाहरुले घरमै बसेर अध्ययन गर्नुपर्दा स्क्रिनको प्रयोग बढ्यो। त्यस कारण पनि कोरोनापछि मायोपियाको समस्या बढेको हो। नेपालका करिब ५० प्रतिशत बालबालिकामा मायोपियाको समस्या रहेको अनुमान छ।
(डा अधिकारी बाल नेत्ररोग विशेषज्ञ हुन्।)