ठूलो आन्द्राको क्यान्सर के हो?
सामान्यतया ठूलो आन्द्राको क्यान्सर उमेर ढल्कदै जाँदा हुन्छ भन्ने आम बुझाइ छ। तर आजभोलि कम उमेरमा नै ठूलो आन्द्राको क्यान्सर देखा पर्ने गरेको छ।
कोलोनोस्कोपी गरेर हेर्दा युवाहरुमा नै मासु पलाएको तथा क्यान्सर भएको पत्ता लाग्ने गरेको छ।
यसरी कम उमेरका धेरै मानिसमलाई क्यान्सर पत्ता लाग्नुले नेपालमा मात्र नभई विश्वमा नै डर पैदा गरेको छ। कोलोनोस्कोपीमा दिसा आउने प्वालबाट पाइप छिराएर परीक्षण गरिन्छ।
पहिले ५० वर्ष उमेर पूरा भइसकेपछि स्वस्थ मानिसलाई कोलोनोस्कोपी गर्ने सल्लाह चिकित्सकहरुले दिन्थे। कोलोरेक्टल क्यान्सरको जोखिम बढ्दै जाँदा आजभोलि त्यो उमेरको हद घटाएर ४५ वर्ष राखिएको छ।
यो एकैपटक देखिने क्यान्सर होइन। यसको सुरुवातमा सानो मासु जस्तो पलाउने गर्छ। यद्यपि, यो पित्तथैलीको क्यान्सर जस्तो ढिलो पहिचान हुने क्यान्सर होइन।
ठूलो आन्द्राको क्यान्सर समयमा नै पत्ता लगाउन सकेमा उपचार पूर्ण रुपमा सम्भव छ। कोलोनोस्कोपीबाट क्यान्सर लाग्नु अगाडि नै यसको पहिचान गर्न सकेमा उपचारमा धेरै सहजता हुन्छ। यदि सानो मुसा जस्तो पलाएमा कोलोनोस्कोपी गरेकै अवस्थामा त्यसलाई काटेर फाल्न सकिन्छ।
जसले रोग पत्ता लाग्ने र उपचार समेत हुने दुवै फाइदा हुन्छ। यदि शरीरको कुनै भागमा मुसा पलाएमा त्यो करिब १० वर्षको अवधिमा क्यान्सरको रुपमा विकसित हुनसक्छ। त्यसैले ४५ वर्ष उमेर पूरा भइसकेपछि कोलोनोस्कोपी गर्नु राम्रो हुन्छ।
कोलोन क्यान्सरका लक्षणहरु
दिसामा रगत आउने,
समयमा दिसा नहुने,
दिसा नखुल्ने,
पटक–पटक दिसा लाग्ने,
खाना नरुच्ने,
तौल घट्ने,
त्यसरी पलाएको सानो मासुले नै लामो समयपछि क्यान्सर गराउन सक्छ। मुसा पलाएको अवस्थामा नै चिकित्सक कहाँ आइपुगेको अवस्थामा त्यसले क्यान्सरसम्मको अवस्था आउन सक्दैन। कोलोरेक्टल क्यान्सर एक मात्र त्यस्तो क्यान्सर हो जसको उपचार क्यान्सर नहुँदा नै सम्भव छ।
कम उमेरमा नै क्यान्सर देखिनुका कारणहरु
नेपालमा मात्रै नभई विश्वमा नै सबै प्रकारका क्यान्सरहरु बढिरहेको अवस्थामा कोलोरेक्टल क्यान्सर पनि बढेको पाइन्छ। यसरी कम उमेरमा नै क्यान्सर हुनुको कुनै निश्चित कारण पहिचान भने हुन सकेको छैन।
यद्यपि, पछिल्लो समय जीवनशैलीमा आएको व्यापक परिवर्तन तथा प्रशोधित खानेकुराको अत्यधिक प्रयोगका कारण पनि यो क्यान्सर बढेको अनुमान भने गर्न सकिन्छ।
त्यस्तै धूमपान तथा मद्यपानका कारण पनि कोलोरेक्टल क्यान्सरका बिरामीको संख्या बढेको छ।
धेरैजस्तो कोलोरेक्टल क्यान्सर वंशाणुगत कारणले हुने गर्छ। ठूलो आन्द्राको केही भागलाई काटेर यो क्यान्सरको उपचार गरिन्छ।
यसका साथै उपचारमा बिरामीको पहुँच बढ्नुले पनि क्यान्सरको पहिचान बढी भएको हो।
कोलोनोस्कोपी सेवा कहाँ–कहाँ छ
विगतमा नेपालमा पेटसम्बन्धी समस्याको उपचार गर्ने चिकित्सकहरुको संख्या न्यून थियो।
हाल ३ वर्षको डीएम ग्यास्ट्रो इन्टरलोजीको पढाइमा कोलोनोस्कोपीबारे पनि पढाइ हुने गर्छ। हाल नेपालमा मुख्यमुख्य शहरमा कोलोनोस्कोपी सम्बन्धी पढाइ हुने गरेको छ।
त्यसकारण यदि बिरामीले चाहेमा कोलोनोस्कोपी सेवा नेपालका प्रायः सबै जस्तो शहरहरुमा विस्तार भइसकेको छ। वीर अस्पतालले गत मार्चमा निःशुल्क कोलोनोस्कोपी स्क्रिनिङ गरेको थियो।
अन्य अंगमा नफैलिँदा क्यान्सर निको हुन्छ
सरकारले क्यान्सर उपचारका लागि १ लाख रुपैयाँ बराबरको उपचार सहुलियत दिँदै आइरहेको छ।
ठूलो आन्द्रा लामो हुने भएको यसमा क्यान्सर भइसकेको तर शरीरका अन्य अंगहरुमा नफैलिएको अवस्थामा पनि यसको क्यान्सरलाई निको बनाउन सकिन्छ।
शल्यक्रिया गर्न सक्ने चिकित्सककहाँ पुग्न सकेमा उपचारमा केही ढिलाइ भए पनि ठूलो आन्द्राको क्यान्सरका बिरामीको मृत्यु भने हुँदैन।
उपचार कति लामो
क्यान्सर भइसकेको अवस्थामा उपचार प्रक्रिया बिरामीको अवस्थामा निर्भर रहन्छ। ठूलो आन्द्रा लामो हुने भएकोले त्यसका रेक्टम, कोलोम लगायतका भागहरु छन्। यदि क्यान्सर शरीरका अन्यका अंगमा फैलिसकेको अवस्थामा यसको उपचार प्रक्रिया लामो हुनसक्छ। यस्तो अवस्थामा मेजर प्रकारको सर्जरी तथा किमोथेरापी पनि आवश्यक पर्न सक्छ।
यदि क्यान्सर आन्द्रामा मात्रै रहेको अवस्था छ उपचार प्रक्रिया छोटो हुन्छ।
रगत पातलो बनाउने औषधिले पनि कोलोरेक्टल क्यान्सरको जोखिम कम गर्ने अध्ययनले देखाएको छ। यद्यपि, उक्त औषधिको सेवन मुटुरोग विशेषज्ञको सल्लाहमा मात्रै गर्नुपर्ने हुन्छ।
(डा शर्मा प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रो इन्टरलोजिष्ट हुन्।)