२०७१ साल माघ महिना लोकसेवा आयोगको कार्यालय महेन्द्रनगरबाट अहेव पदमा नियुक्ति भइ दार्चुला जिल्लाको ब्याँस गाउँपालिका हुती स्वास्थ्य चौकीबाट स्थायी स्वास्थ्य सेवा प्रारम्भ गरेको हुँ। २०६८ सालदेखि दार्चुला जिल्लाको विभिन्न दुर्गम गाउँबस्तीका स्वास्थ्य संस्थाहरुमा कुनैबेला स्वास्थ्य संस्था प्रमुख त कुनैबेला खोप कार्यकर्ताको रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने अनुभव र अवसर प्राप्त भयो।
यसक्रममा अपिहिमाल गाउँपालिकाको घुषा स्वास्थ्य चौकी, खण्डेश्वरी स्वास्थ्य चौकी, शैल्यशिखर नगरपालिकाको देथला स्वास्थ्य चौकी, ब्याँस गाउँपालिकाको हुती स्वास्थ्य चौकी, दार्चुला जिल्ला अस्पताल हुँदै कर्मचारी समायोजन पश्चात् विगत ४ वर्षदेखि महाकाली नगरपालिका अन्तर्गत दत्तू स्वास्थ्य चौकीमा कार्यरत रहेको छु। त्यहाँ काम गरिरहँदा स्वास्थ्य संस्थाबाट मलाई विभिन्न स्वास्थ्य सेवा दिन जिम्मेवारी आएमा, औषधि वितरण, ड्रेसिङ, कुष्ठरोग तथा क्षयरोग, किटजन्य रोग, बालरोग व्यवस्थापन, ओपिडी (बहिरङ्ग सेवा), एचएमआई एस,सोरमासलगायत कार्यक्रमहरुको सम्पर्क व्यक्तिका रुपमा कार्यसम्पादन गरिरहेको छु।
आफ्नो कर्मकै क्रममा २०८१ असोजको १० गते म सधैंझै बहिरङ्ग सेवामा बिरामी जाँच गर्ने कक्षमा ड्युटी थियो। त्यहीबेला एकजना आमाले अन्दाजी १३-१४ वर्षको किशोरलाई पिठ्युमा बोकेर ल्याउनुभयो र भन्नुभयो, 'सर मेरो छोरालाई साह्रै बढी ज्वरो आयो। औषधी दिनु पर्यो।' मैले आमालाई सम्झाउँदै उक्त बिरामीको मूल दर्ता रजिष्ट्ररमा नाम दर्ता गरें । बिरामी पूर्जामा बिरामीको विवरण राख्न शुरु गरें तर आमाले पुनः भन्नुभयो, 'सर अलि हतार छ, लेख्ने काम पछि गर्नु ज्वरो हिजोदेखि मात्रै हो। पारा-सिटामोल दिनु अनि हामी जान्छौं।'
मैले पनि हतार-हतार उहाँले भने बमोजिम औषधी दिएर पठाएको भए पनि हुन्थ्यो तर फेरि आमालाई सम्झाउँदै बिरामीको विवरण राख्नुपर्छ भनें। बिरामी पूर्जा दिँदा दिएको औषधि, रोगको अवस्था, लक्षण चिह्नलगायत थुप्रै कुरा लेखेको हुन्छ। जुन आवश्यक पनि रहेको बताउँदै उहाँलाई बुझाएर हिस्ट्री (इतिहास) लिन सुरु गरें । जसमा प्रमुख लक्षण ज्वरो थियो। त्योबाहेक अरु कुरा सोध्दा उहाँको उत्तर थियो- 'हिजो श्राद्धमा मासको दालको तेलमा पकाएको परिकार बारा (बट्कु) खायो र त्यतिबेलादेखि अलिअलि पेट पनि दुख्न थाल्यो। ग्यास्ट्रिक पनि भयो। त्योसँगै आज खाना पनि मन छैन भन्छ र विहान पातलो दिशा भयो र एकपटक बान्ता पनि भयो।'
यी लक्षणहरुमा दुखाइ जाँच गरें । सर्ने किसिमको पेटको दुःखाई ज्वरोको अवस्थालगायत सबै लक्षणहरुकै आधारमा जाँचबुझ गरियो। कतै एक्युट एपेन्डिसाइटिस त भएन भन्ने आशंका गरियो । थप शारीरिक जाँच लक्षणहरु हेर्नतिर लागें, हेर्दाखेरि बिरामीको तापक्रम बढेको थियो ९९.६० फरेनहाइट थियो । नाडीको गति पनि तीव्र थियो । टकसिक, साथै मुख जिब्रो सुख्खा देखिन्थ्यो । साथै इतिहासले र शारीरिक जाँचबाट मात्रै पनि ८० प्रतिशत रोग निदान गर्न सकिने आधार अनुसार उक्त बिरामीलाई टेबुलमा सुताइयो । दुखाइको जाँच गर्दा पेटको दुखाइ (रिबाउन्ड टेन्डेरनेस) पनि पाइयो। साथै अरु पोज साइन, अब्च्युरेटर साइनजस्ता कुराहरु थाहा भयो र लगभग सम्भावित रोग एक्युट एपेन्डिसाइटिस हुन सक्ने देखियो। अझै स्पष्ट निदान गर्नका लागि विभिन्न अध्ययन र प्रयोगमा रहेको सम्भावित एपेन्डिसाइटिस पत्ता लगाउते स्कोर र लक्षण अंक तालिका प्रयोग गरेर, तालिकामा लक्षण चिह्नअनुसार ५ देखि ६ अंकमा एक्युट एपेन्डिसाइटिस हुन सक्छ तर अझै निश्चित गर्न थप जाँचहरु गर्नुपर्ने हुन्छ । ७ देखि ८ अंक आए एक्युट एपेन्डिसाइटिस नै हो र शल्यक्रियाको लागि सल्लाह दिनुपर्ने हुन्छ । साथै ९ देखि १० अंक भएमा तत्काल शल्यक्रिया गर्नुपर्ने हुनसक्छ भनेर बताइए अनुसार बिरामीको ७ अंक निस्क्यो।
उक्त तालिकाको आधारमा उक्त बिरामीको ७ अंक मिल्न पुग्यो । जसमा पेटको दुखाइ- सुरुमा पूरै पेटमा र पछि सरेर पेटको तल्लो दायाँ भागको दुखाइ । खाना रुची नभएको वाक-वाक तथा वान्ताका साथै पेट जाँच्दा दुखाई भेटियो । साथै ल्याब जाँच गर्ने निधो गरियो । अझै कतै अन्य समस्या पो छ कि भनेर ल्याबको म्यामलाई बोलाएर रगत र पिसाब लगायतका जाँच गर्ने सल्लाह गरियो । तत्काल ल्याबमा जाँच गर्ने रिअजेन्ट नभएको सुनाएपछि गर्न सकिएन । तर पनि एक्युट एपेन्डिसाइटिस हुन सक्छ भन्नेमा ढुक्क थिएँ । यो रोगको बारेमा ल्याबमा काम गर्ने म्याम र मैले सचित्र यो रोगको अवस्था, असरहरु उपचार पद्धति सबै कुरा बताएँ । त्यतिबेला उक्त बिरामीको ज्वरो, दुखाइ लगायतका समस्या समाधानका लागि प्राथमिक उपचार तथा दुखाई कम गरी थप रगत र पिसाब जाँच लगायत पेटको अल्ट्रासाउण्ड गर्न जिल्ला अस्पताल जानुपर्ने बताइयो । सुरुकै अवस्थामा रहेकाले मुखबाट केही नदिई नशाबाट औषधी दिएर राख्नुपर्छ वा ४८ घण्टाभित्र शल्यक्रिया गर्नुपर्छ र तुरुन्त अस्पताल जानुपर्छ भनेर सल्लाह दिइयो । त्यति गर्दा पनि बिरामीको आफन्तले मान्नुभएन । 'एकदुई दिनक लागि खाने औषधी दिनु नभए फेरि लैजान्छु,' उहाँको भनाइ थियो । मैले यो रोग आकस्मिक अवस्था भएकाले तत्काल शल्यक्रिया गर्नुपर्छ भनेर सम्झाएँ । ढिलो भएमा फुटेर बिरामीको अवस्था जटिल हुने बताएँ । मैले उहाँहरुलाई तत्कालै जिल्ला अस्पतालका लागि प्रेषण गरें।
ग्रामीण स्वास्थ्य संस्थाहरुमा रोगको उपचार गर्नु मात्र ठूलो कुरा होइन । समयमै रोग पत्ता लगाएर उनीहरुलाई सम्झाएर समयमै प्रेषण गर्नु पनि महत्वपूर्ण कुरा हो भन्ने महशुस त्यो घटनाले गरायो । त्यसकारण बिरामीलाई पर्याप्त समय दिएर विस्तृत इतिहास लिनुपर्छ । यसरी समयमै रोग पत्ता लागेर समयमै उपचार हुन सक्छ । जसले आर्थिक व्ययभार घट्उनुका साथै मानवीय क्षति समेतबाट बच्न सकिन्छ ।
अनि अब मैले एक्युट एपेन्डिसाइटिस भनेर निदान गरेर पठाएको बिरामी अस्पताल पुग्यो कि पुगेन भनेर खुल्दुली लागिरह्यो । बिरामीको आफन्तसँग फोन सम्पर्क हुन सकेन । बेलुका जिल्ला अस्पतालतिर खबर गर्द खोज्दा पनि सम्पर्क हुन सकेन। संयोगवस दोस्रो दिन जिल्ला अस्पताल दार्चुलामा छोरीको रगत जाँच गर्न जानुपर्ने भयो र अस्पतालमा बिरामी पूर्जा काटेर उक्त मैले पठाएको बरामीको बारेमा सोध्ने योजना थियो । त्यहीँनिर अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट पूर्वपरिचित रविन्द्र ठगुन्ना भेटिनुभयो । उहाँ आफैंले भन्नुयो- सरले हिजो एक्युट एपिन्डिसाइटिस भनेर पठाएको बिरामी यहाँ शल्यक्रिया हुन नसक्ने भएपछि राति नै धनगढी पठायौं । त्यसले अलिकति खुशी दिलायो । तर बिरामीको बारेमा चिन्ता कायम थियो । तेस्रो दिन उक्त बिरामीको सम्बन्धित वार्डको महिला स्वास्थ्य स्वयम् सेविकासँग फोन सम्पर्क गरें । बिरामीको अभिभावकको सम्पर्क नम्बर खोजेर फोन गरें । उहाँले राति नै एपिन्डिसाइटिसले हानेर धनगढी पुगेको बताउनुभयो। धनगढीको एक निजी अस्पतालमा पुर्यािउनुभएछ । बिरामी खतरामुक्त रहेको र शल्यक्रिया भइसक्यो भन्नुभयो।
स्वास्थ्य सेवा गुणस्तरीय र निःशुल्क पाउनुपर्छ भन्ने मान्यता छ । आर्थिक अवस्था कमजोर भएको अवस्थामा अकालमा हुन सक्ने मृत्युलाई घटाउन राज्यबाट आर्थिक अवस्था सुधार गर्ने कार्यक्रम, स्वरोजगारी, निःशुल्क स्वास्थ्य सेवा लगायतका व्यवस्थापनमा अहम् भूमिका रहन्छ। स्वास्थ्य र स्वास्थ्यसँग सम्बन्धित समुदायका नागरिकहरुलाई जनस्वास्थ्य समस्याका बारेमा जनस्वास्थ्य शिक्षा तथा सचेतिकरण गर्ने कार्यमा स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका हुन्छ।
(जोशी दत्तू स्वास्थ्य चौकी महाकाली नगरपालिका-९, दार्चुलामा कार्यरत छन्)