काठमाडौं- नर्स बिमला हायू यति बेला रोशी गाउँपालिकाको रोशी माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य नर्समा कार्यरत छिन्। उनी कार्यरत विद्यालय बीपी राजमार्गको मुल सडक छेउमै पर्छ। असोज ११ गतेदेखि सुरु भएको लगातारको वर्षाले रोशी खोलाले ठूलै क्षति गरेको छ। बीपी राजमार्गनै बगाएको छ। एकदुई वटा घर मात्र नभएर गाउँनै बगाएको अवस्था छ। मानिसहरु धेरै घाइते भए। बाढी पहिरोले १२ गते शनिबारदेखि राजमार्ग अवरुद्व गरेसँगै लामो यात्राका थुप्रै यात्रुहरु गन्तव्यमा नै नपुगी अलपत्र हुन पुगे।
बाढी पहिरोका कारण १३ गते दिउसो ३ बजेतिर नमोबुद्व ७ भकुण्डेबेसी चोकमा घाइतेहरु आकस्मिक रुपमा आइरहेको दृश्य उनले देखिन्। चोकमा मानिसहरुको बाक्लै भिड थियो। उनी पनि हतारिँदै त्यहाँ पुगिन्। त्यहाँ पुगेपछि उनले थाहा पाइन् केहि स्वास्थ्यकर्मीहरुले आफ्नै सक्रियतामा स्वंसेवकका रुपमा घाइतेको उपचार गरिरहेका रहेछन्। त्यसपछि उनले पनि आफ्नो परिचय दिइन् र खटिइन् सेवामा।
विद्यालय स्वास्थ्य नर्स बिमलाले उक्त समयमा कसरी सक्रिय भएर सेवा दिइन्? अवस्था कस्तो थियो? कतिले सेवा लिए? लगायतका विषयमा स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंसँग अनुभव साटेकी छिन्। नर्स बिमलाको अनुभव उनकै शब्दमा:
लगातार वर्षाका कारण आएको बाढीपहिरोले सबैतिर क्षति गरेको थियो। राजमार्ग वरपर त झन् त्यसको असर बढी नै देखिन्थ्यो। १३ गते दिउसो भकुण्डेबेसी चोकमा मैले केही मानिसहरु उभिएको देखें। त्यहाँ पुगेपछि थाहा भयो,१-२ जना स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा प्रदान गरिरहेका रहेछन् ।
मैले आफू पनि स्वास्थ्यकर्मी भएको र आवश्यक सहयोग गर्ने बताएँ । स्वास्थ्य सेवा दिन सुरु गरें। मैले स्वयंसेवकका रुपमा सेवा सुरु गर्दा नमोबुद्ध नगरपालिकाबाट २ जना स्वास्थ्यकर्मी र मन्थली यात्रामा हिँडेकी फार्मेसी अध्ययन गरेकी बहिनी समेत सेवामा खटिएकि थिइन्।
आकस्मिक रुपमा बिरामीको चाप बढ्नु तथा आवश्यक औषधिहरु प्रयाप्त नहुनाले मैले आफैंले केही अत्यावश्यक औषधि तथा औषधिजन्य सामग्री किनेर ल्याएँ। त्यो देखेर अरुले पनि त्यहाँ आवश्यक पर्ने औषधि किनेर सहयोग गर्न थाले। अधिक भिड भएपछि हामीले नगरपालिका, मेथिनकोट प्रादेशिक अस्पताल र भकुन्डे अस्पतालबाट समेत आवश्यक औषधिहरु मगायौं। ४-५ माहिला यात्रुहरुलाई स्यानिटरी प्याडको आवश्यकता भएकोले मैले उहाँहरुलाई पाँच प्याकेट आफैंले किनेर सहयोग पनि गरे।
दिउँसोको ३-४ बजेदेखि सामान्य स्वास्थ्य सेवा दिन सुरु गरेका हामीले रातको ११-१२ बजेसम्म पनि सडकमा नै उभिएर मैनबत्तिको सहायतामा सेवा दिएका थियौं।
मेथिनकोट प्रादेशिक अस्पताल, भकुण्डे अस्पताल र नमोबुद्ध नगरपालिका नजिकै भएकोले स्वास्थ्य सामग्रीको आपूर्तिमा भने खासै ढिलाइ भएन। उहाँहरुको पनि ठूलो सहयोग रह्यो।
घाइते तथा सेवा लिन आउने यात्रुहरुको यकिनको तथ्यांक नभएपनि त्यहाँ मानिसहरुको भीड आकस्मिक रुपमा बढ्दै गएको थियो। ३-४ जनाको समूहमा मात्रै रहेका हामीले करिब २-३ हजार जनालाई स्वास्थ्य सेवा दिएका थियौं।
स्थानीय उद्यमी तथा व्यवसायीले गरिदिए खानेकुराको व्यवस्था
त्यसक्रममा स्थानीय सरकार, स्थानी उद्यमी तथा व्यवसायीहरुले घाइते तथा यात्रुहरुका लागि खानेकुराको व्यवस्था गरिदिएका थिए। बाढीका कारण बिजुली सेवा अवरुद्द भएसँगै इन्टरनेट तथा टेलिफोन सेवा समेनभएको अवस्थामा एक जेनेरेटरको व्यवस्था गरी खानपानको व्यवस्था गर्ने स्थानीयहरुको सहयोगको प्रशंसागर्नैपर्छ।
सबै यात्रुहरुका लागि नजिकै रहेको नगरपालिकाको हल, चर्च तथा स्कूलमा बासस्थानको व्यवस्था समेत गरिएको थियो। कतिपयलाई घरमा अतिरिक्त कोठा भएका स्थानीयहरुले यात्रुहरुका लागि बस्ने व्यवस्था मिलाइदिएका थिए। करिब ५ हजार मानिसहरुलाई खाने रबस्ने व्यवस्था मिलाइएको थियो। असोज १४ बाट बाटो खुलेपछि यात्रुहरु गन्तव्य स्थलतर्फ लागेका थिए।
गम्भीर केश रेफर गर्दै सेवा
असोज १३ र १४ गते सेवा दिने क्रममा सामान्य चोटपटक लागेका करिब ४-५ हजार जतिलाई स्वास्थ्य सेवा दिएका थियौं। गम्भीर प्रकारका केशहरुलाई भने मेथिनकोट अस्पताल तथा निजी अस्पतालमा पनि रेफर गरिएको थियो।
स्ट्रोकका बिरामी, आस्थमा तथा ठूलो चोटपटकका केशहरुलाई रेफर गरिएको थियो। २-३ दिनदेखी खाना, पानी लगायतका आधाभूत कुराहरुको व्यवस्थापन हुन नसक्दा र चोटपटकले गर्दा यात्रुहरु शारीरिक र मानसिक रुपमा विक्षिप्त थिए।
विपत्तिमा सेवा गर्ने महानअवसर
आकस्मिक रुपमा नघट्नुपर्ने घटना भएपनि त्यसले आफूलाई जनताको सेवा गर्ने महान् अवसर दिलाएको छ।
आफ्नो जन्मदिनको दिन मध्यरातसम्म बढीपहिरोमा परेका यात्रुहरुलाई स्वास्थ्य सेवा दिन पाउँदा आत्मसन्तुष्टि मिलेको छ। विपद्को समयमा स्वास्थ्य सेवालाई प्रवाह गर्न स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुले सक्रिय भूमिका देखाउनु पर्ने र माथिल्लो निकायबाट खटाए मात्र परिचालन हुने मानसिकता हटाउन सके यस्ता विपतमा ठूलो योगदान हुने मेरो अनुभव रह्यो।
आजसम्म पनि बिजुली सेवा ठप्प रहेको भकुण्डेमा स्थिति भने सहज बनिसकेक छैन। त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाका अतिदुर्गम स्थानहरुमा सञ्चार, बिजुली र बाटो अवरुद्ध हुनाले त्यहाँका स्थानीयवासीहरुको अवस्था बारे यकिन हुन सकेको छैन । आवश्यक पहलको लागि सम्बन्धित निकायमा अनुरोध गर्न चाहन्छु।यस्ता विपतमा सबै जनाले आ-आफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।