आरसीटीलाई रुट क्यानल ट्रिट्मेन्ट पनि भन्ने गरिन्छ। क्यानल भन्नाले नशा भन्ने बुझिन्छ। दाँत भित्र दुई/तीन वटा तह रहेको हुन्छ। दाँतको माथिल्लो तह इनामेल, दोस्रो तह डेन्टिन तथा त्यो भन्दा भित्रको दाँतको नशा अर्थात् भल्भ हुन्छ। जब दाँतको यी तहमा इन्फेक्सन हुन जान्छ, यी तीनै तहका लागि उपचार आवश्यक पर्न जान्छ जसलाई रुट क्यानल ट्रिट्मेन्ट भनिन्छ। आरसीटीमा दाँतको बिग्रिएको नशालाई उपचार गरिन्छ।
दाँत उपचारको कुन अवस्थामा आरसीटी उपचार
सबैभन्दा पहिले दाँतको पहिलो तह अर्थात् इनामेललाई किराले खान्छ। त्यतिबेलासम्म बिरामीले दुखाइको खासै महसुस हुँदैन, जसका कारण उपचारमा कमै मानिस मात्रै आइपुग्छन्।
दाँतमा किरा लाग्ने क्रम दोस्रो तह अर्थात् डेन्टिनमा पुग्दा मानिसलाई थोरै दुखाइ तथा सिरिङ्ग हुने गर्छ। यस्तो अवस्थामा तातो वा चिसो खानेकुराको सेवन गर्दा दुखाइ महसुस हुने गरेको धेरै बिरामीहरुले बताउने गरेको पाइएको छ। यस्तो अवस्थामा बिग्रेको दाँतलाई सामान्य भर्न सके थप उपचारको आवश्यकता पर्दैन।
तर, दाँतको दुखाइ डेन्टिनमा पुग्दा समेत बिरामीहरु उपचारका लागि नआएको अवस्थामा दाँतको दुखाइ तेस्रो तह अर्थात् नशासम्म पनि पुग्छ। यस्तो अवस्थामा दुखाइ बढ्दै जाने भएकोले मात्रै बिरामी उपचारका लागि आइपुग्छन्। यस्तो अवस्थामा आरसीटी गर्नुपर्ने हुन्छ।
उपचार प्रक्रिया
दाँतको माथिल्लो तहलाई काटेर फालिन्छ। दाँत किराले खाएको स्थानबाट किरा निकालेर उपचार प्रक्रिया अगाडि बढाइन्छ। यस प्रक्रियामा प्रभावित नशालाई निकालेर सफा गर्नेदेखि ठूलो बनाउने र प्लास्टिकको नशा राख्नेसमेत गरिन्छ।
कति महँगो छ ?
अगाडिका दाँतमा एक मात्रै नशा हुने भएकोले यी दाँतलाई आरसीटी गराउँदा केही सस्तो पर्न सक्छ। तर पछाडितर्फका दाँतको नशा धेरै हुने तथा आरसीटी प्रक्रिया अगाडिको तुलनामा जटिल हुने भएकोले लामो समय र केही बढी खर्च लाग्ने हुन्छ।
पछिल्लो समय अत्याधुनिक इन्डोमोटर प्रविधिबाट आरसीटी गराइने भएकोले आरसीटी खर्चिलो उपचार भएको छ।
दाँत किराले खाएर जरा नै छुट्टिएको अन्तिम अवस्थामा उपचारमा आइपुग्दा भने दाँतलाई आरसीटी गरेर बचाउन समेत सकिँदैन। यस्तो अवस्थामा सबै दाँतलाई निकालेर इम्प्लान्ट गर्न सकिन्छ, जुन झन् खर्चिलो हुन्छ।
दाँतको हेरचाह अर्थात् स्याहार कसरी गर्ने ?
दाँतको स्याहारका लागि आवश्यक सबैभन्दा उपयुक्त कार्य भनेकै सही तरिकाबाट ब्रस गर्नु हो। दाँत बिग्रन नदिनका दिनको दुई पटक ब्रस गर्नु आवश्यक छ।
ब्रस गर्दा प्रयोग गरिने पेस्ट र ब्रसिङको सही तरिका पनि दाँतको स्याहारका लागि उत्तिकै महत्वपूर्ण हुन्छन्।
दाँत ब्रस गर्नु भन्नाले दाँत र गिजाको तहको बीचमा अड्किएको फोहोर तथा लेउलाई सफा गर्नु हो भन्ने बुझ्नुपर्छ। दाँतलाई बढी घोटेर सेतो बनाउन सकिन्छ भन्ने गलत बुझाइ पनि धेरैमा छ। यद्यपि, दाँतको रङ जन्मजात रुपमा नै निर्धारण भएको हुन्छ।
उमेर बढ्दै जाँदा दाँतको माथिल्लो तह अर्थात् इनामेल कम हुँदै जाने र भित्री तह देखिँदै जाने तथा दाँतको चम्किलोपना कम हुँदै जानुलाई स्वभाविक रुपमा लिइन्छ।
दाँत ब्रस गर्ने सही तरिका
बिहान उठ्नासाथ वा खाना खाइसकेपछि दिनको दुई पटक ब्रस गर्नुलाई राम्रो मानिन्छ। यद्यपि, जतिबेला ब्रस गरे पनि तरिका भने सही हुनु आवश्यक हुन्छ।
फ्लोराइड भएको टुथपेष्टको आवश्यकता पर्छ। धेरै घोटेर ब्रस गर्ने बानी भएकाहरुले नरम खालका ब्रसको प्रयोग गर्नुपर्छ।
फ्लोराइडयुक्त टुथपेष्ट केराउको दाना जति लिने र ब्रसलाई ४५ डिग्री ढल्काएर पछाडिबाट ब्रस गर्नुपर्ने हुन्छ।
माथिको सतहलाई भने सिधा ब्रस गर्नुपर्छ। गिजाको भागलाई समेत छुने गरी ब्रस गर्नुपर्ने हुन्छ।
अहिले बिरामीहरुले डेन्टल फल्सको प्रयोग कम मात्रै गर्ने गरेका छन्। दुई दाँतको बीचमा अड्किएको खानेकुरालाई सफा गर्नका लागि ब्रसले मात्रै काम गर्दैन। त्यसका लागि डेन्टल फल्सको प्रयोग आवश्यक हुन्छ। जसको प्रयोग गर्नका लागि दन्त चिकित्सकसँग सहयोग लिन सकिन्छ।
दाँत बिग्रनुमा खानपानको भूमिका
दाँत बिग्रनुमा खानपान शैलीको भूमिका महत्वपूर्ण छ। सामान्यतया गुलियो खाएपछि दाँत बिग्रन्छ भन्ने आम बुझाइ छ। तर गुलियो खाँदैमा दाँत बिग्रने भने होइन।
हामीले खाएका खानेकुरा चपाइसकेपछि सुगरमा नै परिणत हुने गर्छ। यदि खानेकुरा दाँतको बीच भागमा अड्किएमा कुहिएर त्यसले अम्ल बनाउँछ।
धेरै गुलियो पदार्थको सेवन गर्नेहरुले पनि सही तरिकाले दाँतको स्याहार तथा ब्रस गर्न सकेमा दाँतमा समस्या आउँदैन।
बालबालिकालाई मोबाइल दिएर खाना खुवाउँदा बिग्रन सक्छ दाँत
आजकाल बालबालिकालाई मोबाइल वा ल्यापटप दिएर खाना खुवाउने चलन बढ्दो छ। यसरी खाना खुवाइरहँदा बच्चाको मुखमा खाना लिएर बस्ने बानी हुन्छ। जसले मुखमा सानोसानो लेउ उत्पादन गराउँछ। यदि खाना लगत्तै ब्रस नगराएमा त्यस्ता बच्चाको दाँतमा समस्या आउन सक्छ।
त्यस्तै दूधे बालकको दूध खाइसकेपछि मुख सफा र नरम टालो पुछ्ने गर्नुपर्छ।
दाँत बिग्रन नदिन के गर्ने?
–सही तरिकाले दिनको दुई पटक ब्रस गर्ने।
–कोक फेन्टा लगायतका पेय पदार्थको सेवन एकदमै कम गर्ने।
–दन्त चिकित्सकको सल्लाहमा मात्रै माउथ वासको प्रयोग गर्ने।
–दाँत सँगै जिब्रो सफाइ गर्ने।
–जंकफुडको प्रयोग कम गर्ने।
–दाँतमा कुनै समस्या आउनसाथ दन्त चिकित्सक कहाँ जाने।