नेपालमा स्वास्थ्य संस्थाहरुमा डिजिटल रेकर्ड, टेलिमेडिसिन लगायतका सेवा सुरुवात र विकासको चरणमा छ। डिजिटलाइजेसन नेपालमा उपयोगी र आवश्यक छ भनेर हामीलाई कोभिडले पनि सिकाएको हो। कोभिडको समयमा सबै डाक्टर, नर्सले स्वास्थ्य संस्थाबाट सेवा दिन नसक्ने अवस्था, बिरामी अस्पताल जान नसक्ने अवस्था आयो। यो समयमा नेपाल चिकित्सक संघले पब्लिक हेल्थलाई मध्यनजर गरेर टेलिमेडिसिन सेवा चलाएको थियो।
हामीले अमेरिका नेपाल फाउण्डेसनसँगको सहकार्यमा विभिन्न संघ–संस्थासँग मिलेर टेलिमेडिसिन चलायौँ। उपचारको पहुँचमा पुग्न नसेकाहरुलाई प्रविधिको माध्यमबाट पहुँचमा पुग्ने माध्यम पनि बन्यो। टेलिमेडिसिन सेवा नेपाल जस्तो भौगोलिक अवस्थिति भएको देशमा प्रभावकारी पनि हुनसक्छ। क्यान्सरको केयरमा बिरामी केन्द्रमा आउन नसक्ने अवस्थामा प्रदेश अस्पतालमै भएका बिरामीलाई पनि केन्द्रका विशेषज्ञले टेलिमेडिसिनबाटै परामर्श लिन सकिने अवस्था भयो। यसलाई चिकित्सकहरुको अध्ययन/अध्यापनमा पनि प्रयोग गर्न सकिने भयो। संसारको कुनै पनि क्षेत्रमा हुने सर्जरीलाई लाइभ डेमोस्टे«सन गर्ने टेलिमेडिसिनको प्रयोग भयो।
अहिले विभिन्न एपमार्फत चिकित्सकहरुसँग अपोइन्टमेन्ट लिएर सेवा लिने पनि गरिन्छ। यसमा नेपाल चिकित्सक संघले कानुनी जटिलता र बिरामीलाई चिकित्सकसँग भेटेर एक्जामिनेसन गर्दा हुने फाइदामा कमी आउन जस्ता विषय समेटेर यसको स्पष्ट नीति बन्नुपर्छ भन्ने धारणा राख्दै आइरहेको छ।
अहिले अस्पताल भित्र डिजिटलाइज गर्न जरुरी छ। अहिले केहीमा सुरु पनि भएको छ। तर अधिकांश अस्पतालमा बिलिङ सफ्टवेयर मात्र छन्। यसमा स्वास्थ्य मन्त्रालयले काम पनि गरिरहेको छ जस्तो लाग्छ। हरेक अस्पतालको डाटा कलेक्सन हुने केन्द्र हुनुपर्छ। कुनै बिरामीको नेसनल आईडी नम्बर इन्ट्री गरेपछि बिरामीको सबै डाटा आउने सिस्टम हुनुपर्छ। अस्पताल डिजिटलमैत्री भएमा वातावरणमैत्री पनि हुने भयो। किनकि, सेवा कागजमुक्त हुने भयो। कुनै बिरामीको हिस्ट्री डिजिटल रुपमा राखियो भने बिरामीले कागजपत्र हराउला भन्ने चिन्ता पनि हुँदैन।
कुनै बिरामी २० वर्षपछि उपचारमा आयो भने पनि उसको मेडिकल हिस्ट्री डाक्टरसँग हुने भयो। त्यसलाई हामीले सेन्टर पुलमा बनायौँ भने हिजो बिरामी काठमाडौंमा आएको थियो भने भोलि जुम्लामा पनि उपचार गर्न सक्ने भयो। यो अवस्थामा सेन्टरमा डाटा सिस्टम बलियोसँग राखिएमा जुम्लामा उपचार गर्दा उसको मेडिकल हिस्ट्री कम्प्युटरबाट सजिलै थाहा पाउने अवस्था हुन्छ।
केन्द्रकै अस्पतालमा पनि सबै सेवामा डिजिटलाइज भएमा बिरामीले सेवा लिँदा हरेक ठाउँमा रिपोर्ट लिनकै लागि लाइनमा बसिरहनुपर्ने अवस्था आउँदैन। चिकित्सकले सिस्टमबाटै रिपोर्ट हेर्न सक्ने भए। बिरामी अस्पतालमा अनावश्यक लाइन बसिरहनुपर्ने अवस्था भएन। चिकित्सकले पनि हरेक ठाउँमा फर्म भराइरहन परेन। यसले बिरामी, चिकित्सक र अस्पताल सबैलाई फाइदा हुन्छ। भोलि कुनै केसमा मेडिकल काउन्सिललाई, चिकित्सा शिक्षा आयोग वा स्वास्थ्य मन्त्रालयलाई आवश्यक प¥यो भने पनि सहज हुने भयो। बिरामी बाहिर जाँदा बिरामीले आफ्नो मेडिकल रेकर्ड फाइल बोकेर हिँड्नु पर्दैन। आईडी नम्बर भए पनि मेडिकल हिस्ट्री पाउने भए।
अहिले उपचारमा पनि धेरै डिजिटलाइज भएको छ। रोबटिक सर्जरी, सिटी मेसिनहरु सबै डिजिटलाइज गरेर सफ्टवेयरमार्फत रिपोर्टहरु निकाल्न सकिने तथा एआईको प्रयोगहरु बढ्दै गएको छ। अर्को अनुसन्धानका लागि डाटा रिर्जभ, एनलाइसिस, सर्च गर्ने कुरामा पनि डिजिटलाइजेसनले सहज बनाएको छ।
अहिले नेपालमा कति चिकित्सक छन् भन्ने तथ्यांक विभिन्न निकायसँग फरकफरक छ। त्यही तथ्यांकलाई पनि डिजिटलाइज गर्न नसक्दा तथ्यांक नै फरक भएको हो। चिकित्सकले कुनै फर्म भर्नुपर्ने भएका अनलाइन, कागजमा त्यो पनि पटकपटक भर्नुपर्छ। जहाँ जति पटक सेवा लिन गयो त्यति पटक फर्म भर्नुपर्ने बाध्यता पनि अन्त्य हुन्छ। त्यसैले डिजिटलाइज सेवा जरुरी छ।
डिजिटलाइज भएका अस्पतालहरुको अस्पताल व्यवस्थापन पनि राम्रो छ। अस्पताल व्यवस्थापनको लागि पनि सेवा डिजिटलाइज हुन आवश्यक छ।
यसले गर्दा बिरामीले पनि सही तरिकाले जानकारी पाउँछन्। हामी चिकित्सकले पनि कति बिरामी आए, कस्ता बिरामी आए भनेर भोलिका दिनमा राम्रो अध्ययनको स्रोत पनि बन्छ।
बिरामीको सबै अवस्था डाटामा समावेश भयो भने भोलि कुन पालिकामा कस्ता रोगका बिरामी छन् ?, कति छन् ? भन्ने थाहा हुन्छ। स्वास्थ्य नीति बनाउँदा कुन क्षेत्रमा, कुन रोगमा फोकस गर्ने भन्ने कुरा तय गर्न सहज हुन्छ। त्यसैले डिजिटलाइजेसन स्वास्थ्यमा अति आवश्यक विषय हो। अहिले भइरहेको अंग प्रत्यारोपणको विषयमा अंग दान गर्नेहरुको विवरण पनि डिजिटलाइज हुने भयो भने ब्रेनडेथ भएका बिरामीको अंगको सदुपयोग गर्न पनि सहज हुनेछ।
डिजिटलाइजेसनले सेवा विस्तारका लागि पनि महत्वपूर्ण हुन्छ। अस्पताल पूर्ण रुपमा डिजिटलाइज हुन चिकित्सकको भूमिका पनि महत्वपूर्ण हुन्छ। सिनियर पुस्ताहरु केही प्रविधिमा अभ्यस्त हुनुभएको छैन भने उहाँहरुको लागि झन्झटिलो हुनसक्ला तर उहाँहरुको मातहतमा रहने इन्टर्न, रेजिडेन्ट वा मेडिकल अफिसरमार्फत गर्न सकिन्छ। तर सबै अग्रज चिकित्सकहरुमा यो समस्या छैन। उहाँहरु डिजिटलाइज मनपराउने पनि हुनुहुन्छ। यस्तै नयाँ आउने चिकित्सकले पनि कोर्षमा डिजिटलाइजेसनको विषयमा पढेका हुँदैनन्। उनीहरुका लागि एक दिनको भए पनि डिजिटलाइज सेवाको विषयमा नेपाल चिकित्सक संघले तालिम दिने पनि सोचेका छौँ।
यो पनि
डिजिटल हेल्थ: संकुचित नीति, असरल्ल अभ्यास