धनगढी– सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा क्यान्सर जाँच सेवा युनिट सञ्चालनमा ल्याइएको छ।
मंगलबार चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले युनिट सञ्चालनमा ल्याएका हुन्।
अस्पतालका उप–निर्देशक डाक्टर उमेश नेपालको नेतृत्वमा खटिएको टोलीले अस्पतालमा पहिलो दिन एक सय २० जनालाई सेवा दिएका छन्।
मेडिसन तर्फ १० जना, सर्जरी २१ जना, नाक, कान तथा घाँटीका १८ जना, भिआइए टेस्ट ५२ जना लगायतका सेवा लिएको अस्पतालका सूचना अधिकारी वेद प्रकाश जोशीले जानकारी दिए ।
‘अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्बन्धि कार्यविधि अनुसार बीपी मेमोरियलले महिनामा दुई पटक सो यूनिटबाट सेवा दिने छन्,’ उनले भने, ुबिहान ९ बजेदेखि शुरु भएको युनिटमा नाक, काँन, घाँटी, मुख एवं महिलाहरुको पाठेघर र स्तन सम्बन्धि विभिन्न प्रकारका क्यान्सर स्क्रिनिङ्ग गरिएको छ।’
उनले क्यान्सर रोग लागि उपचार गराइरहेका, फलोअपमा रहेका र क्यान्सर रोगको शंका लागेका सेवाग्राहीहरुलाई सहज सेवा प्रदान गर्न युनिट सञ्चालनमा ल्याइएको बताए।
बीपी मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सातवटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि अनुसार कर्णाली र सुदूरपश्चिममा सेवा सुरु भइसकेको र अबको केही दिनमा गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सेवा सुरु हुने जानकारी दिए।