काठमाडौं- नेपालमा गत आर्थिक वर्षमा देशभरका सूचीकृत स्वास्थ्य संस्थाबाट एक लाखभन्दा बढीले सुरक्षित गर्भपनत सेवा लिएका छन्।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले दशौं राष्ट्रिय सुरक्षित गर्भपन सेवा दिवसका अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१मा एक लाख पाँच हजार महिलाले सूचीकृत स्वास्थ्य संसथाबाट सुरक्षित गर्भपतन सेवा लिएका हुन्।
महाशाखाका अनुसार गत वर्ष सुरक्षित गर्भपतन सेवा लिनेमध्ये ६ हजार ९ सय १ जना २० वर्ष मुनिका रहेका छन्। बाँकी ९८ हजार १९७ जना २० वर्षाभन्दा माथिका हुन्।
असोज ६ गतेसम्मको तथ्यांक अनुसार नेपालमा १० हप्तासम्मको गर्भको औषधिको प्रयोगद्वारा गरिने गर्भपतन सेवाका लागि एक हजार ६ सय ८३ स्वास्थ्य संस्था र चार हजार दुई सय ३५ स्वास्थ्यकर्मीहरु, १० हप्तासम्मको औषधीको प्रयोग र उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि ७३० स्वास्थ्य संस्था र एक हजार ४१९ स्वास्थ्यकर्मीहरु, १२ हप्तासम्मको उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि ३५० स्वास्थ्य संस्था र दुई हजार ८६० चिकित्सिक तथा स्वास्थ्यकर्मीहरु र १२ हप्ताभन्दा माथीको गर्भपतन सेवाका लागि ६३ वटा स्वास्थ्य संस्था र एक सय ८७ जना चिकित्सकहरुलाई सुचिकृत गरिएको छ।
नेपालमा अझै पनि सूचीकृत स्वास्थ्य संस्थाभन्दा पनि सूचीकृत नभएका र असुरक्षित तरिकाले गर्भपतन गराउनेको संख्या धेरै नै रहेको बताइएको छ। यस्तो संख्यामा कमी ल्याउन सरकारले सूचीकृत संस्था र जनशक्तिको संख्या बढाइरहेको महाशाखाले जनाएको छ।
'सबै सरोकारवालाहरुको लामो प्रयासको फलस्वरुप यस क्षेत्रका केही महत्वपूर्ण लक्ष्यहरु हासिल गर्न सफल भएता पनि अझै धेरै गर्न बाँकी छ,' महाशाखाका निर्देशक डा विवेक लालले भने, 'यसका लागि हाम्रो सहकार्य र यस प्रति सबैको एक्यबद्धताको खाँचो छ। सम्मानजनक प्रजनन् स्वास्थ्य तथा गर्भपतन अधिकार प्रति हाम्रो समर्पण दृढ छ। र, यो सेवा सबैको लागि उपलब्धता, पहूँचयोग्य, स्वीकार्य र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध छ।'
उनका अनुसार सुरक्षित गर्भपतन सेवाका कारण मातृ मृत्युमा उल्लेख्य सुधार आएको छ। त्यसैगरी असुरक्षित गर्भपतनका कारण महिलाहरुको स्वास्थ्यमा हुने प्रजनन् रुग्णताको न्यूनिकरण गर्न पनि सफल भएको छ। नेपालमा प्रति एक लाख जीवित जन्ममा सन् १९९६ मा ५३९ मातृ मृत्यु थियो। सन् २०२१ मा उक्त संख्या घटेर १५१ भएको छ।
असोज १० गते नेपालमा तत्कालिन मुलुकी ऐन को ११ औं संशोधनबाट गर्भपतनलाई कानुनी अधिकारको रुपमा स्थापना गरेको दिन हो। यहि दिनको सम्झना गर्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको नेतृत्वमा यस क्षेत्रमा कार्यरत संघ संस्थाहरुसँग सहकार्य गर्दै विगत १० वर्षदेखि असोज १० गते विभिन्न कार्यक्रमहरुको आयोजना गरी राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसदेशव्यापी रुपमा मनाउदै आइएको छ। यो वर्ष 'सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र एक्यबद्धता' भन्ने मूल नाराका साथ दशौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ।
नेपालको संविधानले प्रजनन् स्वास्थ्य अधिकार सहित गर्भपतनको अधिकारलाई मौलिकहकको रुपमा अंगीकार गरी यसको सम्मान, संरक्षण र परिपूर्ति गर्दै सुरक्षित, गुणस्तरिय, सर्वसुलभ तथा पहुँचयोग्य सेवा बनाउने सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को उद्देश्य रहेको छ। जनस्वास्थ्य सेवा ऐन २०७५ र नियमावली २०७७ ले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा, परामर्श तथा प्रेषण र गर्भपतन पश्वात सेवा तथा आवश्यक परामर्श र परिवार नियोजन सेवालाई आधारभूत स्वास्थ्य सेवामा परिभाषित गरेको छ।