खिमबहादुर खड्का अहिले गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक छन् । उनी कास्कीकै एउटा स्वास्थ्य चौकीमा ग्रामीण स्वास्थ्य कार्यकर्ता (अहेब) थिए कुनै बेला । दुई वर्ष जति अहेबका रुपमा काम गर्दा उनी स्थायी भइसकेका थिए । जागिर स्थायी भए पनि मनमा थिर भने थिएन !
खड्का फेवाताल जस्तै त्यहीँ जमेर बसेको भए यतिबेला ‘रिटायर्ड’को तयारी गरिरहेका हुन्थे । तर उनले पाठ सेतीबाट सिके । लुकेर भए पनि सागरतर्फ नै अघि बढ्नुपर्छ भन्ने लाग्यो । यो जागिर चटक्कै छाडेर जनस्वास्थ्य पढ्न बाहिरिए उनी।
सरकारी सेवामा खड्काको दोस्रो इनिङ सुरु भएको धेरै भएको छैन । त्यसैले सरकारी प्रणालीले सार्दै आएको ‘कर्मचारीजन्य सरुवा रोग’बाट उनी संक्रमित भइसकेका छैनन्।
विभिन्न सामाजिक संस्थामार्फत लामो समय देशका विभिन्न क्षेत्रमा सेवा दिएपछि उनी सरकारी स्वास्थ्य प्रणलीमै फकिर्एका हुन् । खुला प्रतिस्पर्धाबाट सिधै ११औं तहमा नाम निकालेर उनी सरकारी सेवामा प्रवेश गरेका हुन्।
२०७२ साल भदौ १६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत प्रमुख जनस्वास्थ्य प्रशासक ११औं तहमा उनको नियुक्ति भयो । सरकारी प्रणालीमा प्रवेश गर्ने उमेर घर्किन जम्मा एक महिना बाँकी रहँदा उनले फेरि सरकारी सेवामै फर्किने अवसर पाएका हुन् । उनी यो संयोगलाई अवसरमा बदल्न चाहन्छन् । सके केही परिवर्तनको अनुभूति दिलाउन उनको सक्रियता रहनेछ, त्यति हुन नसके पनि ‘आफ्नो तर्फबाट अधिकतम प्रयास गरेकै हो’ भन्ने मिठो अनुभव सँगाल्ने उनको चाहना छ।
जीवनमा जहाँ पुगे पनि स्वास्थ्यभन्दा पर नपुग्ने तय उनले ११ वर्षको उमेरमै गरिसकेका थिए । बाग्लुङको गलकोट नगरपालिकामा २०३३ सालमा जन्मिएका उनी ११ वर्षको उमेरमा गम्भीर बिरामी परे।
‘हालको गलकोट नगर अस्पताल बिरामीका रुपमा १४ दिनसम्म उपचार गराएको मलाई सम्झना छ । त्यतिबेला म कक्षा ४ मा अध्ययनरत थिएँ,’ उनले भने । कुनै हुर्किरहेको मष्तिस्कमा गहिरो गरी छाप प¥यो, ‘मान्छेको पीडा हरण गर्ने पेसा त स्वास्थ्य रहेछ !’ त्यसका लागि पढाइमा मिहिनेत जरुरी भएको उनले निकटस्थबाट सुने । २०५० सालमा उनले प्रथम श्रेणीमा एसएलसी पास गरे । जुन उनको गाउँकै लागि गर्वको कुरा थियो।
गणित राम्रो भएको प्रथम श्रेणीमा पास भएको भन्नेबित्तिकै हरेकले दिने सल्लाह हुन्थ्यो, डाक्टर, पाइलट वा इन्जिनियर बन्नुपर्छ । ‘मैले पनि एमबीबीएसकै लागि पोखराको पृथ्वीनारायण क्याम्पसबाट आइएस्सी अध्ययन गरें । एमबीबीएसमा निकै कम कोटा हुन्थ्यो । थोरै विद्यार्थीले अवसर पाउँथे । पहिलो पटक ती थोरैमा म पर्न सकिनँ,’ खड्काले भने, ‘बीएस्सी अध्ययनका लागि थप एक वर्ष कुर्नुपर्ने भयो । भर्खरै सीटीईभीटीले ग्रामीण स्वास्थ्य कार्यकर्ता (अहेब)का लागि एक वर्षे कोर्सको अवधारणा ल्याएको थियो । त्यो एक वर्ष त्यता उपयोग गर्ने निर्णय लिएँ।’
उनी उक्त विषयको पहिलो ब्याचको प्रथम विद्यार्थी बने । त्यतिबेला ९१.८ प्रतिशत अंकसहित देशभरकै विद्यार्थीमा अब्बल ठहरिए । अध्ययन सकिएलगत्तै उनले स्थायी जागिर प्राप्त गरे । उनको मन यत्तिमै बुझेको थिएन । त्यसैले एमबीबीएसको प्रवेश परीक्षाका लागि समेत तयारी गरिरहेका थिए । फेरि दिइएको परीक्षामा पनि उनले एमबीबीएसको अवसर पाएनन् । त्यसपछि उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा जनस्वास्थ्यमा स्नातक अध्ययन गर्ने निर्णय लिए । उनले उक्त जागिर छाडिदिए । सन् २००१ देखि २००४ सम्म उनले त्यहाँ अध्ययन गरे।
त्यसपछि उनी स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसकारी संस्थामा आबद्ध भए । सबैभन्दा पहिले उनले केयर नेपाल नामक संस्थामा काम गरे । त्यहाँ एक वर्ष काम गरेपछि डडेल्धुरा र डोटीमा बालबालिकाको स्वास्थ्यमा केन्द्रित कार्यक्रममा काम गरे । उनी भन्छन्, ‘त्यतिबेला नेपालको स्वास्थ्य क्षेत्रका आवश्यकता तथा पद्धति लगायतमा धेरै सिक्ने मौका पनि पाएँ । बाल तथा मातृ मृत्युदर घटाउने लक्ष्यका साथ हामीले काम गरेका थियौं।’
त्यसपछि उनी जीआईजेडमा जोडिए । नेपालगञ्जमा प्रजनन तथा किशोर–किशोरी स्वास्थ्यको क्षेत्रमा काम गर्ने कर्मचारीको माग भएको सूचना उनले पाए । उक्त संस्थासँग जोडिएर उनले करिब साढे २ वर्ष किशोर–किशोरीको स्वास्थ्यमा काम गरे । त्यहाँ किशोर–किशोरीको स्वास्थ्यलाई लिएर केही सिर्जनशील काम पनि भए । त्यसमा एउटा ८ प्रकारका नमुना बनाएर विद्यालय र स्वास्थ्य संस्थाहरुमा पठाउने कार्य एउटा हो।
खड्काले भने, ‘स्वास्थ्य संस्थाहरुलाई कसरी किशोर–किशोरीमैत्री बनाउन सकिन्छ भन्ने कुराको सुरुवात त्यतिबेला नै भएको थियो । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका आमाहरुको प्रजनन स्वास्थ्यको क्षेत्रमा धेरै नै काम गर्नुपर्ने अवस्था थियो । सरकारी तथा गैरसरकारी दुवै मिलेर हामीले धेरै नै काम गरेका थियौं ।’
त्यही क्रममा उनले जनस्वास्थ्यमा स्नातकोत्तर अध्ययन गर्ने छात्रवृत्ति पाए । दुई वटा छात्रवृत्ति एकैपटक पाएका उनले स्पेनको बिलबायोमा ६ महिनाको कोर्स गरेपछि हंगेरी तथा लुथानियामा ‘सस्टेनेबल रिजनेबल हेल्थ सिस्टम कोर्स’मा दुई वर्षे कोर्स गरेर नेपाल फर्किए।
नेपाल संघीय संरचनामा जाँदै थियो । स्पेन संघीय शासनमा एकदमै राम्रो अभ्यास गरेको मुलुक थियो । स्वास्थ्य प्रणालीलाई बलियो बनाउनका लागि त्यहाँका सरकारले गरेको प्रयास उदाहरणीय थिए । नेपाल संघीय शासन प्रणालीमा जाँदा स्वास्थ्य क्षेत्रले पनि ठूलो उपलब्धि हासिल गर्ने उनको अपेक्षा थियो । अहिले उनी संघीय संरचनाकै एउटा प्रदेशको नेतृत्व तहमा छन् । प्रयास जारी राखेका छन्।
नेपाल फर्किएपछि सुरुमा नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रममा धनकुटाको स्वास्थ्य निर्देशनालयमा बसेर काम गरे । ‘त्यहाँ बसेर काम गरिरहँदा सूचना र संयन्त्रलाई कसरी वस्तुपरक बनाउन सकिन्छ, कसरी सुधार गर्न सकिन्छ, सरकारी प्रणालीलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित थियो,’ उनले भने।
त्यसपछि सेभ द चिल्ड्रेनमा बसेर किशोर–किशोरीको प्रजनन स्वास्थ्यका लागि तीन वर्ष काम गरे । त्यसपछि भने सरकारी सेवामा पुनः प्रवेशको अवसर प्राप्त भयो उनलाई । २०७२ साल भदौ १६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत प्रमुख जनस्वास्थ्य प्रशासक ११औं तहमा उनी खुला प्रतिस्पर्धाबाट आए ।
लामो समय गैरसकारी क्षेत्रमा काम गरेर सरकारीमा आउनुको कारण खुलाउँछन्, ‘सरकारी सेवामा प्रवेश गरेपछि सम्पूर्ण सहयोगी संघ संस्थाहरुको सहयोग लिन तथा परिणाम देखाउन सकिन्छ भन्ने लाग्यो।’
खड्का अहिले त्यही उपाय अवलम्बन गरिरहेका छन् । बाहिर बसेर सोचे जस्ता प्रणाली भित्र बसेर काम गर्न सहज नभएको उनको अनुभव छ । तर हिम्मत हार्नेहरुमा उनी पर्दैनन् । त्यसैले निरन्तर सक्रिय छन्।
उनले सरकारी सेवा दोस्रो इनिङको सुरुवात नेपालगञ्जबाट गरे । जहाँ मातृ तथा शिशु मृत्युदर अझै उच्च छ । उनले त्यहाँ काम सुरु गर्ने बित्तिकै त्यसैमा केन्द्रित भए । विभिन्न सरोकारवाला निकायसँग समन्वय गरे । दुई वर्षको निरन्तर प्रयासपछि प्रतिवर्ष २२ देखि २४ मा रहेको मातृशिशु मृत्युदर ८÷९ को संख्यामा झरेको उनी बताउँछन्।
संघीयताप्रति खड्काको रुचि थियो । त्यसैले उनी त्यसका लागि पहिलेदेखि नै तयार थिए । ‘नेपाल संघीयतामा गएसँगै त्यहाँका ८ वटै स्थानीय तहलाई हामीले स्वास्थ्य क्षेत्रको सम्पूर्ण उपलब्धि र चुनौती हस्तान्तरण गरेका थियौं,’ उनले भने, ‘करिब ३ दिनको लामो छलफलपछि हामी स्वास्थ्य क्षेत्रमा स्थानीय तहले गर्नुपर्ने कामको योजना हामीले त्यतिबेला बनाएको याद ताजै छ ।’ जति सक्दो चाँडो स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई दिँदा प्रभावकारी हुने उनको बुझाइ थियो ।
संघीयता कार्यान्वयनको सुरुवातमै उनी स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा आइपुगे । त्यतिबेला केही औषधि बुटवलमै रहेको, भण्डारणका लागि आफ्नै स्टोर नभएको, पुरानो व्यवस्थाबाट नयाँमा जानुपर्ने, कार्यालय नै बन्द भएको, टेन्डरको पुरानो शैली लगायत थिए । आफ्नो तर्फबाट त्यसमा उनले प्रयास गरे । अहिले धेरै समस्या हल भइसकेको खड्का बताउँछन्।
गण्डकी प्रदेशमा स्वास्थ्य सेवा दिन थालेसँगै स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणालीको लागू गर्नतर्फ उनले पहल थाले । ‘परिवारको विवरण इलेक्ट्रोनिक माध्यममा जानुपर्नेमा मेरो सुरुदेखि नै जोड रहेको थियो,’ उनले भने, ‘आपूर्ति केन्द्रमा मेरो सरुवा भएसँगै प्रविधिसँग काम गर्ने अवसर मलाई मिल्यो । ई–बिडिङ सुरुवात गरियो।’
खड्का त्यसपछि तालिम केन्द्रमा पुगे । त्यो बेलासम्म कुनै प्रदेश अन्तर्गत कुन तालिम कसले लिएको छ ?, कहाँ काम गरिरहेको छ ? कुनै रेकर्ड थिएन । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको अगुवाइमा सातै प्रदेशमा टे«निङ इन्फरमेसन मेनेजमेन्ट सिस्टम सुरु भयो । त्यसलाई उच्च प्राथमिकतामा राखेर पूरा गरेको उनी बताउँछन् । स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीका ६८ फाराम र प्रतिवेदनलाई ६ सय ९ स्वास्थ्य संस्थामा सम्पूर्ण स्थानीय तहको हार्डवेयर, नेटवर्क रहेको उनी बताउँछन्।
गण्डकी प्रदेशले डिजिटल हेल्थको अवधारणा अनुसार काम सुरु गरिसकेको खड्का उनी बताउँछन् । प्रदेशका करिब १४ लाखको फङ्सनल हेल्थ कार्ड आईडी बनाइसकेको उनी बताउँछन् । उक्त आईडी स्वास्थ्य संस्थामा इन्ट्री गरेको अवस्थामा बेसिक प्रोफाइलका लागि टाइप गर्नुपर्दैन । कोड हान्नासाथ जानकारी आउने भएपछि स्वास्थ्यकर्मीलाई समेत सहज भएको छ । योबाहेक अन्य क्षेत्रमा समेत सकेसम्म डिजिटल हेल्थलाई प्राथमिकता दिएको खड्काको भनाइ छ।