नर्स चण्डिका अधिकारीले स्वास्थ्यसेवी बनेर नेपालको उत्तर–दक्षिण सीमाना छिचोलिसकिन्– मुस्ताङदेखि सर्लाहीसम्म। स्वास्थ्य सेवाका क्रममा उनी हिमालको हिउँले घर भित्रै थुनिएकी छिन्। र, तराईमा आएको बाढीले पनि।
प्राथमिकतामा सेवा राख्ने चण्डिकाले विविध भूगोलको अनुभवलाई अवसरका रुपमा लिएकी छिन्। किनभने, उनको करिअर यात्राको ग्राफ नै बक्र छ र जसले सफलता, खुसी र अवसर सिधा रेखामा सयर गर्दैनन् भन्ने बोध गराएको छ।
उनी आफू पुगेका स्वास्थ्य संस्थाका बिरामीको घाउमा मल्हमपट्टी लगाउनुमै आफूलाई सीमित राख्दिनन्, संस्थामा रहेको स्रोत–साधनको अभावलाई समेत पूरा गर्न लागिपर्छिन्। उनको ड्युटी समय–सीमाले बाँध्दैन, आवश्यकताले निर्धारण गर्छ। त्यसकारण उनी जहाँ–जहाँ पुगेकी छिन्, त्यहाँ उनले आफू हुनुको अर्थ बुझाएर निस्किएकी छिन्।
स्वास्थ्यकर्मी बन्ने अठोट
द्वन्द्वको चपेटामा उनको परिवार पनि प¥यो। उनका बुवा त्यही द्वन्द्वमा परेर मरणासन्न अवस्थामा पुगे। बुवाको उपचारको लागि घरखेत बेचियो तर सञ्चो भएन। बुवाको उपचारका क्रममा स्वास्थ्यकर्मीले गरेको व्यवहार उनको कलिलो दिमागमा यसरी गढ्यो कि एक दिन त्यस्तै बन्ने इख पलायो।
इखले मात्रै केही हुनेवाला थिएन। घरको धुरी बुवाको स्वास्थ्य अवस्था नाजुक थियो। जेठो सन्तानको रुपमा जन्मिएकी चण्डिकाको पढाइमा त्यसको पनि असर प¥यो। अहिलेका बालबालिकाले एसएलसी दिने उमेरमा उनी ८ कक्षामै थिइन्। घरको जेठो सन्तानको हैसियतले घरको सबै कामकाजका साथसाथै भैंसी, बाख्राको हेरचाह र खेतीपाती सहयोग आदिमा समय जान्थ्यो।
पढाइमा खासै प्रगति हुने अवस्था नभएपछि घरको आर्थिक अवस्थालाई भरथेग गर्न उनले विदेशिने सोच बनाइन्। सरकारले द्वन्द्वपीडितका परिवारलाई निःशुल्क विदेश पठाउने अफर ल्याएको थाहा पाइन्। कक्षा ८ पढिरहेकी उनले नागरिकता र पासपोर्ट बनाइन्। हाउस किपिङ तालिम लिइन्। भाषा तथा खाना बनाउने तालिम लिइन्। भिसा आउने समय भएको थियो। त्यही बेला इराकमा १२ जना नेपाली मारिए। सो घटनापश्चात् भिसा लगाउने म्यानपावर नै बन्द भयो। उनी रोकिइन्।
विदेश जाने बाटो बन्द भएपछि उनका बुवाले सिन्धुली ल्याएर कक्षा ९ मा भर्ना गरिदिए। जसोतसो एसएलसी सकाइन्। एसएलसीपछि बुवाले अहेब तालिमका लागि भर्ना गरिदिए। त्यसको ७ महिनामा सिन्धुलीमै अनमीको पढाइ सुरु भयो। उनी सीएमए छाडेर अनमी पढ्न थालिन्।
अनमी पास भएलगत्तै राष्ट्रिय योजना आयोगले स्वयंसेवक भनेर आधारभूत तलब दिनेगरी सूचना प्रकाशित ग¥यो। भर्खरै अनमी पास गरेकी उनले त्यसमा भरेकी थिइन्। नाम निस्कियो र आयोगले उनलाई सिन्धुली अस्पतालमा काम गर्ने गरी खटायो।
मुस्ताङको त्यो घटना
उनी २०६५ मंसिरदेखि सिन्धुली अस्पतालमा काम गर्न थालिन्। उनको खटन–पटन अनुसार आयोगले दिने बेतन न्यून थियो। उनको ऊर्जा र अवस्था नियालेका उक्त अस्पतालमा कार्यरत डा सीताराम पराजुलीले प्रस्ताव गरे, ‘उपल्लो मुस्ताङमा काम गर्न जाने हो ?’ उनले सुरुमा नजाने निधो गरिन्। पछि लाग्यो, ‘काम गर्न विदेश जान खोजेकी थिएँ। यो त आफ्नै देश हो, सेवा गर्नुपर्छ।’
घरको आर्थिक अवस्थालाई सुधार्नुका साथै सेवा दिने भावनाले आफू उपल्लो मुस्ताङ उक्लिएको उनले बताइन्। ‘कहालीलाग्दो बाटोहरु थिए। जीवनमा पहिलो पटक ट्रकमा चढेर म त्यहाँ पुगें। अभाव र गरिबीमा पिल्सिएर रहेका मुस्ताङबासीहरुलाई स्वास्थ्य सेवा पाउन सहज थिएन,’ चण्डिकाले भनिन्।
दुई वर्ष मुस्ताङको घमीमा बिताइन्। त्यहाँ रहँदा गरेका संघर्षले उनलाई जीवनमा अघि बढ्न ठूलो शिक्षा दिएको छ। सेवा पाएपछि स्थानीयले दिएको त्यही आशिर्वादले आफूलाई अघि बढ्न सघाएको उनी बताउँछिन्।
त्यहाँ रहँदाको एउटा घटना भने उनी कहिल्यै भुल्दिनन्। एक दिन रातिको खाना खाइएर सुत्ने तरखरमा लागेकी थिइन्। त्यही बेला कसैले स्याङ्बोचे भन्ने ठाउँमा सुस्त श्रवणशक्ति भएका व्यक्ति लडेर सिकिस्त भएको खबर ल्याए। स्थानीय स्वास्थ्य चौकीका स्टाफले त्यहाँ गएर सेवा दिँदा धेरै पैसा लाग्ने बताएछन्। उक्त रकम तिर्न नसकेपछि मुस्ताङ जिल्ला अस्पतालका एकजना स्टाफले उनको नाम लिएका रहेछन्।
‘ती व्यक्तिले अन्तिम भरोसा भन्दै मलाई हारगुहार गरे। म अस्पतालकै एक जना स्टाफलाई लिएर त्यहाँ पुगें। अस्पतालभन्दा दुई घण्टा टाढा घोडसवारीको दूरीमा एउटा होटलमा बिरामीलाई राखिएको थियो। बिरामी सिकिस्त थिए,’ चण्डिकाले सुनाइन्।
‘काठमाडौं लिएर जाने तयारी थियो तर रातको समयमा कतै लैजान सक्ने उपाय र अवस्था थिएन,’ उनले सम्झिइन्, ‘मैले आफूसँग लिएर गएको सरसामानसहित बिरामीको घाँटीबाट लगातार चुहिरहेको रगतलाई रोकेर २८ वटा टाँकासहित विभिन्न ठाउँमा रहेको चोटपटकलाई सफाइसहित मल्हम र औषपध दिएँ। एक छिनपछि ती बिरामीले केही सहज महसुस गरे।’
ती बिरामी उपचारपछि गाउँमा चण्डिकाको ख्याति चुलियो। केही पर्दा ‘चण्डिका सिस्टर’ भनेर आइहाल्थे। कात्तिकदेखि माघ फागुनसम्म असाध्यै हिउँ पथ्र्यो। स्वास्थ्यकर्मी र कर्मचारी जोमसोम जाने गर्थे। उनको टिम भने त्यहीँ रहन्थ्यो। जसले गर्दा पनि स्थानीयमा उनीप्रति बढी विश्वास थियो।
जिम्मेवारी महसुस गर्ने स्वभाव
दुई वर्ष त्यहाँ काम गरेपछि उनी स्टाफ नर्सको अध्ययन गर्न चितवन गइन्। त्यसको नतिजा नआउँदै उनले आफ्नै गाउँबासीको सेवा गर्ने उद्देश्यले गोलोञ्जोर हेल्थ पोष्टमा अनमी पदमा करारमा काम गर्न थालिन्। हेल्थ पोष्टका अध्यक्ष र इन्चार्जले १५ दिन काम गर्ने र १५ दिन बिदा लिन सकिने अफर दिएका थिए। तर उनले त्यसको उपयोग गरिनन्।
उक्त स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर थियो। तर चलेको थिएन। पहुँचमा बर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी हुनेको संख्या पनि धेरै थियो। आफ्नो ठाउँमा जानेको सिपको उपयोग गर्नुपर्छ भन्ने लाग्यो उनलाई। त्यसका लागि पहल गरिन्। भएका अटोक्लेभ लगायतका सामान प्रयोग गर्न मिल्ने अवस्थामा राखिन्। केही सामान तत्कालीन जनस्वास्थ्य कार्यालयले दियो। केही आफैं खर्च गरेर समेत किनिन्।
स्वास्थ्य संस्थामा सुत्केरी गराउनुका फाइदाबारे गाउँटोलमा जानकारी दिन पनि आफैं पुग्न थालिन्। उनको सक्रियतामा स्वास्थ्य चौकी प्रमुख र अन्य कर्मचारीले साथ दिए। त्यहाँ बर्थिङ सेन्टर चल्यो। अहिले उक्त हेल्थ पोष्ट नगर अस्पतालमा स्तरोन्नति भएको छ।
उनले त्यहाँ गरेको कामबाट प्रभावित भएर डा सुरेन्द्रप्रसाद चौरसियाले सिन्धुली अस्पतालमा कामका लागि बोलाए। त्यहाँ ओटी सेवा विस्तार गर्नुपर्ने थियो। उनी ओटी वार्डमा आफ्नो रोस्टर अनुसारको ड्युटीका साथै अनकलमा पनि उपस्थित हुन्थिन्। अस्पतालले त्यहाँ उपचार हुन नसकेर रिफर गरेका गम्भीर बिरामीको उपचारका लागि सहयोग समेत जुटाएर उनले काठमाडौं पु¥याएकी छिन्।
करार सेवामा सरकार अन्तर्गत काम गरिरहेकी उनी अहिले निक साइमन इन्स्टिच्युट अन्तर्गत रहेर सेवा दिइरहेकी छिन्। उक्त संस्थामार्फत सुरुमा उनी जलेश्वर अस्पताल पुगिन्। हालको प्रादेशिक अस्पताल जलेश्वरमा अस्तव्यस्त थियो।
‘अस्पताल फोहर थियो तर कार्यालय सहयोगीहरु समेत आफ्नो नभएको भन्दै उल्टै थर्काउने गर्थे,’ उनले सम्झिइन्, ‘म आफैंले कति दिन पानी र पोछा लिएर सफा गरें। भुइँ र बेड चिटिक्क बनाउन थालें।’ काम नगरी दिन कटाएर तलब लिने बानी परेका कतिपयलाई उनको सक्रियता मन परेन। त्यहाँबाट हटाउने प्रयत्न गरे। तर मेसु डा राजीवकुमार झाले त्यस्तो हुन दिएनन्।
त्यहाँ रहँदाका धेरै घटनाहरु उनको स्मरणमा छन्। तीमध्ये एक बाढीको बेला दिएको सेवा हो।
२०७६ असार ८ गते बिहान महोत्तरी जिल्लाको परिकौली घर भएकी वर्ष २१ की संगीता साह प्रसूति व्यथा लागेर अस्पताल आइपुगिन्। चण्डिकाले जँच गर्दा उनको पाठेघरको मुख एक सेन्टिमिटर खुलेको थियो र उनलाई प्रसूति कक्षमा भर्ना गरिदिइन्। दिउँसो साढे १२ बजेको थियो। उनी काममै थिइन्, हल्ला चल्यो– बाढी आयो, बाढी आयो!
अस्पतालमा रहेकी सहकर्मीलाई सबै हेर्न भनेर सामान सार्न क्वाटरमा गइन्। ‘शनिबारको दिन थियो। अस्पतालमा खासै त्यस्तो भिड पनि थिएन। त्यसैले म सामान जोगाउन नजिकैको क्वाटरमा गएकी थिएँ। अस्पतालको इमर्जेन्सीमा बाढी पस्यो, क्वाटरमा पनि पानी भरियो।’ बाढी यति धेरै आयो कि क्वाटरबाट अस्पताल जान समेत नसकिने अवस्था बन्यो। जो अस्पतालमा थिए, माथिल्लो तलमा सरे। बाहिर ६ फिट जति पानी थियो। उनलाई भने बाढीको भन्दा भर्ना भएकी बिरामीको पिरले पिरोलिरह्यो।
‘मैले अस्पतालमा रहेकी सिस्टरलाई बच्चाको जाँच र अभिलेख राख्न भनिरहेको थिएँ। तर रातभरि मलाई निद्रा परेन। एक मिनेटको दूरी समेत पार गर्न नसकेकोमा थकथकी भइरह्यो। बिहान हुनेबित्तिकै एकजोर कपडा प्लास्टिकमा हालेर म ठूलो लौरो समातेर अस्पतालतिर लागें। कम्मरसम्म पानी थियो। जहाँ पानी थिएन, त्यहाँ सर्पहरु रहेछन्, भगाउँदै हिँड्नुपरर्यो। अस्पताल पुगेर सबभन्दा पहिला मैले ती महिलाको परीक्षण गरें। पानी फुटिसकेको रहेछ र बच्चाले भित्रै दिसा गरिसकेको संकेत पाएँ,’ उनले भनिन्।
त्यसपछि तुरुन्तै चण्डिकाले डा केशर चौधरीलाई खबर गरिन्। तर बाढीको पानीमा उनी आउने सक्ने अवस्था रहेन। उनले फोनमा बताए अनुसार काम गरिन्।
‘प्रसवको प्रगति नभएको र बच्चाले दिसा गरेको हुँदा तुरुन्त शल्यक्रिया गर्नुपर्ने निष्कर्षमा पुग्नुभयो डा केशर,’ उनले भनिन्, ‘हामीसँग एनेस्थेसियामा पनि कोही थिएन। रगतको पनि अभाव थियो। डा केशर र डा प्रियंका आउनुभयो। अस्पतालकै म एक्ली नर्स थिएँ। हामीसँग बिजुली, रगतको व्यवस्था थिएन। मोबाइलको बत्तिको सहायताले शल्यक्रिया गरी आमा र बच्चाको ज्यान जोगाएका थियौं।’
सन्तानको मात्र नभई आमाकै ज्यानको आशा मारेको परिवारमा असीमित खुसी छायो। बाढीका कारण अस्पताल अन्य नर्स आउन सकेनन्। आफूले नै ४८ घन्टा ड्युटी गरेको उनी बताउँछिन्।
कोरोना महामारीका बेला प्रदेश सरकारले जलेश्वर अस्पताललाई ५० शैयाको आइसोलेसन सेन्टर घोषणा ग¥यो। अस्पतालले आवश्यक तयारी पूरा गर्न नपाउँदै बिरामी बढ्न थाले। कोरोनाबारे प्रशस्त जानकारी थिएन। अस्पतालमा रहेका ९ जना स्विपरहरु महामारीको डरले भागे। सफा गर्ने र कपडा धुने काममा समेत अस्पतालका स्टाफहरुले खट्नुप¥यो। एक हप्तासम्म नर्सहरुले नै बिरामी हेर्ने र सरसफाइ गर्ने क्रम चलेको उनी बताउँछिन्।
त्यहाँबाट चण्डिका बर्दिबास अस्पतालमा सरुवा भइन्। उक्त अस्पतालले पनि क्षमता अनुसार काम गर्न नसकेको आफूले पाएको बताइन्। आफ्नो स्वास्थ्य सेवाका साथै व्यवस्थापकीय काममा समेत अग्रसरता जनाउने उनको स्वभाव थियो। त्यहाँ उनले मेसु डा कृष्णा महर्जन र तत्कालीन नगर प्रमुखसँग सरसल्लाह गरेर विभिन्न निकायहरुसँग समन्वय अघि बढाइन्। अस्पतालका लागि आवश्यक सामानहरु जुटाउने कार्यमा उनले अगुवाइ गरिन्।
अस्पतालमा सामानहरु जुट्न थाले। सरकारी अस्पताल कमजोर बनाएर कमाउ धन्दा चलाइरहेकाहरुलाई उनको त्यो अभियान पाच्य हुने कुरा भएन। उनलाई सुरुमा भनियो, ‘आफ्नो कामबाहेक चासो नदेऊ।’ उनी रोकिइनन्। त्यसपछि विभेदको नीति अख्तियार गर्न थालियो। त्यसले पनि नछोएपछि उनलाई काम गर्न असहज वातावरण बनाइयो। उनी अहिले बर्दिबास अस्पतालबाट सरुवा भएर सिरहाको नयनपुर अस्पताल पुगेकी छिन्।
फेरि पनि डट्ने प्रण
राम्रो गर्न खोज्दा–खोज्दै त्यहाँबाट निस्किनुपरेकोमा चण्डिकालाई चित्त दुखाइ छ। आमजनका लागि सक्रिय हुँदा प्रताडित बन्नुपरेका केही घटनाले उनलाई केही निराश पनि बनाएको छ।
नयनपुरमा आफूले नर्सिङ सेवाबाहेक कुनै पनि कुरामा चासो नदिने भनेर आइपुगेकी थिइन्। ‘जे छ, जस्तो छ, त्यस्तैमा काम गर्ने भनेर आएकी थिएँ। तर मन मानिरहेको छैन। अस्पतालको अवस्था तथा बिरामीको चापले आफूले सकेको र जानेको व्यवस्थापकीय भूमिका निर्वाह गर्नुपर्छ भन्ने महसुस गराएको छ,’ उनले भनिन्, ‘अहिले पुनः शून्यदेखि काम सुरु गरेका छौं। एक वर्ष भित्र यस क्षेत्रका बासिन्दाले नयनपुर अस्पतालले अनुभूति गर्नेगरी परिवर्तन गर्ने प्रण हामीले लिएका छौं।’ उनी फेरि आफ्नो स्वभाव अनुसार सक्रिय छिन्।