भनिन्छ, भूतकालमा हराउनेहरु पश्चातापको सिकार हुन्छन। भविष्यमा हराउनेहरु पूर्वाताप (सुरुमै चिन्तित हुने) को सिकार हुन्छन। वर्तमानमा जिउनेहरु नै भवताप (स्वभाविक समस्या) बाट बच्दछन अर्थात रिल्याक्स भएर बाँच्दछन। “जिन्दगी, रिल्याक्स प्लिज” भन्ने किताबबाट लिईएको उक्त कथनले गहिरो आध्यात्मिक सन्देश सहितको मार्गदर्शन गरेको छ। भूतकालका गल्तिहरुबाट पाठ सिक्दै भविष्यको अनिश्चिततालाई स्वीकार गर्दै वर्तमानमा ध्यान केन्द्रित गर्न सकेमा समग्र पक्ष सन्तुलित बनाउन सकिन्छ। सुदूरपश्चिम प्रदेश सरकारले संचालन गरेको सेवाकालीन तालिममा सहभागी (म पनि) ले कुनै एक किताब अध्ययनगरी समिक्षा प्रस्तुत गर्नुपर्ने गृहकार्य थियो। कुन किताब छान्ने होला भनेर भौतारिरहेको बेला सहकर्मी डा चेतराज जोशी (आयुर्वेद चिकित्सक) सँग भेट भयो। उहाँले मलाई “यो किताब पढ्नुस यार। मैले पनि यो पढिरहेको छु। नामै हेर्नुस त, जिन्दगी रिल्याक्स प्लिज” भनेर किताब नै उपलब्ध गराए। किताबको नामै सुन्दा उत्सुकता जाग्यो। कभर हेर्दा सकारात्मक उर्जा महशुस गरे। चिन्ता र तनावको व्यवस्थापन गर्न नसकी खस्किरहेको व्यक्तिगत, पारीवारिक, सामाजिक र कर्म जीवनलाई व्यवस्थित गर्न सकिने केहि आध्यात्म मिश्रित व्यवहारिक ज्ञान/दृष्टिकोण पाइन्छ कि भन्ने झिनो आशाले यो किताब अध्ययन गरेजस्तो गरेँ। यहाँनेर “गरेजस्तो” शब्द अर्थपूर्ण छ। यो किताबमा लेखिएका कतिपय कुरा प्रोसेसिंग गर्न मेरो मष्तिस्कले भ्याएन। त्यसको लागि चाहिने आवश्यक आधारभूत ज्ञानको कमीले होला भन्ने मेरो सामान्य बुझाइ छ।
योग, विज्ञान तथा जीवनशैली प्रशिक्षण र पुस्तक लेखन क्षेत्रमा डा राजु अधिकारी परिचित लेखक रहेछन। करिब ३७ वटा उपशीर्षक र २४७ पृष्ठको “जिन्दगी, रिल्याक्स प्लिज” भन्ने किताबमा शरीरको सुख, मनको शान्ति र आत्माको आनन्दको बारेमा उल्लेख गरिएको छ। उहाँको बारेमा थप बुझ्दै जाँदा देव संस्कृति विश्वविद्यालय, हरिद्वारबाट योग विज्ञान एवं मानव चेतना विषयमा स्नातकोत्तर र पी एच डी गरेका अधिकारि मोटिभेशनल कोच तथा लाईफस्टाईल ट्रेनरका साथै खाने कसरि, पिउने कसरि, योग गरौँ र भोग पनि गरौँ भन्ने पुस्तकका लेखक समेत रहेछन्। मैले लेखक र पुस्तकको बजारीकरण गर्न खोजेको भने होईन। आध्यात्मिक र मानसिक स्वास्थ्यको दृष्टिकोणले पठनीय, मननीय र अनुकरणीय विषयवस्तु लागेकोले केहि बुँदा टिपोटगरी सार्वजनिक गर्ने जमर्को गरेको हुँ। राम्रा कार्यलाई प्रोत्साहन गर्न चुक्नुहुन्न भन्ने मनोसाय केन्द्रित प्रयास मात्रै गरेको हुँ।
मलाई मनपरेका केहि विषयवस्तुहरु (धेरै थिए तर केहि मात्रै छनौट गरेँ)
तृष्णा (मनोकामना) र वासना (यौन इच्छा) को खाडल यति गहिरो हुन्छ कि कुबेर र इन्द्रले समेत त्यो खाडल पुर्न सकेनन, तपाई कसरि सक्नुहुन्छ ? अत: खान पुगोस, लाउन पुगोस, दिनुपर्ने ठाउँमा दिन पुगोस। यो भन्दा बढीको कामना छाड्नु नै जिन्दगी रिल्याक्स बनाउनु हो। प्रत्येक व्यक्तिको जीवन दुई कुराले बाँधिएको हुन्छ-परिस्थिति र मनस्थिति। परिस्थिति अर्थात बाहिरी प्रभाव। मनस्थिति अर्थात भित्री प्रभाव। जो व्यक्ति परिस्थितिबाट अधिक प्रभावित हुन्छ, ऊ अक्सर तनाव-चिन्तामा रहन्छ तर जो मनस्थितिद्वारा परिचालित हुन्छ, ऊ प्राय: रिल्याक्स रहन्छ। जस्तो दृष्टि त्यस्तै सृष्टि। फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडा संसार। विषम परिस्थिति वास्तवमा समस्या होईन। त्यसलाई भयङ्कर मान्ने हाम्रो दृष्टि समस्या हो। सकारात्मक दृष्टि राख्नेका लागि हर समस्या प्रसाद हो, विषाद वा फसाद होईन। मान्छेहरु भन्ने गर्छन, राम्रा व्यक्तिको संगत गर, नराम्रा र खराबको सङ्गत त्यागिदेऊ। तर गर्नुपर्ने के हो भने हरेक मानिसभित्र असलखराब दुवै कुरा हुन्छन। मान्छे खराब छ भने पनि ऊ भित्रको असल पक्षलाई हेर र खुसी होऊ। राम्रो राम्रो मानिसको खोजीमा निस्कने हो भने सायद हाम्रो यात्रा कहिल्यै सकिँदैन। किनकि यहाँ कोही पनि परिपूर्ण छैन। भनिन्छ कि मानव भएपछी केहि न केहि दोष भईहाल्छ। दोष धेरै भए त्यो दानव हो। गुण धेरै भए त्यो देवता हो। गुण र दोष दुवै भए त्यो चाहिँ मानव हो।
जसको जीवनमा चैनको निन्द्रा छैन, उसको जीवन सुख शान्तिको उचाईमा चढ्न सक्दैन। भनिन्छ, निदाउन जान्नेहरु नै जाग्न जान्दछन र जाग्न जान्नेहरू नै जिउन जान्दछन। जिउन जान्नु नै आनन्दित हुन जान्नु हो। तपाईको जिन्दगी नै सर्वश्रेष्ठ सुखालय हो। बाहिरको मुद्रालय, मदिरालय, वेश्यालय, सचिवालय, भोजनालय, औषधालय वा मनोरन्जनालयमा जति भौंतारीए पनि सुख शान्तिको केन्द्रालय तपाईको आन्तरिक आत्मालय नै हो। सुखशान्ति भित्र खोज्नुहोस, बाहिर छैन। धेरैजसो व्यक्ति विवाह गरेको पहिलो वर्ष निकै खुसी हुन्छन। विवाहको चौथो र पाँचौं वर्ष भने खुशीको मात्रा सर्वाधिक तल्लो बिन्दुमा झरेको हुन्छ। छैटौं र आठौँ वर्षमा त्यसमा क्रमशः सुधार देखा पर्छ। दोस्रो दशक तथा पच्चीसौं वर्ष प्रवेश गरेपछि खुशी फेरी मध्यमस्तरमा फर्कन्छ र अन्ततः ४० वर्ष पुग्ने बेला भएपछी पुनः नवविवाहितामा जस्तै खुसियाली पुनरावृत्त हुन्छ। जीवनकालमा सबैभन्दा सघन खुशी, सन्तुष्टि या सकारात्मक भावनाको अनुभव ६४, ६५ र ६९ वर्षमा हुनेगर्छ।
सामान्यतया तनाव दुई स्वरुपमा प्रकट हुन्छ- सकारात्मक र नकारात्मक तनाव। मनोविश्लेषणको भाषामा सकारात्मक तनावलाई “युस्ट्रेस” भनिन्छ। यो सिर्जनात्मक, निर्माणात्मक र प्रेरणात्मक प्रकृतिको हुन्छ। नकारात्मक तनावलाई “डीस्ट्रेस” भनिन्छ। जब व्यक्ति सामुन्नेको कुनै पनि घटना या परिस्थितिलाई नकारात्मक दबाबका साथ् ग्रहण गर्छ, त्यो डीस्ट्रेस बन्दछ। यसको प्रकृति ध्वंसात्मक, विकृतिपूर्ण र उत्तेजनाबर्द्धक हुन्छ। वर्तमान समयका ८५ प्रतिशत जति जटिल र असाध्य रोगहरुको ज्ञातअज्ञात कारण तनाव नै हो। मधुमेह, उच्च रक्तचाप, हृदयजन्य रोग, अनिन्द्रा, उच्च कोलेस्ट्रेल, दम, थाईराईड विकृति, अस्वस्थकर मोटाई, मेरुदण्डको समस्या, डिप्रेसन, मस्तिष्कीय विकृतिजस्ता नवआधुनिक रोगहरुलाई चिकित्सकहरु मनोशारिरिक रोग अर्थात साईकोसोमेटिक डीसअर्डर भन्छन। र, यी रोग समस्याको उदगम भनेकै मानसिक तनाव हो। एक मनोविज्ञान विशेषज्ञले भनेका छन् कि तनावपूर्ण भएर बाँच्नुभन्दा बेवकुफ हुनु अधिक राम्रो हो। आवश्यकता घटाउने र हर परिस्थितिसंग तालमेल जिन्दगीमा खुसी रहने दुई शाश्वत उपाय हुन्। आफ्नो मस्तिष्कलाई खाली बनाउनु नै मानसिक शान्ति हासिल गर्ने मूलभूत तरिका हो। खराब भावना र गलत विचारलाई बाहिर निकालेर मानसिक केथारसिस गर्नु अत्यन्त महत्वपूर्ण विधि हो।
प्रसिद्ध लेखक डेल कार्नेगीका अनुसार कार्यसम्पादनको सिलसिलामा अपनाउनुपर्ने चार महत्वपूर्ण बानी, जसले तपाईलाई थकान र चिन्ताबाट बचाउँछ। आफ्नो टेबलबाट ती सम्पूर्ण कागजात हटाईदिनुहोस, जुन वर्तमान समस्या संग सम्बन्धित छैनन्।
महत्व र प्राथमिकताका आधारमा काम गर्ने। हातमा अधिकार छ भने फैसला कहिल्यै पनि भोलिलाई नपन्छाउने। व्यवस्थित रहन, अरुलाई काम सुम्पन र कामको निरीक्षण गर्न सिक्ने। विचारले क्रिया बन्छ। क्रियाको पुनरावृत्तिले बानी बन्छ। बानी गहिरो भएपछी स्वभाव बन्छ। स्वभाव एक दिन संस्कार बन्छ। सुविचार सुसंस्कारको जननी हो। कुविचार क्रियाकलाप आनीबानी, स्वभाव र संस्कार सबैका लागि घातक तत्व हो। सकारात्मक, आशावादी, धनात्मक, विधेयात्मक, शुभ र कल्याणकारी विचार नै तपाईका साथी बनून। सकारात्मक विचार राख्नेका लागि जहर समेत निस्तेज हुन्छ। नकारात्मक विचार भएको व्यक्तिलाई कुनै पनि औषधिले काम गर्दैन। तसर्थ, कु-विचार निर्मूलिकरण गर्नुपर्ने हुन्छ। डेल कार्नेगीका अनुसार खुसीको विचार गर्नुहोस। खुसीकै अभिनय गर्नुहोस। तपाई खुसीको अनुभव गर्न थाल्नुहुनेछ। तरुण स्वामीका अनुसार हप्तामा सात बार हुन्छन। आठौँ बारको नाम हो परिवार। यो आठौँ बार ठीकठाक छ भने बाँकी सात बारमा पनि तपाई खुसी रहन सक्नुहुन्छ। प्रख्यात अमेरिकी लेखक मार्क टवेनको शब्द सापटी लिएर भन्नुपर्दा, “जो प्रसन्न छ, उसले अर्कोलाई प्रसन्न गराएरै छाड्छ। श्रीखण्डको बोट जहाँ हुन्छ, वरिपरिका वनमारा र तितोपातीलाई समेत आफूजस्तै सुगन्धित बनाउँछ।
सुख शान्तिको स्विच बोर्ड बाहिर हुन्छ। जब कि बल्ब चाहिं भित्र हुन्छ। शान्ति भित्र प्रकाशित हुन्छ तर त्यसलाई अनअफ गर्ने स्विच बाहिरी दुनियाँमा हुन्छ। मान्छेको जीवनशैली, व्यवहार, आचरण, प्रतिक्रिया गर्ने ढंग आदि भित्र बल्ने शान्तिका बाहिरि स्विच बोर्ड हुन। भित्र पस्न नजान्ने, भनौं कि अन्तरंगलाई नियाल्न नजान्ने व्यक्ति शान्ति नामक बरदानबाट बन्चित हुनु निश्चित छ। शान्तिको खोजीमा बाहिरी स्विच बाल्ने-निभाउने काम गरेको गर्यै गर्छ मानिस। कहिले कपडा बदल्छ, कहिले ठाउँ। कसैले धनसम्पत्ति थुपार्छ, कोही नयाँ नयाँ सुख साधन जुटाउन मरीमेट्छन। कोही अग्ला घर ठड्याउछन्, महँगा साधन जोड्छन, कोही पुरानो सम्बन्ध त्यागेर नयाँ सम्बन्ध जोड्छन। यति गर्दा पनि अन्त्यमा हात लाग्छ असन्तोष, अशान्ति, अस्तव्यवस्तता।
शब्द पढ्दैमा ज्ञान हुँदैन। पढेको शब्दलाई व्यवहारमा उतार्यो भने बल्ल त्यो ज्ञान पक्का हुन्छ। ठुलो पदमा पुग्दैमा मान्छे ठुलो हुँदैन। पद अनुरुप स्वकर्तव्य पालन गर्यो भने मात्रै त्यो ठुलो मान्छेमा गनिन्छ र त्यसले सुख दिन्छ। विद्वान फ्रान्सिस बेकन सार्है मिठोसंग भन्नुहुन्छ, “प्रत्येक व्यक्ति विवाहको अर्को दिन आफूलाई सात वर्ष पाको अनुभव गर्छ। विवाहले नै गृहस्थ र दाम्पत्य जीवनको महान शृंखला उदघाटित गर्दछ। त्यसै कारणले गर्दा हाम्रा अग्रज ऋषिमुनिहरुले मानव जीवनका चार वर्णाश्रम मध्ये गृहस्थाश्रमलाई सर्वश्रेष्ठ मानेका छन्। चतुवर्णामात्रमाणान्तु गृहस्थस्तु विशिष्यते अर्थात सबै चार आश्रमहरुमा गृहस्थाश्रम शिरपोष हो। यो आश्रम जजसको सकारात्मक र सुखदाय हुन्छ, उसको सहजीवन सदैव रिल्याक्स बन्छ।
एकदेखि दुई मिनेट आँखा तन्काएर पहेंलो रङ्गको वस्तु हेर्ने, हरेक घण्टा १० सेकेण्डको कृतज्ञता अभ्यास गर्ने, तपाईको सबैभन्दा प्रिय व्यक्तिको हाँसेको फोटो एक मिनेटसम्म हेर्ने, घण्टाघण्टामा हास्ने वा बनावटी भएपनि हास्ने र प्राकृतिक वनस्पतिबाट प्राप्त हुने चकलेट आदिको सेवन गरेमा सहजै खुसी हुने भनी पाँच विशेष खुसी मन्त्र सुझाएको देखिन्छ। ईनर इन्जिनियरिङ्ग, आर्ट अफ लिभिंग कोर्स, उन्त:उर्जा जागरण विधि, विपश्यना कोर्स, क्रियायोग, राजयोग, भावातीत ध्यान लगायतका केहि महान खुसीबर्द्धक विधिहरु छन्। स्फूर्तिदायक श्वासप्रश्वास, सुगन्ध-चिकित्सा, माटो स्पर्श, कुर्सि योग, गायत्री मन्त्र, ओम थेरापी, डीटक्सीफिकेशन, प्रकृति संवाद लगायतका सुत्रहरुले जिन्दगी रिल्याक्स गर्छ।
कार्यस्थल स्वास्थ्य एवं सुरक्षाको क्षेत्रमा अनुसन्धान गर्ने विशेषज्ञका अनुसार कुर्सीमा बसिरहनु आफ्नो मन्दमन्द हत्या गर्नु हो। तिनले यसलाई सिटिंग ईज किलिंग यू भनेका छन्। एउटा शोधपत्रमा लगातार बसिरहने या पल्टिरहने व्यक्तिमा मधुमेह हुन सक्ने सम्भाव्यता एक सय १२ प्रतिशत र मुटुजन्य समस्या या आघात हुने एक सय ४३ प्रतिशत सम्भावना हुन्छ। हाल नेपालको ब्युरोक्रेसीमा पनि कर्मचारीको शरीर उर्जावान र फूर्तिलो बनाई सेवाप्रवाहलाई थप व्यवस्थित गर्ने तर्फ पनि अग्रसर हुन जरुरि छ।
श्रीमद्भागवतगीताको भनाईमा सुख चाहनेले शान्त हुन जान्नुपर्छ। शान्त हुन व्यक्तिको भावना सकारात्मक हुनैपर्छ। भावना अविचलित तथा सकारात्मक राख्न मनबुद्धि स्थिर हुनुपर्छ। अस्थिर मनबुद्धिले सुखशान्ति दिदैन। गीताले भन्न खोजेको स्थिर मनबुद्धिको आसय एकाग्रता नै हो। ४ मिनेटको हाँसो र ४० मिनेटको व्यायाम उस्तैउस्तै हो भनिन्छ। तपाई कामकाजी हुनुहुन्छ भने आफ्नो कार्यस्थलमा काम सुरु गर्नुअघि पाँच मिनेट सबै सहकर्मी भेला भई हास्य अभ्यास गर्ने गराउने गर्नुहोस।
मनोरञ्जनहरु मध्येमा खाँदै रमाउंदै नयाँ ठाउँ घुम्नु सर्वाधिक सकारात्मक मनोञ्जन हो। समयसमयमा घुमफिर गर्न निस्कने, पर्यटनमा जाने, लामोछोटो यात्रा गर्न जान्ने व्यक्ति विषाक्त तनाव चिन्ताबाट कमै मात्रामा पीडित हुन्छ। पतंजली ऋषिको रिल्याक्स हुने ४ वटा सुझाव अन्तर्गत सुखी तथा धनी मानिसप्रति मैत्रीभाव, दुखिहरुप्रति करुणा भाव, पुण्यवान तथा ज्ञानवानप्रति हर्षित भाव र पापी तथा कुकर्मीप्रति उदासीन भाव भनेर व्याख्या गरेका छन्। वास्तविक धरातलमा उभिएर भन्नुपर्दा आफ्नो सबैभन्दा ठुलो गुरु आफैं हो, आफ्नै स्व र आत्मा हो। जीवनरुपी मोटरभित्रको स्थायी ड्राईभर आफु स्वयम् हो। मोटरगाडीलाई सन्तुलित तरिकाले चलाउन र सकुशल गन्तव्यमा पुर्याउन ड्राईभरको भूमिका सर्वोपरी हुन्छ। त्यस्तै स्वयमको जीवनलाई सकुशल चलाउन र लक्ष्यमा पुर्याउन आफू स्वयमको भूमिका अग्रणी हुन्छ। यसै मान्यतालाई मनोवैज्ञानिक भाषामा अटो सजेसन भनिन्छ।
“मेदच्छेद कराश्चैव बलोत्साह विवर्धन:” अर्थात कि सूर्यले शरीरको मलबोसो छाँटदछ र शक्ति एवं आनन्द प्रदान गर्छ। एक पाश्चात्य भनाई छ, “जुन घरमा सूर्यकिरणले प्रवेश पाउँदैन, त्याह डाक्टरले प्रवेश पाउँछ। सूर्यकिरण चिकित्सा तन र मन स्वस्थ राख्ने निशुल्क उपचार विधि हो। नियमित रुपमा १०-१५ मिनेट घाममा अवश्य बसौं। अन्त्यमा, लेखकले व्यक्तिगत जीवनलाई सहज पार्नेगरी यो किताबमा आफ्नो बुझाई र अनुभव पस्कि उपयोगीमूलक तरिकाले केहि सरल व्यवहारिक अभ्यासहरु समेत सुझाएका छन। आत्म परिचय, आत्म स्वीकृति, आत्म संवेदनशीलता, ध्यान र ध्यान केन्द्रित गर्ने अभ्यासले सकारात्मक सोच/दृष्टिकोण निर्माण गर्ने तर्फ केन्द्रित छ। पूर्ण जीवनयापन गर्नका लागि व्यक्तिगत र व्यावसायिक जीवन बीचको स्पष्ट सीमाबद्धताको महत्वपूर्ण क्षेत्रलाई समेटेको देखिन्छ। लेखक प्रति हार्दिक आभार र कृतज्ञता प्रकट गर्दै सबैमा एकपटक यो किताब अध्ययन गर्न (संभव भएमा) विशेष अनुरोध गर्दछु।
(कुँवर वरिष्ठ जनस्वास्थ्य अधिकृत हुन्।)