स्वास्थ्य सेवाका लागि विनियिजित बजेटबाट उच्चतम प्रतिफल प्राप्त गर्नुलाई साधारण अर्थमा स्वाथ्य क्षेत्रमा लगानी हुने मूल्यको महत्व हो भन्न सकिन्छ। विस्तारित रुपमा भन्नुपर्दा समावेशी, समतामूलक र पारदर्शीरुपमा वित्तीय व्यवस्थापन गर्नुनै मुल्यमा आधारित स्वास्थ्य सेवा प्रवाह हो। उपलब्ध स्रोतको अधिकतमरुपमा प्रयोग गरि आशातित प्रतिफल प्राप्त हुनुपर्दछ र प्रतिफल प्राप्त गर्नकालागि उचित तवरले स्रोतको बाँडफाँड भई नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा समतामुलक पहुँचका आधारमा स्वास्थ्य समस्याको सम्बोधन भएको हुनुपर्दछ। उपलब्ध वित्तीय स्रोतको अधिकतम प्रयोग गरि उद्धेश्य अनुसारको वा सो भन्दा बढी नतिजा हासिल गर्नु नै साँचो अर्थमा मूल्यको महत्व हो भन्न सकिन्छ। मूल्यको मापन गर्नका लागि स्वास्थ्य सेवामा भएको रकमको तुलनाका आधारमा सेवाको परिणाम वा उपलब्धिलाई हेर्ने गरिन्छ। मूल्य अनुसारको प्रतिफलको मापन गर्दा मुख्यतया ३ वटा प्रतिफलसंग तुलना गर्नु उचित हुन्छ।
पहिलोमा, सेवा संचालनको लागत दक्षता वा प्रतिफलसंग मापन गर्नुपर्दछ। लागत दक्षता अन्तर्गत प्राबिधिक, उत्पादन र विनियोजित दक्षता पर्दछ। प्राबिधिक दक्षता भन्नाले कार्य प्रक्रियामा संलग्न जनशक्तिको योगदानका कारण कम लागतमा बढी उपलब्धि प्राप्त हुने अवस्था हो। त्यसैगरी उत्पादन दक्षता अन्तर्गत ठिक तरिकाले कार्य संचालन गर्दा सामान्य योगदान वा लगानीबाट धेरै उपलब्धि हासिल गर्न सकिने अवस्था पर्दछ भने सामान्य तोकिएको रकमबाट अधिकतम उपलब्धि हासिल हुने अवस्थालाई विनियोजित दक्षता भनिन्छ। दोस्रोमा, समतामूलक प्रतिफल अन्तर्गत उपलब्ध वित्तीय स्रोतको सहि सदुपयोग समतामूलक सेवा प्रवाहबाट मात्र सम्भव छ। स्वास्थ्य सेवामा समानताको दृष्टिकोणमा भन्दा समतामूलक दृष्टिकोणमा केहि मूल्य वढी लागेतापनि प्रभावका हिसावले निकै महत्वपूर्ण मानिन्छ। तेस्रोमा, स्वास्थ्य सेवा प्रवाहमा वित्तीय संरक्षणका माध्यमबाट स्वास्थ्य सेवाको प्रतिफल मापन गर्न सकिन्छ। स्वास्थ्य सेवा प्रवाह गर्दा नागरिकले भोग्नु परेको आर्थिक कठिनाईलाई मध्येनजर राखी विभिन्न सामाजिक सुरक्षाका स्किमहरु लागु गरि उपचारका कारण गरिवीको रेखा मुनि धकेलिने अवस्थाबाट जोगाउन सकिन्छ।
मूल्यको महत्वलाई लगानी र संभावित प्रतिफलको आकलन गरि स्वास्थ्य सेवालाई संचालन गर्नुपर्छ। यसकालागी मुख्यतया ३ वटा सम्भावित प्रतिफलको विश्लेषण गरेर मात्र स्वास्थ्यका कार्यक्रमहरु संचालन गर्नुपर्छ। पहिलोमा, कम मूल्यमा साविकमा प्राप्त प्रतिफल प्राप्त गर्ने अवस्थामा मात्र स्वास्थ्यका कार्यक्रम तर्जुमा गर्नु पर्छ। कार्यक्रम तयार गर्दा अनावस्यक स्वास्थ्यका क्षेत्रमा भएका लगानीहरु पहिचान गरी कटौती गर्ने र आवस्यक क्रियाकलापमा मात्र बजेट लगानि गर्न सकिन्छ। प्रत्येक बर्ष रकम छुट्याउने तर खर्च गर्न नसक्ने अवस्थाका वजेट कटौती गर्दा पनि साविकमा प्राप्त भैरहेका उपलब्धिहरु यथावत कायम हुन सक्छन। विगत देखिनै स्वास्थ्य क्षेत्रमा अनावश्यक वजेट छुट्याउने तर खर्च नहुने वा फजुल खर्च गर्ने अवस्था पहिचान गर्नु आवश्यक छ। तसर्थ, मूल्यको महत्वको अवधारणालाई अङ्गीकार गर्न सकेमा हामीसंग भएको सिमित स्रोतबाट प्रचुर प्रतिफल प्राप्त गर्न सकिन्छ। डब्लूएचओले २०१० मा प्रकाशन गरेको एक प्रतिवेदन अनुसार २०–४० प्रतिसत वजेट यस किसिमको अनुत्पादक क्षेत्रमा विनियोजन हुने गरेको पाईन्छ। दोश्रोमा, साविक लगानीबाट अधिकतम प्रतिफल प्राप्त गर्ने अवस्था (न्चभबतभच जभबतिज यगतअयmभक धष्तज कबmभ बmयगलत या mयलभथ) जसमा, स्वास्थ्य सम्बन्धि क्रियाकलाप संचालन गर्दा साविकको लगानीमा नै अधिकतम प्रतिफल प्राप्त गर्न सकिन्छ।
यो अवधारणालाई मद्धेंनजर गरि स्वास्थ्य क्षेत्रले आफना वार्षिक कार्ययोजनाहरुलाई प्राथमिकता दिनु पर्छ। यस किसिमको प्रक्रियाबाट कार्यक्रम संचालन गर्दा साझेदार निकायहरुको पनि संलग्नता बढ्ने र धेरै भन्दा धेरै नागरिकलाई फाईदा पुग्ने हुन जान्छ। विनियोजित रकमको अधिकतमरुपमा प्रयोग हुन गई धेरै प्रतिफल प्राप्त हुने भएकोले यो विधिलाई अधिकतमरुपमा अवलम्बन गर्नु पर्छ। स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचको अवधारणा यसको उदाहरणको रुपमा लिन सकिन्छ। तेश्रोमा, लगानी अनुसारको अधिकतम प्रतिफल प्राप्त गर्नु गलत या अर्को महवपूर्ण अवस्था हो। यसमा अत्यधिक मूल्यको मागका आधारमा मात्र कार्यक्रम सफल भई आशा गरिए अनुसारको प्रतिफल प्राप्त हुने भएकोले यस्ता आयोजनामा धेरै धन राशि आवस्यकता पर्दछ। कहिलेकाँही यस प्रकारको अवधारणामा विज्ञको परामर्श खर्च र दैनिक प्रशासनिक खर्च वढ्न सक्ने हुनाले योजनाकार यसतर्फ चनाखो हुन आवश्यक छ।
नेपालमा हाल तिन तहका सरकारबाट वार्षिकरुपमा स्वास्थ्य सम्बन्धि वजेट तथा योजनाको निर्माण गरिन्छ। विगतदेखि नै स्वास्थ्य क्षेत्रको बजेट निर्माण र कार्यक्रम कार्यान्वयनमा मूल्यको महत्व सम्बन्धमा खासै बिश्लेषण गरेको पाईदैन। स्वास्थ्य क्षेत्रमा वर्षेनी बढ्दै गएको बेरुजु, आ.व.को अन्तिम महिनासम्म रकमान्तर गर्ने प्रचलन बढ्नु र कूल पुँजीगत बजेटको करिव ५० प्रतिसत मात्र रकम खर्च हुनु आदिलाई प्राविधिक, उत्पादन र विनियोजित दक्षतामा कमि भएको प्रमाणको रुपमा लिन सकिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशका स्वास्थ्यसंग सम्बन्धित मन्त्रालय र स्थानीय तहको नीति, वजेट तथा कार्यक्रम निर्माणको जिम्वेवार पदाधिकारीमा स्वास्थ्य क्षेत्रको मूल्यको महत्वको अवधारणालाई नबुझेको वा बुझेर पनि बेवास्था गरेको हो भन्ने अर्थमा बुझ्न सकिन्छ। तसर्थ आगामी दिनमा यस्ता विषयलाई महत्वका साथ ग्रहण गरि योजना निर्माण र कार्यान्वयनमा लागु गर्नकालागि सम्बन्धित् पक्षको ध्यान जानु आवश्यक छ। यस्ता योजना छनौट गर्दा मुल्यको महत्व, मुल्यको प्रभाव र यसको सदुपयोगका सम्बन्धमा कम मात्रामा ध्यान दिएको वा कम आकलन गरेको पाईन्छ। तत्काल प्रतिफल र दिगो प्रतिफलमा भन्दा छोटो समयमा देखिने र छोटो अवधिसम्म प्रतिफल दिने कार्यक्रमलाई बढी महत्व दिएको पाइन्छ।
केन्द्र र प्रदेशमा यसो हुनुमा राजनैतिक अस्थिरता हो भन्न सकिन्छ। लामो समय पछि प्रतिफल प्राप्त हुने, लामो समय सम्म संचालन गर्नुपर्ने, कार्यक्रममा लगानी भएको मुल्य र गुणात्मक उपलब्धि र परिणात्मक उपलब्धिको मापन गर्न असजिलो हुने कारणले पनि धेरैको यसमा ध्यान नगएको पाईन्छ। वित्तीय अनुशासन, पारदर्शिता र वित्तीय व्यवस्थापनमा कमजोरी भएमा समावेशी स्वास्थ्य सेवाको पहुँच पुग्न सक्दैन र समुदायबाट आशा गरिए अनुसारको कार्यक्रम संचालनमा सहयोग प्राप्त हुँदैन। फलस्वरूप स्वास्थ्य सेवामा अनावश्यक धनराशि मात्र खर्च हुन जान्छ र स्वास्थ्य प्रणालीमा हालको अवस्था करिव यस्तै देखिन्छ।स्वास्थ्य सेवामा मूल्यको महत्वको अवधारणा आत्मसात गर्दा धेरै दृष्टिकोणले उपलब्धि प्राप्त हुने भएकोले विश्वका अधिकांश मुलूकमा यसको अभ्यास भैरहेको छ। यसको अभ्यासले कार्यक्रम तयारगर्ने र कार्यान्वयनगर्ने निकायहरुलाई कार्यक्रमको खाका र उदेश्यलाई समानरुपमा स्पष्ट बुझ्न सजिलो हुन्छ। साथै अनावस्यक खर्च कटौती भई उदेश्य अनुसारका उपलब्धि हासिल गर्ने प्रवृति वढ्छ। त्यसैगरी, स्वास्थ्य सम्बन्धि योजना निर्माण गर्दा नै जोखिम पहिचान गरिने भएकोले खर्च किफायती भई समयमानै तोकिएका क्रियाकलापहरु सम्पन्न गर्न मद्धत पुग्छ। निश्चित रकमको परिधिभित्र रही कार्यक्रम संचालन गर्ने भएकोले प्राथमिकता प्राप्त र उपलब्धिमूलक योजनाको छनौट गर्न मद्धत गर्दछ र संचालित कार्यक्रम प्रति जन उत्तरदायित्व र कार्यक्रमको पारदर्शितालाई मनन गरिएको हुन्छ।
योजना निर्माण गर्ने निकायले विद्यामान नियम र कानूनका आधारमा मात्र योजना छनौट गरिने भएकोले यसबाट परिस्कृत र असल अभ्यासहरुलाई अवलम्बन गरि जोखिमहरूलाई कम गर्न गर्ने परिपाटी अवलम्वन गरिन्छ। तेस्तै, संचालित कार्यक्रमबाट प्राप्त उपलब्धिको नियमित अनुगमन, समिक्षा र प्रतिवेदन गर्नुपर्दछ जसलेगर्दा परिस्थितिमा आधारित योजना छनौट हुने, प्रभावकारिताको बारेमा सुसूचित हुने र वित्तीय ब्यवस्थापनमा सूधार ल्याउने तथ्य सुनिश्चित हुन्छ। मूल्यको महत्व एउटा एस्तो औजार हो, जसको अभ्यासले कार्यक्रम संचालनमा फजुल खर्च नियन्त्रण हुनाले दात्री निकायहरुको सहयोगका लागि आकर्षित हुन्छन। स्वास्थ्य सेवामा मूल्यको महत्वको अवधारणाको अर्को फाइदामा कार्यक्रम संचालनमा सजिलो र जोकिम कम हुनुका साथै लागत दक्षता बढ्ने भएकोले स्वास्थ्य क्षेत्रमा प्रवर्धनात्मक र प्रतिकारात्मक सेवालाई प्राथमिकता साथ संचालन गर्न सकिन्छ। कार्यक्रम संचालनमा समावेशी स्वास्थ्य सेवा प्रवाहका लागि समता र पहुँच सेवालाई जोड दिन र समय , परिस्थिति अनुसार उपलब्ध नयाँ प्रविधि र खोजको प्रयोगलाई बढाउँन मद्धत पुग्ने देखिन्छ।
सारांशमा, कार्यक्रममा हुने अनावश्यक रकम विनियोजन र अनावश्यक खर्च गर्ने प्रवृतिलाई नियन्त्रण गरी समतामूलक विनियोजन र खर्चमा पारदर्शीता अपनाई उच्चतम र अर्थपूर्ण उपलब्धि हासिल गर्नु नै मूल्यको महत्व हो। यसको अभ्यास अङ्गीकार गर्नाले कार्य संचालनमा लागत दक्षता र लागत प्रभावकारी बढ्छ। स्वास्थ्य प्रणालीमा कसरी असान्दर्भिक बजेट विनियोजन र अनावश्यक खर्च गर्ने प्रवृतिलाई घटाई अधिकतम प्रतिफल प्राप्त गर्न सकिन्छ भन्नेतर्फ सम्बन्धित निकायले ध्यान केन्द्रित गर्नु जरुरी छ।