काठमाडौं- सुर्तिजन्य पदार्थ उत्पादक सूर्य नेपाल प्रालिले प्रयोजन गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई सहभागी भएका छन्। सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ ले सुर्तिजन्य पदार्थ उत्पादक कम्पनीको कार्यक्रममा सार्वजनिक निकायका पदाधिकारीको सहभागिता निषेध गरेको छ। कानुन विपरित राई प्रमुख अतिथिका रुपमा सहभागी भएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कार्यक्रममा सहभागिता अस्वीकार गरेपछि कुलपति राईलाई प्रमुख अतिथि बनाइएको हो। सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सूर्ति उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सूर्ति उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सूर्ति उद्योगको सहयोगमा वा सूर्ति उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन।’
यसअघि डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई पाँच करोड रुपैयाँ 'सीएसआर' भन्दै दिन खोजेको थियो। डा कोइराला जस्तो व्यक्तित्वको नेतृत्वमा बन्ने अस्पतालले सूर्तिजन्य पदार्थ उत्पादकको सहयोग लिन नहुनेतर्फ ध्यानाकर्षण गराइपछि त्यो रोकिएको थियो। सूर्य नेपाल प्रालिले सहयोग हस्तान्तरण गर्न कार्यक्रम समेत आयोजना गरेपनि डा कोइरालाले नैतिकता देखाएका थिए। उनी सहयोग नलिइ कार्यक्रमबाट बाहिरिएका थिए।
फेस्टिभलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई भेला गराई समसामयिक विषयवस्तुमा अन्तर्क्रिया र अन्तरसंवाद सम्पन्न गर्ने गरेको बताएको छ। सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको सहयोगमा हुने यस्ता कार्यक्रममा सार्वजनिक व्यक्तित्वको साझेदारिता र सहभागिता रोकेको छ।