काभ्रेपलाञ्चोक- डेढ महिनाको अवधिमा नौ स्थानीय तहमा डेंगु संक्रमण फैलिएको छ। शुक्रबार एकै दिन छ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
पछिल्लो २४ घण्टामा पनौती नगरपालिकामा दुई पुरुष र एक महिला, बनेपा नगरपालिकामा एक महिला, मण्डनदेउपुर नगरपालिका र भुम्ल गाउँपालिकामा एक÷एक पुरुषमा डेंगु संक्रमण देखिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिइन्।
उनका अनुुसार गत साउनदेखि हालसम्म जिल्लामा ५७ जनामा डेंगु संक्रमण देखिएको छ। सङ्क्रमितमध्ये २७ पुरुष र ३० महिला छन्। “शुक्रबार एकै दिन छ जनामा डेंगु देखिएको छ, सचेतना कार्यक्रम बढाइँदै लैजान्छौँ, व्यक्ति आफैँं पनि सचेत बन्नुपर्दछ”, श्रेष्ठले भनिन्।
बनेपा, पनौती र धुलिखेल नगरमा बढी सङ्क्रमित छन्। बनेपा र पनौतीमा १३÷१३ जना, धुलिखेलमा १२, भुम्लु गाउँपालिकामा आठ, नमोबुद्ध नगर र रोशी गाउँपालिकामा तीन/तीन, पाँचखाल, मण्डनदेउपुरमा दुई/दुई र तेमाल गाउँपालिकामा एक डेंगु सङ्क्रमित रहेका प्रमुख श्रेष्ठले जानकारी दिइन्।
गत आवमा जिल्लामा चार सय ८७ जनामा डेंगु संक्रमण भएको थियो। सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी संक्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको श्रेष्ठले बताइन्।
संक्रमण नियन्त्रण गर्न प्रत्येक शुक्रबार ‘१० बजे दश मिनेट’, ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आइएको उनले जानकारी दिइन्।
प्रमुख श्रेष्ठका अनुसार डेंगुको उच्च जोखिममा नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि रहेको छ। लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने भएकाले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उनले बताइन्।
डेंगु भएका एक्कासि उच्च ज्वरो आउने, पाँचदेखि सात दिनसम्म ज्वरो रहिरहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेशी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ।
समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने भएकाले डेंगुको शङ्का लागेमा तत्काल स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्ने जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ। रासस