भक्तपुर- भक्तपुर क्यान्सर अस्पतालले थप सुविधा विस्तार गरेको छ। अस्पतालले रेडियोथेरापी, मोडुलर ओ।टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदिप पौडेलले बुधबार उक्त मेसिनहरूको उद्घाटन गरेका छन्।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरु तत्पर रहनुपर्ने बताए।
उनले विशिष्टीकृत सेवा सरलीकृत ढंगबाट सहज माध्यमबाट प्राप्त गर्ने माध्यम स्वास्थ्य बीमा भएको बताउँदै आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुमा चिनी करको व्यवस्था गरी त्यसबाट प्राप्त हुने रकम बीमामा जम्मा गर्न सकिने उल्लेख गरे।
१६ लाख घरपरिवार नेपाल सरकारको स्वास्य बीमामा आबद्ध रहेको बताउँदै उनले बीमा गरेबापत जम्मा हुने प्रिमियमलाई बीमा कोषमा जम्मा गर्न सके बीमामार्फत स्वास्थ्य सेवालाई व्यवस्थित र सर्वसुलभ ढंगले सेवा प्रदान गर्न सकिने बताए।
कार्यक्रममा मन्त्री पौडेलले नेपाल सरकारको सहयोगबाट स्थापना भएको मोडुलर ओटी र २५६ स्लाइसको सीटी स्क्यान मेसिन अस्पताललाई हस्तान्तरण गरेका थिए।