काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई फेलोसिप तालिममा सरकारी चिकित्सकलाई प्राथमिकता दिन पत्राचार गरेको छ।
प्रतिष्ठानले सरकारी चिकित्सकलाई पहिलो प्राथमिकतामा राखेर अध्यापन गराउँदै आएको सराहाना गर्दै फेलोसिपमा पनि प्राथमिकता दिन ताकेता पत्र पठाएको हो। २०७९ वैशाख २३ गते पनि मन्त्रालयले फेलोसिप तालिमको प्रवेश परीक्षामा उत्तिर्ण हुने सरकारी चिकित्सकहरुलाई पहिलो प्राथमिकतामा राखी सोही फेलोसिप तालिममा सहभागी गराउन पत्र लेखेको थियो।
उक्त पत्रअनुसार काम नभएको भन्दै सरकारी चिकित्सकहरुले मन्त्रालयमा निवेदन पेश गरेका छन्। चालु आ.व. २०८१/०८२ को शैक्षिक सत्रमा हुने फेलोसिप तालिमको प्रवेश परीक्षामा उत्तिर्ण हुने सरकारी चिकित्सकहरुलाई पहिलो प्राथमिकतामा राखी सोही निर्णयलाई कार्यान्वयन गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ।
उक्त सचिवस्तरीय निर्णयअनुसार ताकेता पत्र पठाइएको हो।