काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधि सदस्य रहने विषयगत समितिको बैठक बस्ने भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको तीन तहको विषयगत समितिको बैठक पहिलो पटक आज बिहीबार बस्न लागेको हो।
बैठकमा प्रदेशका स्वास्थ्य मन्त्री र सामाजिक विकास मन्त्री सहित ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको सहभागिता रहने छ। बैठक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहान ११ बजेपछि बस्ने छ।
संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) 'ग' बमोजिमको विषयगत समितिमा केही दिनअघि मन्त्री पौडेलले महर्जनलाई सदस्यमा मनोनयन गरेका थिए। उनले मन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका मेयर महर्जनलाई संघ, प्रदेश र स्थानीय तह अन्तर्गत रहेका देशैभरका स्वास्थ्य क्षेत्रका विषयमा आवश्यक समन्वयका लागि मनोनयन गरेका हुन्।
समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अन्तरगत बनेको समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानूनको तर्जुमाका लागि तीनै तहसँग परामर्श र समन्वय गर्ने छ। ऐन आएयता हालसम्म पूर्णता नपाएको र बैठकसमेत बस्न सकेको थिएन। महर्जनको मनोनयसँगै समितिको बैठक आज बिहीबार बस्ने गरि तोकिएको थियो।
मन्त्री पौडेलको सचिवालयका अनुसार बैठकमा हुने छलफलका लागि विभिन्न ऐनेन्डाहरु तय भएका छन्। बैठकमा स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागि तीन तहको सरकारबीच कसरी सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने, डेंगु लगायतका महामारीमा कसरी काम गर्ने, जनशक्ति, औषधि, स्वास्थ्य क्षेत्रमा रहेको १६औं योजना र दिगो विकास लक्ष्यका विषयहरुमा छलफल हुने बताइएको छ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका विषय संघको मात्र नभएकाले सबै तहसँग समन्वय गरेर अगाडि बढ्नका लागि बैठक डाकिएको बताए।
मन्त्री अध्यक्ष रहने विषयगत समितिमा प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रीहरु सदस्य रहने र अध्यक्षले स्थानीय तहबाट एक जना प्रमुख वा अध्यक्षलाई सदस्यमा मनोनीत गर्ने सकिने व्यवस्था रहेको छ।