काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरले पेन क्लिनिक सञ्चालनमा ल्याएको छ। ट्रमा सेन्टरका एनेस्थेसिया विभाग प्रमुख तथा इन्टरभेन्सनल पेन फिजिसियन डा रुपेश यादवका अनुसार ट्रमा सेन्टरले करिब २ वर्ष अगाडिदेखि नै दीर्घकालीन दुखाइका बिरामीहरुलाई सेवा दिन थालेपनि औपचारिक रुपमा पेन इन्टरभेन्सनल क्लिनिकको सुरुवात भने भर्खरै गरेको हो।
पेन ओपिडी खोल्ने ट्रमा सेन्टर नेपालकै पहिलो सरकारी अस्पताल भएको ट्रमा सेन्टरको दाबि छ।
डा रुपेश यादव, डा पवन हमाल तथा डा नवीन पोखरेल लगायतको टिमले उक्त क्लिनिकमार्फत् सेवा दिँदै आएका छन्। उक्त टिममा रहेका तीनै जना चिकित्सकले भारतको कोलकलताबाट एक वर्षको फेलोसिप गरेका छन्।
राष्ट्रिय ट्रमा सेन्टरमा दीर्घकालीन दुखाइका बिरामीहरु धेरै नै आउने गरेका छन्। एक्युट पेन एनेस्थेसियाले हेर्दै आएपनि दीर्घकालीन दुखाइ भने बिरामी तथा चिकित्सकको प्राथमिकतामा कमै पर्ने भएकोले सेन्टरले पेन क्लिनिकबाट सेवा दिन लागेको डा यादवले बताए।
‘ट्रमा सेन्टर सडक दुर्घटना भएका बिरामीहरुको रेफरल सेन्टर हो, कतिपय बिरामीहरु दुर्घटनाका कारण दीर्घकालीन दुखाइको अवस्थासम्म पनि पुग्न सक्छन्, पेन क्लिनिकबाट सेवा दिँदा कतिपय बिरामीहरुलाई शल्यक्रिया समेत गर्नु नपर्ने हुन सक्छ’, डा यादवले भने।
उनका अनुसार ट्रमा सेन्टरमा सबैभन्दा बढी घुँडा तथा ढाड दुखाइ भएका बिरामीहरु आउने गर्छन्। घुँडाको दुखाइका बिरामीलाई १ देखि ४ सम्म ग्रेडिङ गरेर उपचार गरिन्छ। ग्रेड १ वा २ मा रहेका बिरामीलाई पेन क्लिनिकबाट सेवा दिन सकेमा उपचारको प्रभाव राम्रो हुन्छ। यस्तो अवस्थामा बिरामीको शरीरबाट रगत लिई सेतो रगत बनाउने अर्थात् पिआरपी गरिन्छ,यस प्रक्रियालाई अवस्थामा रिजेनेरेटिभ थेरापी समेत भनिन्छ।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले बिरामीलाई सहज रुपमा सेवा दिनका लागि सेवा विस्तारका क्रममा पेन क्लिनिकको औपचारिक सुरुवात गरिएको जानकारी दिए। उनका अनुसार दीर्घकालिन दुखाइका बिरामीका लागि यस्तो क्लिनिक निकै फलदायी हुनेछ। 'यो क्लिनिकबाट विशेषगरी शल्यक्रिया गर्न नसक्ने अवस्थाका बिरामी, लामो समय औषधि खानुपर्ने अवस्थाका बिरामीलाई बढी उपयोगी हुनेछ,' डा मरासिनीले भने।
प्रारम्भिक अवस्थामा नै सेवा दिन सकेको अवस्थामा बिरामीको दुखाइ दीर्घकालीन रुपमा नै हराएर जान सक्छ। कतिपय बिरामीलाई रोगको जटिलता कारण शल्यक्रियामा जान नसक्ने अवस्थाका बिरामीलाई पेन क्लिनिकबाट सेवा दिइन्छ। यस्तो अवस्थामा बिरामीको नशाको अवस्थामा बुझेर नशामा औषधि दिएर पनि उपचार गर्न सकिन्छ। सेन्टरले सञ्चालन गरेको पेन क्लिनिकबाट एक महिनामा ४५ देखी ५० जना बिरामीलाई सेवा लिने गरेका छन्।
शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी पनि निको हुनसक्छन् शल्यक्रिया गर्नुपर्ने बिरामीहरु ग्रेड १ र २ मा नै छन् भने बिरामीको रगत लिएर पीआरपी विधिबाट पेन म्यानेजमेन्ट गरिने चिकित्सकहरु बताउँछन्।
कतिपयलाई पीआरपी नभई ओजोनको माध्यमबाट सेवा दिइन्छ। कतिपय बिरामीलाई मुखबाट खाने औषधिले पनि निको हुन सक्छ। औषधिले निको भएको अवस्थामा बिरामीलाई शल्यक्रियाको आवश्यकता पर्दैन। यसरी दुखाइ कम गर्नका लागि दिइने औषधि लो डोजमा लामो समयसम्म चलाइने भएकोले कुनै असर गर्दैन। रेडियो फ्रिक्वेन्सी एभुलेसन विधि’ मार्फत् पनि दुखाइ कम गर्ने उपचार गरिने चिकित्सकहरुको भनाइ छ।
यी हुन् उपचारका तीन चरण
पहिलो चरण
यस अवस्थामा बिरामीलाई औषधिको माध्यमबाट दुखाइ कम गर्न सकिन्छ । जसमा फिजियोथेरापी पनि आवश्यक पर्छ।
दोस्रो चरण
कसैलाई औषधिले सन्चो नभएको अवस्थामा इन्जेक्सन हालेर उपचार गरिन्छ।
तेस्रो चरण
रेडियो फ्रिक्वेन्सी एभुलेसन अर्थात् नशालाई डढाएर पनि उपचार दिइन्छ।
यस्तो सेवा दिनु सामान्य ओपिडी सेवा दिए जस्तो होइन यसका लागि लामो समय पनि लाग्छ।
यसरी पत्ता लगाइन्छ बिरामीको दुखाइ अवस्था
कुन प्रकारको दुखाइ छ भन्ने प्रश्नोत्तर प्रणालीहरु बिरामीको दुखाइ कुन अवस्था छ भन्ने पत्ता लगाइन्छ। जसमा बिरामीलाई सोधिने प्रश्न र उनीहरुबाट पाएका जवाफलाई आधार बनाइन्छ। उपचार पश्चात् बिरामीको दुखाइको अवस्थालाई शून्यमा नै झार्न नसके पनि दिनचर्यालाई सहज भने बनाउन सकिन्छ। उपचार पश्चात् ७० देखी ८० प्रतिशत दुखाइ कम गराउन सकिन्छ।
जुनसुकै अंगको दुखाइका बिरामीले लिन सक्छन् सेवा
३ महिनाभन्दा लामो दुखाइ जुनसुकै अंग भएका बिरामीहरुले पेन क्लिनिकबाट सेवा लिन सक्छन्। उपचारका क्रममा रगतको परीक्षणका साथै सिटीस्क्यान तथा एमआई परीक्षणको समेत आवश्यकता पर्न सक्छ। घुँडाको एक्सरे तथा पेटको भिडियो एक्स–रे पनि गरिन्छ। प्रायः पेन क्लिनिकमा रेफरल केश आउने गरेका छन्। पेन म्यानेजमेन्ट विश्वमा स्थापित भइसकेको एक भिन्न प्रकारको विधा भएको डा पवन हमाल बताउँछन्। विश्व स्वास्थ्य संगठनले दीर्घकालीन दुखाइलाई पछिल्लो समय एक स्वास्थ्य समस्याका रुपमा हेरेको छ।
विश्वमा मानिसहरु नियमित सेवाका लागि पेन क्लिनिकमा आउने प्रचलन भए पनि नेपालमा भने प्राय रेफरल केशमा मात्रै बिरामीहरु पेन क्लिनिकको सेवा लिनका लागि आउने गरेको उनको अनुभव छ। क्यान्सर भएपछिको दुखाइ,लामो समयसम्म टाउको दुख्ने समस्या भएका बिरामी,फेसियल पेन तथा जुनसुकै प्रकारको जोर्नीको दुखाइमा पेन क्ल्निीकबाट सेवा लिन सकिने उनी बताउँछन्।