काठमाडौं- कान्ति बाल अस्पतालमा आज आइतबारदेखि विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको ९ बुँदे निर्णयपछि कान्तिले विस्तारित सेवा सुरु गरेको हो।
अस्पतालका निर्देशक डा पंकज रायका अनुसार अस्पतालमा दिउसो साढे ३ बजेपछि ईएचएस सेवा सुरु हुने छ। ईएचएस सेवाका लागि टिकट भने दिउसो ३ बजेदेखि ४ बजेसम्म लिन सकिनेछ।
'बिरामीले सहज रुपमा सेवा लिन सकुन् भनेर विस्तारित सेवा सुरु गरेका हौं,' उनले भने, 'अस्पतालमा क्रमश: अन्य सेवाहरु पनि थप र विस्तार गर्दै लैजानेछौं।' उनले स्वास्थ्य मन्त्रीको ९ बुँदे निर्णय अनुसार सेवा सुधारका लागि कामहरु अगाडि बढाइरहेको जानकारी दिए।
स्वास्थ्य मन्त्री पौडेलको साउन ३ गते निर्णय अनुसार मन्त्रालयले अस्पतालहरुमा ९ बुँदे निर्णय कार्यान्वयनका लागि साउन ४ गते पत्र पठाएको थियो। उक्त पत्रपछि कान्ति अस्पतालले ईएचएस सेवा सुरु गर्ने विषयसहित अस्पतालमा चिकित्सकको राउन्ड, बिरामी भर्ना र बिरामीहरुको डिस्चार्ज बीचको समयको तादम्यता मिलाउनुका साथै अस्पतालमा ३ वटा पिआइसियु शय्या थप गरिएको, थप ३ वटा एनआइसियु र २० अब्जरवेसन शय्या थप गर्ने कार्य भई कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जानकारी दिएको थियो।
यस्तै, अस्पतालले २ वटा अपरेशन थिएटर चालु अवस्थामा रहेको र थप एउटा मोडुलर अपरेशन थिएटर स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको, सञ्चालनमा रहेका अपरेशन थिएटरको सेवा प्रदान गर्न तथा बिरामीहरुलाई अधिकतम लाभ दिने उद्देश्यानुसार यस अस्पतालका यूनिटहरुको प्रभावकारी रुपमा व्यवस्थापन गर्न आवश्यक कार्यान्वयनको प्रक्रिया अघि बढाइएको, स्वास्थ्य बीमा मार्फत् सेवा लिने बिरामी बालबालिकाहरुको लागि अस्पतालबाट हालको समयमा करिव ८० प्रतिशत औषधि उपलब्ध भइरहेको र आगामी दिनमा शतप्रतिशत औषधि उपलब्ध हुनेगरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जानकारी पनि मन्त्रालयलाई गराएको छ।
यसैगरी, अस्पतालमा बाल मनोरोग अन्तरंग कक्ष र सिमुलेसन ल्याब सेवा पनि थप भएको छ। यी दुई सेवाको स्वास्थ्य मन्त्री पौडेलले औपचारिक शुभारम्भ गरेका हुन्।
यसैबीच, अस्पतालमा नेपाल टेलिकमले ३० थान बेड कम चेयर हस्तान्तरण गरेको छ।