कोलकाता - कोलकातको आरजी कर मेडिकल कलेजमा विशेषज्ञता अध्ययन गरिरहेकी महिला चिकित्सक बलात्कार र हत्याका आरोपीको साइकोलोजिक जाँच हुने भएको छ । सीबीआईले आरोपी सञ्जय रोयको साइकोलोजी जाँच गर्ने जनाएको हो।
यसबाट घटनामा को-को संलग्न थिए र कसरी घटना घट्यो ? भन्ने पत्ता लाग्ने बताइएको छ। उक्त मुद्दालाई लिएर अस्पताल प्रशासनको भूमिकाका विषयमा पनि जानकारी मिल्न सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
गत अगस्त ९ मा उक्त कलेजकी ट्रेनी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो। त्यसपछि भारतीय चिकित्सकले लगातार विरोध प्रदर्शन गर्दै आएका छन्। देशभरका पीजी तहका चिकित्सकले काम छाडेका छन्। जसले स्वास्थ्य सेवा समेत प्रभावित भइरहेको छ।
कोलकाता प्रहरीले भाजका पूर्व सांसद् लकेट चटर्जीलाई पनि सोधपुछका लागि बोलाएको छ। उनीमाथि पीडित चिकित्सकको पहिचान सार्वजनिक गरेको आरोप छ।
यसैगरी सोही अस्पतालका डा कुणाल सरकार र डा सुबर्नो गोस्वामीबिरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। जसमाथि अफवाह फैलाएको आरोप छ। उक्त मेडिकल कलेजका प्रिन्सिपल सन्दीप घोषसँग तीन दिनदेखि लगातार सोधपुछ चलिरहेको छ।