काठमाडौं- कोलकाताको सरकारी मेडिकल कलेज आर जी कर मेडिकल कलेज अस्पतालमा भएको महिला चिकित्सकको बलात्कारपछि हत्याको बिरोधमा भइरहेको आन्दोलनमा नेपाली चिकित्सकहरुले पनि ऐक्यबद्धता जनाएकका छन्।
नेपाल चिकित्सकले संघले बिज्ञप्ति जारी गर्दै उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थामा आइओएममा अध्ययनरत चिकित्साका विद्यार्थीहरुले र्याली नै निकालेका छन्।
अगस्ट ९ मा ३१ वर्षीया डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो। स्वास्थ्यकर्मीहरुले हड्तालको नेतृत्व गरेका छन् भने दोषीलाई कारबाहीको माग गर्दै दशौँ हजार सर्वसाधारण पनि हडतालमा सहभागी भएका छन्।
मृतक चिकित्सकको शव शिक्षण अस्पतालको सेमिनार हलमा फेला परेको थियो। शवपरीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमाबाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशङ्का व्यक्त गरेका छन्।
कोलकाताको प्रहरीले उक्त मुद्दालाई गलत तरिकाले लिएको आरोप लगाई उच्च अदालतले “जनताको विश्वास जगाउन“ अनुसन्धानलाई भारतको शीर्ष केन्द्रीय अनुसन्धान ब्यूरोलाई हस्तान्तरण गरेको छ।
धेरै राज्यका सरकारी अस्पतालहरूमा उनीहरूले विरोध स्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन्। सरकारी तथा निजी दुवै प्रणालीमा धेरै चिकित्सा सङ्गठनहरूले हडतालको समर्थन गरेका छन्।
हड्तालमा संलग्न चिकित्सकहरुले स्वास्थ्य सेवाकर्मीलाई हिंसाबाट जोगाउन केन्द्रीय सुरक्षा ऐन लागु गर्न माग गरिरहेका छन्। हडतालले नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत बाधा पुर्याएको छ।