काठमाडौं- ललितपुरको किष्ट मेडिकल कलेजको इमर्जेन्सी विभागमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको अभद्र व्यवहार तथा अस्पतालमा भएको तोडफोडको विषयमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शल्यक्रिया गरिएको केही दिनपछि स्वास्थ्यमा जटिलता आएपछि एक बिरामीको उपचारको क्रममा मृत्यु भएको विषयमा इमर्जेन्सी विभागजस्तो संवेदनशील क्षेत्रमा प्रवेश गरेर इमर्जेन्सी सेवा नै अवरुद्ध पार्ने प्रयास गरी बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीहरूमाथि अभद्र व्यवहार भएको संघले जनाएको छ।
बिरामी पक्ष तथा नेपाल प्रहरीका प्रतिनिधिहरूसँग पटक पटक छलफल तथा वार्ता गरी जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रहरी प्रशासनलाई उपचारका विषयमा जानकारी गराइएको अवस्थामा चिकित्सकलाई समेत धम्की दिने कार्य भएको भन्दै संघका महासचिव डा सन्जिब तिवारीले दोषीहरुको पहिचान गरी कारबाही गर्न माग गरेका छन्।