लुम्बिनी- बुटवल उपमहानगरपालिका र बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदूतावासका प्रतिनिधिसँगबीच यहाँको शिक्षा र स्वास्थ्यका बारेमा आज छलफल भएको छ ।
बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले बुटवलको स्वास्थ्य र शिक्षाको अवस्थाका बारेमा जानकारी गराएका थिए। उनले बुटवलले सहरी स्वास्थ्य केन्द्र र दुई वटा अस्पतालमार्फत वडास्तरमा सेवा दिइरहेको र त्यस्ता केन्द्रको सुविधामा सुधार ल्याउन चाहेको बताए।
उपमहानगर प्रमुख पाण्डेयले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, महिलाको स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ शिविर, गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र शिविर सञ्चालन गरिएको जानकारी दिए।
छलफलका क्रममा बेलायत सरकारको राष्ट्रिय स्वास्थ्य प्रणालीका प्रतिनिधि र बेलायती राजदूतावास काठमाडौँका प्रतिनिधिले बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए। उनीहरूले बुटवलको सहरी स्वास्थ्य अवस्थालाई सुधार गर्ने र घरदैलोमा स्वास्थ्य सुविधा पुर्याउने योजनाको प्रशंसा गरेका थिए।
त्यसअवसरमा बेलायत सरकारको ‘नेशनल हेल्थ सिस्टम फर ग्लोबल’का प्रतिनिधिहरू केशले एलिजावेथ म्याकवाट, लुइस अमान्डा पार्क र पारु पटेल तथा बेलायती दूतावासका डिएगो मरोसो, डा दीपक कार्की र सगुन पौडेल तथा बुटवल उपमहानगरपालिकाका तर्फबाट नगरप्रमुख पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललगायतले छलफल गरेका थिए।
बेलायतले नेपालको स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनका क्षेत्रमा खर्च हुने गरी नेपाललाई दिने रु १३ अर्ब अनुदान सहायतामध्ये बुटवलको स्वास्थ्य क्षेत्रमा समेत खर्च गर्ने योजनाअनुसार बेलायती टोलीले छलफल गरेको उपमहानगरपालिकाले जनाएको छ।