काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उद्घोष गरेका छन्। बुधबार कान्ति बाल अस्पतालको निरीक्षणपछि मन्त्री पौडेलले यस्तो उद्घोष गरेका हुन्।
उनले सफाइ र सेवाको प्रभावकारिता बढाउन समेत आग्रह गरेका छन्। मन्त्री पौडेलले भने, ‘यहाँ आइसकेपछि आफूलाई बेवास्ता भएको महसुस सेवाग्राहीले नगरून् । यहाँ सीमित स्रोत र साधनमा भइरहेको काम प्रसंशनीय छ, यद्यपि तपाईंहरूको अझै धेरै सक्रियता राज्य र जनताले खोजेको छ।’
आफू यसै क्षेत्रको सांसदका रुपमा प्रतिनिधित्व गर्ने भएकाले पनि यस अस्पतालसँग र यहाँका समस्यासँग आफू जानकार रहेको मन्त्री पौडेलले बताए।
‘अस्पतालमा भीड कसरी घटाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्नु जरुरी छ। यसका लागि हामीले डिजिटल रुपमा सेवा सुरू गरेका छौँ, यसको प्रयोग सुरुवाती दिनमा कम देखिए पनि विस्तारै बढ्छ। कुनै व्यक्ति उपचार गराउन आउँदा सोही दिन उसले सेवा-सुविधा पाउनुपर्छ, यसलाई सम्भव गर्न यहाँका चिकित्सकसँगै सम्पूर्ण अस्पताल परिवारको सहयोग र सहकार्य चाहिन्छ’, उनले भने।
मन्त्री पौडेलले चिकित्सकले यसलाई पेसासँगै सामाजिक दायित्वका रुपमा लिनुपर्नेमा जोड दिए। उनले वीर अस्पतालझैँ चिकित्सक र कर्मचारीले सेवा सुविधा नपाएको सुनिएकाले त्यसमा सक्दो समानता ल्याउने बताए।