काठमाडौं- मुटु दुख्नुले नेपाली परिवेशमा शारीरिक अस्वस्थता मात्रै जनाउँदैन। भावनामा ठेस पुग्नुुलाई पनि ‘मुटु दुख्नु’कै अर्थमा लिइन्छ। विद्या जोशी कोइराला शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एकसाथ दुई वटा मुटु सम्हालिरहेकी हुन्छिन्।
अस्पतालको बाल मुटुरोग विभागमा नर्सिङ सुपरभाइजरका रुपमा कार्यरत उनी दुखिरहेको बाल मुटुको भइहाल्यो। त्यसका साथै आफ्ना बच्चाको मुटुमा आएको समस्याले दुखिरहेको अभिभावको मुटुमा समेत भरोसाको मल्हम लगाउने प्रयास गरिरहेकी हुन्छिन्।
मुटु रोगको उपचारमा २५ वर्ष बिताइसकेकी उनको अनुभव भन्छ– मुटुरोगका बिरामीको उपचारमा संलग्न नर्स पनि संवेदनशील हुनुपर्छ। किनभने मुटुको समस्या भन्नेबित्तिकै बिरामीको आफन्तको मुटुको धड्कन समेत तलमाथि हुन्छ।
२०५६ सालदेखि अस्पतालमा कार्यरत उनलाई नर्सिङ पेशा अपनाएको गर्वानुभूति हुने अनेक क्षण छन्। उपचारमा मिहिनेत गरे पनि निको हुन नसकेपछि विस्मात् भएका पल पनि धेरै नै छन्। व्यक्तिगत अनुभूति भन्दा माथि उठेर भन्नुपर्दा उनको निष्कर्ष छ– ‘मैले राम्रो पेसा रोजेकी रहिछु।’
उनले विद्यालय तहको पढाइ सकेपछि आफू जन्मिएको अस्पतालमा नै उनले नर्सिङको आधारभूत तहको तालिम लिने मौका पाइन्। सन् १९९० नर्सिङको उक्त तालिम पूरा गर्नासाथ उनले बनारसकै सर सुन्दरलाल अस्पतालमा दुई वर्षसम्म बाल विभागमा काम गरिन्।
त्यतिबेला नर्सिङ सेवामा स्थायी हुनका लागि विशेष परीक्षा दिनुपर्ने नियम थिएन। त्यसैले काम सुरु गर्नासाथ उनी स्थायी भइसकेकी थिइन्। बनारसमा नर्सिङका लागि ३ वर्ष ६ महिनाको कोर्स हुन्थ्यो। ‘जसमा तीन वर्षमा जनरल नर्सिङ तथा ६ महिना विशिष्टीकृत नर्सिङ सेवाका बारेमा अध्ययन गर्नुपर्ने हुन्थ्यो’, उनले सम्झिइन्।
उनले काम गर्न सुरु गरेको दुई वर्षपछि बिहे गरिन्। बिहेपछि करिअरमा केही वर्ष ब्रेक लाग्यो। बिहेपश्चात् भारतबाट नेपाल आएकी उनी नवलपरासी बसिन्। त्यहाँ उनले विभिन्न परियोजनाहरुमा केही वर्ष काम गरिन्। नवलपरासीबाट बसोबासका लागि काठमाडौ सरेपश्चात् भने फेरि आफ्नो पेशामा निरन्तरता दिन पाइन्। सुरुवात उनले क्लिनिकहरुबाट गरिन्। केही समयमै गंगालालमा उनले काम थालिन्।
मर्माहत बनाउँछन् कतिले
भारतमा करियरको सुरुवात नै बाल वार्डबाट गरेकी उनले गंगालालमा समेत धेरै समय बाल विभागमै बिताउनुपरेको छ। गंगालालमा मुटु रोगी बालबालिकाहरुको लामो समयदेखि सेवा दिँदा उनलाई धेरै कुरा महशुस गरेकी छिन्। भोगेकी छिन्।
बिरामीको सेवामा समर्पित भइरहँदा दिनहुँ जस्तो हरेक दिनजसो फरक प्रकृतिका घटनाको सामना गर्नुपर्ने उनी बताउँछिन्। यद्यपि कतिपय घटनाले उपचारमा खटिने नर्स तथा चिकित्सकलाई लामो समयसम्म पनि मर्माहत बनाउने गर्छ। ‘उपचारका क्रममा कुनै बिरामीको मृत्यु तथा रोगसँग लडिरहँदाको पीडादायी अवस्थाले स्वास्थ्यकर्मीलाई समेत भावनात्मक रुपमा छुन्छ,’ उनले भनिन्।
उपचारको क्रममा लामो समयसम्म अस्पताल बस्ने बिरामी तथा उनीहरुका आफन्तसँग स्वभाविक रुपमा स्वाथ्यकर्मीहरुको सामीप्यता बढ्छ। कतिपय घटनाहरुको स्मरण हुँदा लामो समयसम्म निन्द्रा समेत नलाग्ने उनी बताउँछिन्।
‘केही दिन अगाडिको मात्रै कुरा हो, बाल मुटु रोग विभागमा करिब १२ वर्षका एक पुरुष बालक उपचारत थिए,’ उनले सम्झिइन्, ‘ती बालकलाई मुटु तथा सम्पूर्ण शरीर सुन्निएको अवस्थामा अभिभावकले अस्पताल ल्याएका थिए। उनलाई हामीले चाहेर पनि बचाउन सक्ने अवस्था थिएन। यद्यपि ती बालकको मृत्युले मलाई लामो समयसम्म निन्द्रा समेत लागेन।’
आत्तिएका हुन्छन् आफन्त
गंगालाल सरकारी तवरबाट मुटु रोगको उपचारमा खोलिएको संस्था तथा उपचारमा सहुलियत भएको अस्पताल भएकोले सबै वर्गका बिरामीहरु उपचारलाई आउने गर्छन्। यद्यपि बढी निम्न वर्गका वर्गका बिरामीहरु मुटुरोग उपचार केन्द्रका रुपमा गंगालाललाई चिन्ने गरिन्। बाल मुटु रोग विभागमा भने बढी जन्मजात मुटु रोग भएका बालबालिकाहरु आउने उनी बताउँछिन्।
‘जन्मजात मुटुरोग लागेका बालबालिकामा पोषणयुक्त खानेकुराको कमी तथा सरसफाइ अभावको समस्या बढी देखिने गरेको छ,’ उनले भनिन्, ‘उनीहरुलाई सामान्य कुरा जस्तै फोहोर छोएपछि साबुन पानीले हात धुनका लागि समेत पटक–पटक भन्नुपर्ने अवस्था हुन्छ।’
ग्रामीण क्षेत्रको शिक्षाको पहुँच नपुगेका बिरामीहरु बढी गंगालाल अस्पताल आउने गर्छन्। यद्यपि कतिपय आर्थिक अवस्था राम्रै भएका बालबालिकाहरु समेत जन्मजात मुटु रोगको उपचारका लागि गंगालाल आउने गरेका छन्।
जन्मजात रुपमा मुटु रोग लाग्नुका कारणहरु धेरै छन्। एउटै थरमा विवाह भएर जन्मिएका बच्चा, जेनेटिक कारण, वातावरणीय कारण, खानपिन, सरसफाई अभाव,ग र्भवती हुँदा चिकित्सकको सल्लाह बिना औषधिको प्रयोग, गर्भवती अवस्थामा गम्भीर प्रकारको संक्रामक रोग लाग्नु जस्ता कारणले बालबालिकामा जन्मजात रुपमा मुटु रोग लाग्ने सम्भावना बढी हुने चिकित्सा विज्ञानले प्रमाणित गरेका कुरा उनले सुनाइन्।
मुटु रोगको उपचारका लागि पहिलोपटक अस्पताल आइपुग्दा बिरामी र उनीहरुका आफन्त निकै नै आत्तिएका हुने अनुभव उनको छ। ‘प्राय बिरामी तथा उनीहरुका आफन्तमा उपचार सम्भव होला कि नहोला ? खर्च कति लाग्ला ? निको होला या नहोला ? जस्ता जिज्ञासाका साथ आइपुग्छन्,’ उनले भनिन्।
अहिले वर्षायाममा ग्रामीण क्षेत्रबाट आएका अधिकांश बिरामीहरु कृषि पेशामा आबद्धहरु छन्। त्यस्ता बिरामीहरुले सकभर चाँडै उपचार गरिदिनका लागि आग्रह गर्ने गरेका छन्। पछिल्लो समय मुटु रोगको उपचारमा सरकारले दिएको सहुलियतका कारण पनि धेरै बिरामीहरु उपचारको दायरामा आएको उनको आंकलन छ।
‘पहिले आर्थिक अभावका कारण बिरामीहरु रोग लाग्दा समेत उपचार नै नगरी घरमा नै बस्ने अवस्था थियो भने हाल सरकारले मुटु रोगको उपचारमा दिएको सहुलियतका कारण बढी बिरामीहरु उपचारको दायरामा आउने गरेको पाइएको छ,’ उनले भनिन्।
अन्य रोग भन्दा मुटुकोे उपचारमा आउने बिरामी तथा उनीहरुका आफन्तहरु संवेदनशील हुन्छन्। बाल मुटु रोगका बिरामीहरुको उपचार वयस्क मानिसहरुको भन्दा अझै संवेदनशील हुने उनको बुझाइ छ।
पेशाप्रति बुझाइमा परिवर्तन
नर्सिङ पेशालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा आकाशपाताल फरक आएको उनी आफैंले अनुभव गरेकी छिन्। आफूले नर्सिङ पेशाको सुरुवात गर्दाको समय भन्दा अहिले शिक्षाको क्षेत्रमा ठूलो परिवर्तन भएको उनले देखेकी छिन्। ‘अहिलेको शिक्षाको गुणस्तर पहिलाको भन्दा राम्रो छ। पछिल्लो समय तथ्यगत आधार खोजिने भएकोले बढी विश्वसनियता बनेको छ,’ उनले भनिन्।
स्वास्थ्यमा आमजन समेत सचेत हुँदै गएका छन्। आधारभूत कुरा र स्वास्थ्य पेशाबारे आमजनमा समेत ज्ञान बढेको उनी बताउँछिन्। ‘त्यतिबेलाको समयमा नर्सिङ पढ्ने मानिस नभएर बोलाई–बोलाई पढाउने स्थिती थियो। अहिले पढ्नेहरुको संख्या बढेको छ।
नर्स बन्नकै लागि धेरै खर्च गरेर पढ्नेहरु अहिले धेरै छन्,’ उनले भनिन्, ‘पहिला कमजोर आर्थिक अवस्था भएकाहरुले नर्सिङ पढ्ने गरेका थिए। अहिले आर्थिक अवस्था राम्रो भएकाहरुको समेत यसमा रुचि बद्दै गएको पाइएको छ।’
हरेक बिरामी विशेष
सबै नर्स तथा सबै बिरामीलाई एउटै बास्केटमा राख्न नहुने उनको भनाइ छ। आफूले जसरी परिवारका कोही सदस्य बिरामी दुख तथा पीडा महसुस भइरहेको हुन्छ, त्यस्तै दुःख बिरामीका आफन्तलाई भइरहेको होला भन्ने बुझेर नर्सहरुले व्यवहार गरेमा उनीहरुले बिरामीका आफन्तबाट दुव्र्यवहारको सामना गर्न नपर्नेमा उनको विश्वास छ।
‘बिरामीका आफन्तका लागि आफ्ना बिरामी विशेष हुन्छ भने चिकित्सक तथा नर्सहरुका लागि प्रत्येक बिरामी विशेष हुन्छ,’ उनले भनिन्, ‘हामीले बिरामीको अवस्थालाई प्राथमिकतामा राख्दै उपचार प्रक्रिया अगाडि बढाउछौं, बिरामीका आफन्तले हाम्रा यी कुरालाई बुझ्न सके नर्स बिरामीबीचको सम्बन्ध सधैं सुमधुर रहन सक्छ।’
बिरामीलाई अन्तिम अवस्थामा मात्रै अस्पताल ल्याउने अवस्थाका अन्त्य अझै भइनसकेको उनले अनुभव गरेकी छिन्। सबै प्रकारका विकल्प सकिए पछि मात्रै अस्पताल ल्याउने परिपाटीका कारण उपचारमा सफलता पाउन कठिन हुने गरेको उनले बताइन्।
बिरामी अन्तिम अवस्थामा अस्पताल आइपुग्नेका कारण उपचार सम्भव नहुँदा अस्पताल तथा चिकित्सकका लापरवाहीका कारण मृत्यु भयो भनेर अस्पताल तोडफोड गर्ने तथा स्वास्थ्यकर्मीमाथि हातपात हुने गरेकोमा उनलाई दुःख लाग्छ। यद्यपि बिरामीप्रतिको सेवाभावबाट कहिल्यै पनि टाढा बस्न नहुने उनी बताउँछिन्। कुनै अस्पताल तथा चिकित्सकले गलत मनसायले बिरामीको उपचार नगर्नेमा उनी विश्वस्त छिन्।
गंगालालमा पनि एकदमै जटिल अवस्थामा बिरामी आइपुग्छन्। जटिल अवस्थामा आइपुगेका बिरामीको उपचार सफल हुने सम्भावना न्युन रहन्छ।
सरकारको विशेष पहल आवश्यक
नर्स भन्नेबितिकै महिलाको पेशा भनेर लिने चलन अहिले पनि रहेको उनी बताउँछिन्। नर्सका पेशागत हकहितका लागि स्थापना भएका संस्था तथा सरकारले निजी अस्पतालमा नर्सहरुलाई एकदमै न्यून पारिश्रमिकमा काम लगाइने समस्या र त्यसको समाधानतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ।
‘नर्सहरु विदेश पलायन हुने तथा भएकाहरुलाई समेत उचित पारिश्रमिक दिइदैन, कुनैदिन नर्सिङ पेशा नै हरायो भने कसरी चल्छन् नेपालका अस्पतालहरु ?’ उनको प्रश्न छ। यस विषयमा गम्भीर छलफल गरी अगाडि बढ्न सरकारलाई उनको सुझाव छ।
नेपाल नर्सिङ काउन्सिल तथा नर्सिङ संघ जस्ता संस्थाहरुले पेशागत हकहितका लागि सविचारित पहल गर्नुपर्ने उनको भनाइ छ। सरकारले नर्सिङ क्षेत्रमा रहेका समस्या समाधानका लागि आफैं अग्रसरता लिने बेला भएको उनी बताउँछिन्।