काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्रीहरुलाई एक महिना नबोल्न सल्लाह दिएका छन्। काम गर्ने ठाउँमा गएर 'यसो गर्छु र उसो गर्छु' भन्नुभन्दा गरेर देखाउनु उपयुक्त हुने बताएका छन्।
उनले भने, 'काम गर्ने नियत राख्नुभयो र इच्छाशक्ति भयो भने काम हुन्छ। साउन महिना, ब्रतको महिना सकियो । अब तपाईंले ब्रत लिइदिनुहोस्। भदौ १ महिना उद्घाटन नगर्ने ब्रत । नबोल्ने ब्रत। गर्ने ठाउँमा भएकोले गर्ने हो, बोल्ने होइन । बोल्ने ठाउँमा हामी छौं। हामी बोल्छौं। तपाईं यहाँ आएर सुन्नुहोस् र मन्त्रालय गएर काम गरिदिनुहोस्।'
हरेक मन्त्रीले भाषणमा यस्तो गर्छु र उस्तो गर्छु भन्ने सुनेको बताउँदै भन्ने भन्दा गर्नमा जोड दिन भनेका हुन्। उनले थपे, 'मन्त्रीज्यूको भाषण सुनिन्छ- हामी देश विकास गर्छौं । गर्नुहोस् न । राम्रोसँग काम गरिदिनुहोस्। तपाईंको कामबारे हामी यहाँ बोल्छौं । टेबल ठटाउँछौं।'
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि 'भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ' भन्ने कुरा नबोल्न भनेका छन्। उनले सल्लाह दिए, 'प्रधानमन्त्रीज्यूले भ्रष्टाचार गर्ने पनि होइन, गर्न पनि दिन्नँ भन्दै हिँड्ने होइन । किनकि प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नै पाइँदैन । बरु त्यसलाई रोक्न काम होस्।'
उनले सत्ता पक्ष भएपनि आफ्नै विवेक भएका सांसद् भएकाले हरकुरामा ताली नबजाउनेतर्फ सचेत गराएका छन्। 'हामी विवेक भएका सांसद् छौं । जनताको म्यान्डेट लिएर आएका छौं। हरेक काममा तालिम बजाउँदैनौं। राम्रो गर्नुहोस् भन्ने शुभकांक्षा छ,' उनले भने।