काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालयअन्तर्गतको संघ प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनीत गरेका छन्।
संघ प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) 'ग' बमोजिमको विषयगत समितिमा नियुक्त गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
उनले मन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका मेयर महर्जनलाई संघ, प्रदेश र स्थानीय तह अन्तर्गत रहेका देशैभरका स्वास्थ्य क्षेत्रका विषयमा आवश्यक समन्वयका लागि मनोनयन गरेका हुन्।
समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अन्र्तगत बनेको समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानूनको तर्जुमाका लागि तीनै तहसँग परामर्श र समन्वय गर्ने छ। ऐन आएयता हालसम्म पूर्णता नपाएको र लामोसमयदेखि बैठकसमेत बस्न सकेको थिएन। महर्जनको मनोनयसँगै उक्त समितिको बैठक आगामी भाद्र ६ गते बस्ने गरि तोकिएको छ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका विषय संघको मात्र नभएकाले सबै तहसँग समन्वय गरेर आफूले अघि सारेका कार्ययोजना लागू गराउन पहल थालेको र यसैका लागि बैठकसमेत डाकिएको बताए।
मन्त्री अध्यक्ष रहने विषयगत समितिमा प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रीहरु सदस्य रहने र अध्यक्षले स्थानीय तहबाट एक जना प्रमुख वा अध्यक्षलाई सदस्यमा मनोनीत गर्ने सकिने व्यवस्था रहेको छ।