काठमाडौं- तिलगंगा आँखा प्रतिष्ठानले अत्याधुनिक प्रविधिबाट कोर्निया प्रत्यारोपण गरेको छ। सीएआइआरएस अर्थात् 'कोर्नियल एलोजेनिक इन्ट्रास्ट्रोमल रिङ सेगमेन्ट' भनेर चिनिने सर्जिकल प्रविधिबाट गरिएको हो।
साउन २० गते गरिएको प्रत्यारोपणपछि प्रतिष्ठानमा दुईजना बिरामीले लाभ प्राप्त गरेको प्रतिष्ठानले जनाएको छ। 'दान गरिएको मानव कोर्नियालाई अत्याधुनिक लेजर प्रविधिको मद्दतले प्रत्यारोपण गरिने यो प्रक्रिया नेपालमै पहिलो पटक गरिएको हो,' प्रतिष्ठानले भनेको छ, 'यस शल्यक्रियाले पातलो कोर्नियाका नियमित चश्मा वा कन्ट्याक्ट लेन्सका कारण चुनौतीपूर्ण जीवनको सामना गरिरहेका बिरामीहरूमा आशाको नयाँ किरण सिर्जना गरेको छ।'
यसबाट भविष्यमा धेरै बिरामीहरूलाई लाभ पुग्ने प्रतिष्ठानको अपेक्षा छ। यसले दृष्टिलाई सुधार गर्दै कोर्निया (आँखाको नानी)को आकारलाई स्थिर राख्न मदत गर्ने बताइएको छ । सीएआइआरएसले केराटोकोनस, इक्टासियसलगायतका अन्य दृष्टिदोषका बिरामीलाई प्रभावकारी ढङ्गले काम गर्दछ।