काठमाडौं- पछिल्लो समय नेपालका विभिन्न जिल्लाहरुमा डेंगु संक्रमणका बिरामीहरु थपिँदै गइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ७३ वटा जिल्लामा २ हजार ५० जनामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ।
डेंगुको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्य मन्त्रालयले यसको रोकथाम तथा नियन्त्रणका लागि के-के काम गरिरहेको छ त? मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार मन्त्रालयले डेंगुको रोकथाम तथा नियन्त्रण गर्न दुई प्रमुख रणनीतिमा काम गरिरहेको छ।
पहिलो- विश्वव्यापी रूपमै प्रभावकारी मानिएको र सिफारिस गरिएको 'लामखुट्टेको बासस्थान खोजी नष्ट' गर्ने अभियान।
दोस्रो - डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्ने।
यसका साथै मन्त्रालयले संघ, प्रदेश र स्थानीय सरकार तथा सम्बद्ध निकायहरूले गर्नुपर्ने क्रियाकलापहरू सहितको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ स्वीकृत गरी कार्यान्वयनको लागि ७ वटै प्रदेश र सबै स्थानीय तहमा पठाएको छ।
डेंगु रोग रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा राष्ट्रिय डेंगु टास्क फोर्स गठन भइ क्रियाशील अवस्थामा रहेको छ। साथै स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली (आरआरटी) परिचालन भइरहेको मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ।
'स्थानीय तह मार्फत बहु-निकायको सहकार्यमा खोज तथा नष्ट अभियानलाई व्यापक रुपमा सञ्चालन गर्न यस आर्थिक वर्षका लागि स्थानीय तहमा ७ करोड ९८ लाख रकम विनियोजन गरिएको छ। साथै, ७७ वटै जिल्लाहरूमा पनि करिब २ करोड बजेट विनियोजन गरिएको छ,' मन्त्रालयले सार्वजनिक गरेको विवरणमा भनिएको छ।
डेंगुबाट हुने मृत्युको जोखिमलाई कम गर्नका लागि निजी तथा सरकारी अस्पतालहरूका ८०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई डेंगु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरि अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको पनि मन्त्रालयले जनाएको छ।
डेंगु रोगको स्क्रिनिङ्गका लागि गत वर्ष छयालिस हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिसकिएको र यही साउन महिनामा सत्र हजार किट वितरणको लागि केही जिल्लाहरूमा पठाई सकिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
यसैगरी, सङ्क्रमण उच्च रहेका जिल्लाका अस्पतालहरूबाट बिरामीहरूको रक्त नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत डेंगु भाइरसको प्रजातीबारे अध्ययन हुने गरेको पनि मन्त्रालयले जनाएको छ।
सातै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य सेवा निर्देशनालय अन्तर्गत रहने गरि इन्टोमोलोजिकल ल्याब स्थापना भई सातै प्रदेशका तोकिएका अस्पतालमा (सेन्टिनेल साइट) सर्भिलेन्सका कार्यहरू भइरहेको पनि मन्त्रालयको विवरणमा उल्लेख छ।
गत वर्ष डेंगुका बिरामीहरु अत्याधिक देखिएका जिल्लाहरु सुनसरी, तनहुँ, झापा, धादिङ, कास्की, लगायत १३ जिल्लाका १२६ वटा स्थानीय तहका प्रमुख/उप-प्रमुख, स्वास्थ्य संयोजक तथा सरोकारवालाहरुसंग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी डेंगु प्रतिकार्यका अल्प तथा दिर्घकालीन योजना तथा नीति निर्माण सम्बन्धमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ।
सचेतना अभिवृद्धिका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा संचार केन्द्र मार्फत नेपाली भाषा लगायत थप १२ वटा राष्ट्रिय/भाषामा डेंगु सम्बन्धी रेडियो सन्देश, टोल फ्री हटलाईन टेलिफोन नं १११५, टि भी रेडियोहरुमा नियमित प्रशारण भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।