काठमाडौं- हालसम्म देशका विभिन्न जिल्लामा २० जनामा हैजा पुष्टि भएको छ। यस वर्ष साउनयता काठमाडौं, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सुधारिएको खानेपानीको स्रोत र सरसफाइको सुविधा प्रयोग गर्नेहरु बढेतापानी खुला दिसाको अभ्यास, सहरी क्षेत्रहरुमा बढ्दो जनघनत्वसंगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमि तथा हरेक वर्ष वर्षायाममा हुने पहिरो र बाढीका घट्नाहरुले हैजा देखिएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मंगलबार विज्ञप्ति जारी गर्दै पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाई तथा खानेकुराको सरसफाईलाई विशेष ध्यान दिन साथै समुचीत चर्पीको प्रयोग र दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचीमिची हात धुन आग्रह गरेका छन्।
हैजा अति संक्रामक र शिघ्र फैलिने झाडापखाला हो। यसका मुख्य लक्षण तथा चिन्हहरूमा पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुन्।
संक्रमणले गम्भीर अवस्थामा पुर्याउदा आखाँ गाडीने मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुने हुनसक्छ । तुरन्तै स्वास्थ्य संस्था नपुगे ५० प्रतिशतसम्म मुत्युदर हुने भन्दै बुढाथोकीले हैजा संक्रमित ८० प्रतिशतमा कुनै लक्षण विकसित नहुने तर उनीहरुको दिसामा पहिलो देखि १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहनसक्ने बताए।
लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्द देखि मध्यमस्तरको लक्षण देखिने २० प्रतिशतलाई चौलानी जस्तै दिसा हुने र पानीको अभावमा तिब्र लक्षण देखिन सक्ने यनको भनाइ छ।
रोगीको मलमुत्रबाट पानीको मुहानलाई जोगाउनुपर्ने, झिँगा लागेको, बासी, सडेगलेका, नपाकेका, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान उनको आग्रह छ।