काठमाडौं– काठमाडौंमा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ।
काठमाडौंको कालीमाटी क्षेत्रमा बसोबास गर्ने तीन जना पुरुषमा हैजा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए।
उनका अनुसार तीनै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इमर्जेन्सी इन्चार्ज भालेश्वर यादवका अनुसार उपचाररत तीनै जनाको अवस्था सामान्य रहेको छ।
'उहाँहरु तीनै जनाको स्वास्थ्य अवस्था आतिनुपर्ने छैन,' स्वास्थ्यखबरसँग यादवले भने।
यसअघि पनि ललितपुर र कैलालीमा पनि हैजा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले बताएका छन्।
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखाला सम्बन्धी रोग हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार हैजाका जीवाणु खाना वा पानीको माध्यमबाट लाग्ने गर्दछ। सरसफाइ तथा स्वच्छ खानेपानीमा ध्यान नदिंदा हैजा फैलिने जोखिम रहन्छ।
डा पुनका अनुसार हैजा संक्रमण भएको दिनदेखि पाँच दिनसम्म लक्षणहरु देखिन सक्छ। पातलो तथा चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने समस्या देखिएमा हैजाको लक्षण हुनसक्ने डा पुन बताउँछन्।
आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने लगायतका समस्या देखिएमा हैजाको गम्भीर लक्षण हुनसक्छ।