काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकी छन्। स्वास्थ्य संकटको पूर्व तयारीको विषय समेत समेटेर छलफलका लागि कार्कीले उक्त प्रस्ताव दर्ता गरेकी हुन्। प्रस्तावमा रास्वपाका अरू ६ सांसदले समर्थन गरेका छन्।
वर्षायाममा प्राकृतिक प्रकोपसँषै विभिन्न रोगहरु समेत फैलिने भएकाले त्यसमाथि पनि छलफल गर्नुयपर्ने उनले बताएकी छिन्। १० वर्षअघि नै पोलियो मुक्त घोषणा गरिएको नेपालको काठमाडौंको टुकुचा-बागमती संगम नजिकको ढलमा गरिएको परीक्षणमा पोलियो भाइरस देखिएको विषय पनि समेटिएको छ।
'मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको बारेमा समेत पूर्वतयारी गर्ने, विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति र्यासपिड रेस्क्यू टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी आम नागरिकलाई सुसूचित गराउने साथै समयमै पुनर्स्थापन र प्रतिस्थापन गर्ने/गराउने लगायतको कामबारे छलफल गर्न अति आवश्यक रहेको हुँदा यो जरूरी महत्त्वको प्रस्ताव पेस गरेको छु,' प्रस्तावमा भनिएको छ।